सेवा नै सफलताको कडी

सेवा नै सफलताको कडी

आजभन्दा १० वर्षपहिला एउटा कोठा र दुईतीनजना कर्मचारीबाट सुरु भएको सिटी मनी ट्रान्सफर अहिले दोस्रो स्थानमा पुगेको छ । नेपालमा सञ्चालनमा रहेका ५५ रेमिट्यान्स कम्पनीबीच तीव्र प्रतिस्पर्धा चलिरहँदा सिटीको विस्तार अब्बल देखिएको छ । यसको कारण सहज ढंगको सेवा भएको कम्पनीको भनाइ छ । प्रतिस्पर्धाबीच यसपटकको चाडपर्वको अवसर पारेर सिटीले घडेरी उपहार दिने योजना ल्याएको छ । यसै सन्दर्भमा सिटी एक्सप्र्रेस मनी ट्रान्स्फरका प्रमुख प्रशासन अधिकृत कृष्णराज पौडेलसँग अन्नपूर्ण पोस्टले गरेको कुराकानीः

घडेरी नै अफर ल्याउनु भयो नि, त्यो पनि काठमाडौंमा, महँगो अफर भएन ?

वर्षभरिको कमाइबाट प्रमुख चाडपर्वमा एकपटक अफर ल्याउने गरेका छौं । ग्राहकलाई उपहार दिन पाउँदा खुसी लाग्छ । खर्च व्यवस्थापन गरेर नै उपहार ल्याएका हौं । हामीले वर्षभरि गरेको कमाइबाट २०/२५ लाखको उपहार दिन गाह्रो हुँदैन ।

अफर ल्याउन थालेपछि ग्राहक कत्तिको बढेका छन् ?

उपहार तथा अफरले ग्राहक बढेका होइनन् । हामीले दिने सेवा ठूलो हो । तर पनि लौ न सिटीबाटै पैसा पठाऊँ, यस्तो अफर रहेछ, न परिहाल्छ कि भन्नेहरू पनि छन् । एकपटक सिटीबाट सेवा लिइसकेका मान्छे पछि अन्यत्र जान मान्दैनन् । हाम्रो सेवाबाट सन्तुष्ट भएर ग्राहक सिटीलाई छोड्न चाहँदैनन् । एकपटक आएपछि सिटीलाई ग्राहकले छोड्दैनन् । यो नै हाम्रो सम्पत्ति हो ।

सिटीमा कुन कुन देशबाट पैसा आउँछ ?

हुन त हाम्रो नटेवर्क विश्वभरि नै छ । विश्वभरिबाट सिटीको सेवा लिन सकिन्छ । तर, मुख्यतया साउदी, कतार र जापानबाट सिटीमा रेमिट्यान्स पठाउने ग्राहक धेरै छन् ।

सेवा शुल्क कस्तो छ ?

सबै रेमिट्यान्सको सेवा शुल्क एउटै हुन्छ । सिटीको एउटा रेट र अर्कोको अर्को भन्ने हुँदैन । तर, देशअनुसार भने सेवा शुल्क फरक हुन्छ । हामीले पनि राष्ट्र बैंकको नियम नै अवलम्बन गर्दै आएका छौं ।

वर्षमा कति भित्रिन्छ सिटी एक्सप्रेसबाट रेमिट्यान्स ?

नेपालमा भित्रिने कुल रेमिट्यान्सको १० देखि ११ प्रतिशत सिटी एक्सप्रेसबाट भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा गएको वर्ष ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो

सिटीको अबको नयाँ योजना के छ ?

सबैभन्दा पहिला हामी सिटीको ब्यानरलाई चिनाउन चाहन्छौं । यस वर्षको दसैं र तिहारका लागि काठमाडौंमा एकजनालाई घडेरी उपहार अफर ल्याएका छौं । त्यसपछिको योजना भने केही समयपछि कम्पनीमा छलफल गरेर बनाउनेछौं ।

ग्राहकको सेवा सुविधाका लागि कस्ता कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?

ग्राहकलाई घरदैलोमा सुविधा दिने हाम्रो अभियान हो । अहिले गाउँबाट पैसा लिन सहर जानुपर्ने बाध्यता छ । सिटीले आठदस घर भएका स्थानमा पनि आफ्नो सेवा विस्तार गर्ने कार्यक्रम ल्याउन लागेको छ ।

दसैंमा कति रेमिट्यान्स भित्रिन्छ ?

अन्य समयको भन्दा दसैं तिहारमा बढी रेमिट्यान्स भित्रिन्छ । दोब्बरै त हुँदैन । तर, तीन भागको दुई भाग भने यो समयमा नेपाल भित्रिने गर्छ । अहिले रेमिट्यान्स नै घटिरहेको छ । दसैं नजिकिँदै छ, अब बढ्न पनि सक्छ ।

रेमिट्यान्स कम्पनीले राम्रो सेवा दिँदादिँदै पनि हुन्डीबाट पनि नेपालमा ठूलो रकम भित्रिरहेको छ नि ?

वैधानिक रूपमा पैसा नेपालमा भित्र्याउन कम्पनीहरूले गरेको पहल पर्याप्त छैन, हुँदैन । यसमा सरकारी पक्षबाट नै चासो देखाउनुपर्छ । हुन्डी सञ्चालन गर्ने तथा अवैध रूपमा पैसा भिœयाउनेलाई कारबाही गर्नुपर्ने हो । केही समयअघि न्युरोडमा यस्ता कारोबारीलाई समायो । त्यसपछि फेरि केही भएको छैन । यस्ता कोराबारी चारपाँचजना नभइ चारपाँच हजार छन् ।

तिनीहरूलाई किन समाउँदैन सरकारले ?

अहिले भित्रिरहेको रेमिट्यान्सभन्दा कति गुणा बढी अवैध तरिकाबाट नेपाल भित्रिन्छ, भन्न सक्ने अवस्था छैन । सरकारले कडाभन्दा कडा कानुन ल्याएर दण्ड सजायको व्यवस्था गरेमा उनीहरू सही मार्गमा आउँछन् नत्र यस्तै चलिरहन्छ । यसरी नै सरकार कानमा तेल हालेर बस्ने हो भने अवैध कारोबार अझ बढ्न पनि सक्छ ।

जोखिम हुँदाहुँदै पनि किन वैदेशिक रोजगारमा गएकाले हुन्डीबाट रेमिट्यान्स पठाउँछन् ?

हुन्डीवालाहरू कामदारहरूको कोठाकोठामा गएर रकम संकलन गर्छन् । यसले उनीहरूलाई सुविधा मिलेको छ । हाम्रा कम्पनीको काउन्टर एक ठाउँमा हुन्छ । त्यसमा पनि त्यहाँ गएर लाइन बस्नुपर्ने हुन्छ । लाइन बस्नुपर्ने बाध्यताले गर्दा पनि उनीहरूले हुन्डीबाट पैसा पठाउने गरेका हुन् ।

हुन्डीबाट पठाएको पैसा डुबेको कुनै समाचार आउँदैन । चेतनाको अभावका कारण हुन्डी व्यवसाय फस्टाएको हो । कामदार सचेत भएको भए दुःख गरी कमाएको पैसा जोखिममा डुबाउने थिएनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.