दसैंमा के गर्ने ?
काठमाडौः वर्षभरि पढाइमा व्यस्त हुने बालबालिका यति बेला महान् चाड बडादसैंको बिदामा छन् । स्वाभाविक हो, बिदामा जोकोही स्वतन्त्र हुन चाहन्छन् । तर कतिपय बिदा, समय र सन्दर्भ यस्तो पनि हुन्छ कि त्यही समयमा धेरै कुरा सिक्ने अवसर मिल्छ ।
धेरै विद्यार्थीलाई बिदामा ‘फेरि पनि कति सिक्ने ? ’ भन्ने पनि लाग्नसक्छ । कतिपय बालबालिकाले दसैंजस्ता चाडपर्वबारे धेरै ज्ञान लिइसकेका हुन सक्छन् तर कतिपयले आफ्नै देश नेपालमा मनाउने चाडपर्व त के आफूले गर्नुपर्ने दैनिक संस्कारसमेत नसिकेको हुनसक्छन् ।
दसैं एउटा यस्तो अवसर हो जसले गाउँ, संयुक्त परिवार, संस्कार आदि धेरै सिकाउँछ । भाइबहिनीहरू हो, बिदामा आफ्नो व्यक्तित्व विकास गर्ने र आफूलाई व्यावहारिक बनाउने अनि निखार्ने काम नगर्ने त ?
उमेरले वृद्ध भएका गोपाल पराजुली काभ्रे भवरकोट गाउँमा रोटेपिङ, जाँतेपिङ र डोरेपिङ खेलेको स्मरण गर्छन् । बालसाहित्यकार पराजुली बालबालिकाले जान्नैपर्ने संस्कार र पढ्न प्रोत्साहन हुने खालका नाटकमा अभिनय गरेर दसैंका बिदामा सन्देश दिएको सन्दर्भ सम्झन्छन् । गोठालो जाँदासमेत हातमा कथा, नाटक वा उपन्यासका किताब नछुटाउने उनी भन्छन्, ‘अहिलेका नानीबाबु कि टेलिभिजनमा कार्टुन कि मोबाइलमा हराउँछन् । घरमा आउने पाहुनालाई नमस्कारसम्म गर्न जान्दैनन् । अभिभावकले पनि पितृ देवो भवः मातृ देवो भवः र अतिथिदेवो भवः सिकाएको पाइँदैन ।’
बिदाको समयमा घरमा खाना पकाउने, लुगा धुने, चिया पकाउने, कोठा र घर सरसफाइ र सजाउने तरिका, मान्छेसँग बोल्ने र गर्नुपर्ने व्यवहार आदिजस्ता कुरा सिकाएर स्वावलम्बी बनाउनुपर्ने उनको सुझाव छ ।
साहित्यकार माया ठकुरीलाई अहिले बालबालिका सहरमा मात्र सीमित हुँदा नेपाली संस्कार र परम्परा बिर्सिंदै गएकोमा चिन्ता छ । बिदामा गाउँ जान सुझाव दिँदै उनी भन्छिन्, ‘भौतिक सुखसयलले व्यक्ति एक्लिँदैछ । नाता र आफन्त चिन्न छोडेको छ ।
मोबाइल र टेलिभिजनले विकृति ल्याइरहेको नबुझेर एक्लो हुँदैछ । हामीले पनि यो यथार्थ छोराछोरीलाई बुझाउन सकेका छैनौं ।’ उनी दसैंको बिदामा गाउँ जान र संयुक्त परिवार र मावलीमा घुलमिल हुन सुझाव दिन्छीन् । संयुक्त परिवारमा लगाउनुपर्ने साइनो सिकाउन दसैं अवसर भएको उनको बुझाइ छ । बिदामा रमणीय स्थान घुमेर जानकारी लिने, चाडबाडको महिमा र इतिहास बुझ्ने, नेपाल चिनाउने वृत्तचित्र हेर्ने, साहित्यिक कृतिहरू अध्ययन गर्ने काम गरेर समयको सदुपयोग गर्नुपर्ने उनको सुझाव छ ।
चलचित्रकर्मी एवं बालसाहित्यकार यादव खरेल भने बालबालिकालाई दसैंको बिदामा सिर्जनात्मक हुन सल्लाह दिन्छन् । उनी भन्छन्, ‘भाइबहिनीहरूले रुचिअनुसार पेन्टिङ गर्ने, मादल बाँसुरी आदि बाजा बजाउने, कथा कविता नियात्रा संस्मरण लेख्ने, चाडपर्वको महिमा बुझ्ने, खेलहरू खेल्ने आदि गर्नुहोस् ।’ धेरै बालबालिका मोबाइलमा सबै खालका खेल खेल्ने तर समूहमा स्थानमा गएर नखेल्ने हुँदा पूर्ण रूपमा मानसिक र शारीरिक विकास हुन नसकेकाले दसैंलाई मौकाका रूपमा प्रयोग गर्न पनि उनी सुझाव दिन्छन् ।
उनी भन्छन्, ‘देखेर सिक्ने र भोगेर सिक्नेमा आकाशपाताल फरक हुन्छ ।’ अमेरिकाबाट फर्केकी पूर्वसञ्चारकर्मी एवं बालसाहित्यकार हिरण्य भोजपुरेलाई त्यहाँ बस्ने नेपाली बालबालिकाले नेपालीसम्म फरर बोल्न नसकेको देखेर दुःख लागेको छ । भन्छिन्, ‘पहिले जाँदा ठिकै थियो अहिले त पूरै बिर्सिएछन्, यही गतिले हो भने भाषा, संस्कृति, परम्परा र आफन्त पनि बिर्सनसक्ने देखिन्छ । उनीहरूको त बाध्यता छ । तर नेपालमा हुने बालबालिकाले पनि भाषा, संस्कार, चाडपर्व, परम्परा, आफन्त बिर्सने छाँटकाँट देखिरहेको छु ।’
उनी दसैंको बिदामा भाइबहिनीलाई वर्षभरि हुने चाडपर्व र संस्कारसंस्कृतिबारे लेख्न आग्रह गर्छिन् । लेखनले आफूलाई गहिरो ज्ञान प्राप्त हुने बताउने उनी बाल्यकाल यसरी स्मरण गर्छिन्, ‘भोजपुरमा जन्मेको म । नौ वर्षको हुँदा दसैं बिदामा शिक्षकले केही नभए कल्पना गरेर पनि लेखेर ल्याउनु भन्नुभयो । मैले सिद्धेश्वरको महादेव गुफाबारे सुनेको थिएँ, कल्पना गर्दै त्यहाँ पुगेको, गुफामा चराचुरुंगी भेटेको, भित्र पुग्दा छिर्न नसकेको, निस्कन खोज्दा बाटो बिराएको जस्ता सन्दर्भ लेखेको अझै झल्झली याद आउँछ ।’