जरामा फलेका सिर्जना
प्राकृतिक र सांस्कृतिक सम्पदामा धेरै धनी हाम्रो देश नेपालमा थुप्रै बहुमुखी प्रतिभा र कलाकारहरू छन् । कोही शब्दसँग खेल्दै रमाउँदै नयाँ सिर्जना गर्न रुचाउँछन् । सामान्य जीवनमा पनि अनौठो र केही रङ खेल्दै रमाउन मन पराउँछन् । हुन त हामी सबै एकअर्काभन्दा भिन्न छौं । हाम्रो विचार, रुचि, सोच, जिज्ञासा पनि भिन्न नै होला । त्यसरी नै कलाकारको अलग सोच, फूर्ति र कल्पनाको आकृतिले निकै भाव र अर्थ झल्काउन सक्छ ।
यस्तै आकृति अवलोकन गर्ने मौका मैले पनि पाएँ ।
अंग्रेजी विषय पढिरहेको बेला अचानक खगेन्द्र सरले ‘यिनीहरूलाई आधाघन्टा निकाल्नुपर्ने भयो’ भन्दा पहिले त हामी आत्तियौं । पछि लाइन लागेर प्रांगणमा पुग्दा देवी घिमिरे सरको कुरा सुनेर मक्ख पर्यौं । उहाँले भन्नुभएको ठाउँमा जानका लागि हामी लाइन लागेर बसमा चढ्यौं । हामी निकै उत्सुक र खुसी थियौं । बसमा रमाइरहेका हामी कतिखेर बबरमहलको नेपाल आर्ट काउन्सिल पुग्यौं हामीलाई पत्तै भएन ।
त्यहाँ हामीले ‘नरेन्द्रबहादुर श्रेष्ठको दृष्टिकोण, जरामा अर्थ खोज्दै’ लेखिएको ब्यानर देख्यौं । हामी केही अनौठा कलाकृति अवलोकन गर्न आएको त थाहा थियो । त्यसमा पनि त्यो ब्यानर देखेपछि त जरामा के को अर्थ होला भनेर जिज्ञासा लाग्न थाल्यो । रूखको फल मीठो हुन्छ । पात सुन्दर हुन्छन् । हाँगाबिँगा काम लाग्छन् । काठबाट विभिन्न आकारप्रकार बन्छन् ।
सुन्दर झ्याल ढोका र कलात्मक दराज पलङ बन्छन् । तर जराको सदुपयोग कति राम्ररी छुन्छ भन्ने थोरैलाई मात्र थाहा होला । नरेन्द्रले जराभित्र विश्व देखे, मातृत्व देखे, कुरुक्षेत्र रचे, बोधिसत्व देखे, भविष्य द्रष्टा देखे, भविष्यका स्रष्टालाई प्रोत्साहन गर्दै जराभित्रै कलाको दुनिया खोजिरहे ।
काठमा खोपेर आकृति बनाएको त पहिले नै देखेको र सुनेको थिएँ । जराबाट बनाएको आकृति हेर्न म उत्साहित थिएँ । हामीभित्र प्रदर्शनी हलमा पस्यौँ र सबै आकृतिहरू अवलोकन गर्न थाल्यौं । सबै आकृति र मूर्तिहरूमा मान्छे लोभ्याउने चमक थियो । छेउमै माधव घिमिरे, देवीप्रसाद घिमिरे, सुलोचना मानन्धर, हरिमाया भेटवाललगायतका कविताहरू पनि टाँसिएका थिए ।
सबै मूर्तिहरूमा कविताको पूर्ण भाव र अर्थ जल्किरहेका थिए । आकर्षक मूर्तिहरूमा अर्थ खोज्न निकै रमाइलो लागिरहेको थियो । सबै मूर्तिहरू मार्मिक र सान्दर्भिक थिए । सबै मूर्तिको अवलोकन गरेपछि हामीले साहित्यकार तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठसँग कुराकानी गर्ने मौका पायौँ ।
भित्ताहरूमा उहाँको बारेमा धेरै लेखिएका थिए । त्यसमा पनि उहाँको आफ्नै भनाइ ‘चिरिएको भित्ता हरेर म साहित्यकारबाट कलाकार भएँ’ ले ममा जिज्ञासा उब्जायो । उहाँसँग कुरा गर्ने मौका छोप्दै उहाँको बाल्यकालको सम्झना गराएँ । उहाँको जीवन र कलाकारिताको यात्रा पनि मूर्तिहरूभैँ आकर्षक रहेछ ।
तेह्र वर्षमै कविता लेख्न सुरु गर्नुभएका श्रेष्ठले फालिएका जरालाई मूर्तिको आकार दिएर मूर्तिकलाको क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । सिर्जना गर्नका लागि आफूले कहिल्यै रूख नकाटेको उहाँले बताउनुभयो । मूर्ति बनाउँदा रङ पनि जुत्ताको पालिस प्रयोग गर्नुभएको रहेछ । यसरी आफूसँग भएका घरायसी सामग्री, औजार, फालिएका जराभित्र विचित्रको कला झांगिएको यथार्थ थाहा पाइयो ।
विज्ञता कार्की
कक्षाः ९
एम्बिसन एकेडेमी, मध्यबानेश्वर, काठमाडौं ।