चाइना सहकारीले तिर्यो साढे ४० लाख राजस्व
काठमाडौं: चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा सरकारलाई ४० लाख ५९ हजार रुपैयाँ कर तिरेको छ । यसमा आयकर २६ लाख १६ हजार र अन्य विभिन्न कर १४ लाख ४२ हजार रुपैयाँ छ । यस अवधिमा संस्थाले एक करोड ३७ लाख ७६ हजार रुपैयाँ करअघिको नाफा गरेको छ ।
यो नाफा अघिल्लो वर्षको तुलनामा ३२ लाख रुपैयाँले बढी हो । सहकारीको शनिबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारण सभामा दिइएको जानकारीअनुसार हाल संस्थाको सेयर पुँजी ६ करोड ९६ लाख ३६ हजार रुपैयाँ छ । गत आवमा संस्थाले १९ करोड ३२ लाख २७ हजार निक्षेप संकलन गरी २३ करोड ३७ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा संस्थाको जगेडा कोष एक करोड २० लाख ४१ हजार पुगेको छ ।
काठमाडौंको महाबौद्धमा कार्यालय रहेको यस सहकारीमा सात सय ७० जना सेयर सदस्य छन् । आर्थिक वर्ष २०७१/७२ मा करदाता सेवा कार्यालय नयाँसडकअन्तर्गत सहकारीतर्फ सबैभन्दा बढी कर तिरेबापत आन्तरिक राजस्व विभागबाट यो संस्था सम्मानित भएको थियो । संस्थाले इबैंकिङ, मोबाइल बैंकिङ सुविधासहित विभिन्न प्रकारको बचत तथा ऋण योजना सञ्चालन गरी सेयर सदस्यलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
साधारणसभामा सांसद रामहरि खतिवडाले मुलुकका गरिबी निवारण र आर्थिक विकासमा सरकारीले पुर्याएको योगदानबारे चर्चा गरे । संस्थाका अध्यक्ष दुर्गाबहादर श्रेष्ठले आगामी दिनमा संस्थाका गतिविधिलाई थप विस्तार गर्ने जानकारी दिए । उनले सहकारीले मुलुकको व्यापार विस्तारमा ठूलो योगदान गरेको बताए ।