प्रौढ शिक्षा एक अवसर
यस विद्यालयले २०६० सालमा यस बौद्ध क्षेत्रमा औपचारिक शिक्षाबाट वञ्चित भएका आमा तथा दिदीबहिनीका लागि प्रौढ शिक्षा सुरु गरेको हो । ती महिलाले शिक्षाको अभावमा विभिन्न समस्याहरू झेल्दै आएकाले विद्यालयले व्यक्तिगत पहलमा प्रौढ शिक्षाका कक्षाहरू सञ्चालनमा ल्याएको थियो ।
सुरुका दिनहरूमा यस भेगका महिला, कामकाजी आमा, दिदी तथा बहिनीहरूलाई प्रौढ कक्षामा समावेश गराउन निकै चुनौतीको विषय बनेको थियो । घरपरिवारको साथ नमिल्ने, घरपरिवारबाट स्वीकृति पाए पनि पठनपाठनको समय मिलाउन कठिनाइ पर्ने जस्ता समस्याले उहाँहरूलाई सधैं पिरोलिरहन्थ्यो ।
यस समस्यालाई मध्यनजर गर्दै संस्थापक अमर थापाले तुरुन्त दुई शिक्षिकाहरू विजया खनाल र सुरिना रुम्वालाई व्यक्तिगत पहलमा नियुक्त गरी प्रत्यक दिन तीन चरणका एक-एक घन्टाका कक्षाहरू सञ्चालन गराउनु भयो । एक नारी शिक्षित हुन्छे भने उसले परिवारका सम्पूर्ण सदस्यलाई शिक्षित बनाउन सक्छे भन्ने सन्देश पनि उहाँले घरदैलो कार्यक्रममार्फत घरघरमा फैलाइ दिनुभयो ।
यस कार्यले मनमा पढ्ने इच्छा बोकेका महिला दिदीबहिनीहरूलाई अझ हौसला प्रदान गर्यो । यस प्रौढ शिक्षाको कुरा गर्दा आदरणीय गुरुआमा विजया खनालको नाम भने लिनै पर्छ किनभने सम्भवतः उहाँ यस विद्यालयकी सबैभन्दा पुरानो र अनुभवी शिक्षिका हुनुहुन्छ ।
उहाँले यस विद्यालयमा आफ्नो २५ औं वसन्त पार गरिसक्नु भएको छ । उहाँ सदैव भन्ने गर्नुहुन्छ ‘स-साना नानीबाबुसँग रमाउनु मेरो पेसा हो भने प्रौढ महिला दिदीबहिनीसँग आफ्नो अनुभव बाँड्नु र उहाँहरूको अमूल्य सल्लाह सुझावहरूले आफूलाई अझ निखार्नु भने मेरा लागि एक महत्वपूर्ण अवसर बनेको छ ।’
वि.सं. २०६० सालदेखि २०७३ सालसम्मको अन्तरालमा यस प्रौढ कक्षाले निकै ठूलो फड्को मारेको पाइन्छ । सुरुका दिनहरूमा दस, पन्ध्र जनाबाट कक्षा सञ्चालन भएको थियो तर आजभोलि भने दैनिक तीन चरण गरी करिब सय जना विद्यार्थीले अध्ययन गर्ने गरेको पाइन्छ ।
उहाँहरूलाई अध्यापन गराउने क्रममा आधारभूत शिक्षाका साथसाथै जनचेतनामूलक कार्यक्रम जस्तै टोल सरसफाइ, चेलीबेटी बेचविखन, लागूऔषध दुव्र्यसनीजस्ता कार्यक्रममा पनि सहभागी गराउँदै आएको छ ।
यसरी पहिलो चरणको आधारभूत शिक्षा प्रदान गरी दोस्रो चरणको शिक्षा कक्षा १ देखि कक्षा ५ सम्मको स्तरमा पुर्याई पुनः तेस्रो चरणको शिक्षा कक्षा ६ देखि कक्षा ८ सम्म अर्थात् जिल्ला शिक्षा परीक्षासम्म सहभागी गराई उत्तीर्ण गराउन सफल भइसकेको छ ।
हालसम्म यस प्रौढ शिक्षामारफत महिला दिदीबहिनीले शिक्षा प्राप्त गरी आफू अशिक्षित हुँ भन्ने धारणा आफ्नो मस्तिष्कबाट हटाई सक्नुभएको छ भने कतिपय आमा, दिदीहरू देश विदेशको भ्रमण र आयआर्जन गरिरहनु भएको छ । अब यस विद्यालयको सोच भनेको उक्त विद्यार्थीलाई एसएलसी परीक्षासम्म सहभागी गराई उत्तीर्ण गराउनु रहेको छ ।
दिपी तामाङ
कक्षाः १०