सेते र पुन्टे
विद्यालय छुट्टीको दिन थियो । पुन्टे नाम गरेका बालक विद्यालय गएका थिएनन् । उनी खेल्न भनेपछि हुरुक्कै हुन्थे । उनी गाउँभरिकै प्यारो बालक थिए । उनीसँग खेल्न गाउँभरिका केटाकेटी झुरुप्प भेला हुन्थे । साथीसँग रमाउँदै उनी ब्याडमिन्टन खेलिरहेका थिए ।
त्यही नै बेला, हल्लाखल्ला गर्दै पुन्टेका साथी उत्पल र आकाश आइपुगे । उनीहरू दुवैका हातमा धागो र अन्य के के सामग्री थिए । पुन्टेले त्यो के हो ? कहाँबाट ल्याएको ? भन्दै जान्ने इच्छा राखे । उत्पलले मुसुक्क हाँस्दै भने ‘पुन्टे तिमी सानो छौ । तिमीलाई त थाहै छैन क्या ।
यो चंगा हो ।’ ‘यो कसरी खेल्ने नि उत्पल दादा ? ’ पुन्टेले झनै चासो देखाउँदै सोधे । पुन्टेको इच्छा देखेपछि उत्पल र आकाशले भने ‘अब त दसैं आउन लाग्यो । अब टीटी, ब्याडमिन्टन, कपर्दीमात्र खेल्ने होइन पुन्टु हामी मिलेर चंगा उडाउनुपर्छ । पिङ खेल्नुपर्छ । थाहा छ पुन्टे यो त माथिमाथि आकाशमा पुग्छ नि !’
त्यति नै बेला पुन्टेका बाबा सहरबाट हाँस्दैहाँस्दै आए । चकलेट पाइएला कि भनेर पुन्टे र उनका साथीहरू उत्पल, आकाश आदि त्यहाँ भेला भए । तर चकलेट रहेनछ । सबैजना हेरेका हे¥यै भए । पुन्टेका बाबाले त अरू नै केही उपहार ल्याएका रहेछन् । उनले पुन्टेका हातमा एउटा लामो डोरी राखिदिए । ‘मैले सेते ल्याएको छु । अबदेखि यो तिम्रो साथी हो । यसलाई घाँस खान दिनुपर्छ । बलियो पार्नुपर्छ । पुन्टे अब यसलाई दाना र पानी पनि खुवाउनुपर्छ नि !’ बाबाको कुरा सुनेर पुन्टे खुसीले गद्गद् भए ।
एकाएक पुन्टेको ध्यान चंगा र साथीहरूसँग गएन । सेतेतिरै मोडियो । नभन्दै पुन्टे हातमा डोरी घिस्याउँदै धान खेतको डिलमा हिँड्न थाले । सेतेलाई कस्तो कस्तो घाँस मनपर्छ भनेर उनी व्यस्त हुन थाले । पुन्टेलाई देख्दा सेते पनि म्याँ गरेर स्वागत गर्दथ्यो । नदेख्दा कराइहाल्थ्यो । पुन्टे पनि सेतेलाई खुब माया गर्थे । उनी बाबाले अह्राएझैं कहिले दाना दिन्थे, कहिले पानी लगेर दिन्थे । चर्को घाम भएको बेला पुन्टे सेतेलाई शीतल ठाउँमा पु¥याएर बाँधिदिन्थे ।
छिमेकीहरू पुन्टे र सेतेको मित्रता देखेर खुसी हुन्थे । कोही लोभिन्थे त कोही भने ‘लछिनको बाख्रो ल्याएछन् । हेर्दा पनि उस्तै लोभलाग्दो । बानी पनि उस्तै असल रहेछ । त्यस्तो सानु पुन्टेलाई केही गर्दैन’ भनेर प्रशंसा गर्थे । सेते र पुन्टे दिनभरि मीठो घाँस खोज्नमै व्यस्त हुन्थे । उनीहरू सुत्ने बेलामा मात्र अलग्गै हुन्थे । नत्र म्याँ म्याँ गर्दै सेते पुन्टेकै छेवैमा आइहाल्थ्यो ।
एक दिन पुन्टेका घरमा धेरै मान्छे जम्मा भए । उत्पल र आकाशका बाबा र दाजु पनि आएका थिए । सबैका मुख हँसिला देखिन्थे । पालैपालो सबै सेतेको शरीर छाम्दै ‘गजब छ ’भन्थे । सेते भने मस्त उग्राएर बसिरहेको थियो । एकै छिनमा बाहिर धामी बा पनि आए, पुजारी बा आए । कसैले केराका पातहरू ल्याए । मानिस यताउता गर्न थाले । भीडबाट चिच्याउँदै पुन्टेका बाबाले भने, ‘कसले काट्ने ? रक्ती केमा राख्ने ? हतियार राम्रो छ कि छैन ? सबै केटाकेटीलाई घरभित्र लैजानु नि ।’
यति कुरा सुन्नेबित्तिकै हजुरआमाको काखमा बसिरहेको पुन्टे जुरुक्क उठे । बेतोडले दौडदैदौडदै सेतेको छेवैमा गए । सेतेको घाँटीमा बाँधेको डोरी समाते र ठूलो स्वरमा चिच्याउँदै भने, ‘तपाईंहरू सबै मिलेर यो के गर्न लाग्नु भएको ? यो मेरो एउटामात्रै साथी हो । सेतेलाई तपार्इंहरूले काट्न पाउनु हुन्न । बिहानैदेखिको हजुरहरूको हल्लाखल्ला मैले त बल्ल पो बुझेँ । थाहा छ ! म यसलाई सबैभन्दा धेरै माया गर्छु ।’
पुन्टेको तमासा देखेर उनका बाबाले नरम स्वरमा सम्झाए,‘ दसैंमा काट्न नि सेतेलाई पालेको हो नि पुन्टे ।’ तर सेतेको मायामा चुलुम्म डुबेका पुन्टे किन मान्थे र ? उनी ठूलो आवाजले गाउँ नै थर्कने गरी रुन थाले । ‘ हामीले घरमा माया गरेर पालेको सेतेलाई कसरी काट्ने ? यसलाई पनि त दुख्छ नि ! यो नि म जस्तै कसैको प्यारो छोरा होला । उसका पनि बाबा आमा सहरमा कत्ति रुँदै होलान् ।
बरु यसलाई सहरमै पु¥याइदिनु न !’ सेतेको छेउमा बसेर पुन्टे नराम्ररी रोयो र करायो । देख्नेहरू सबै छक्क परे । उनले फेरि सेतेलाई सुम्सुम्याउँदै भने, ‘यसका कान कति राम्रा छन् । आँखा र सिङ त झन् राम्रा छन् । टेक्ने खुट्टा त झनै कति राम्रा छन् कति । यो सेते त ठ्याक्कै मजस्तै छ । आखिर बोल्नमात्रै सक्दैन नि । तर के भो र ? मायालु स्वरमा म्याँ म्याँ त गरिहाल्छ नि । त्यो म्याँ म्याँ सुन्दा मलाई ‘पुन्टु’ भने जस्तै लाग्छ । कसरी काटेर खाने यस्तो प्यारो सेतेलाई ? ’
‘यसलाई कति दुख्छ होला ? अरूलाई दुःख नदिनु भन्ने मेरो बाबाले आज कसरी यस्तो गर्न सक्नुहुन्छ ? हेर्नुस् त ! यसका आँखा कत्ति रसिला भएका छन् ? आज सेते मान्छेसँग कति डराएको छ’ पुन्टेले रुँदै भने ।
पुन्टेको दयालु स्वभाव देखेर उनकी हजुरआमाको मन पग्लियो । ‘मैले अस्तिदेखि सोचेकी थिएँ । पुन्टेले सेतेलाई छाड्न सक्दैन । ठीकै छ, अरूको ज्यान नमारी दसैं मानौं न त ।’ उनको कुरा सुनेर त्यहाँ भेला भएका सबैजना अक्क न बक्क भए । उनीहरू कालो मुख लगाउँदै घर फर्किए । पुन्टे भने हजुरआमाको काखमा गएर हुर्रे ! भन्दै रमाउन थाले ।