दसैंमा मसलाको माग ४० प्रतिशत बढी

दसैंमा मसलाको माग ४० प्रतिशत बढी

काठमाडौं: खानेकुरालाई अमिलो, पिरो, बास्नादार र स्वादिलो बनाउन मसला नै चाहिन्छ । नेपाली समुदायमा धेरैले मसलादार खाना मन पराउँछन् भने कोही थोरैमात्र मसला हालेको परिकार खान्छन् ।

मासुका विभिन्न परिकारमा मसलाले नै स्वाद थप्ने काम गर्छ । दसैंमा मासुको सेकुवा होस् वा कबाब, भुटन, फ्राई, कट्लेट्स, सुप मिटलगायतका मासुको परिकार मिठो र स्वादिलो बनाउन मसला नै चाहिन्छ ।

मसलाबिना कुनै पनि परिकार मिठो हुँदैन । नेपाली बजारमा हरेक परिकार बनाउन छुट्टाछुट्टै स्वाद भएको मसला पाइन्छ । बजारमा भारतबाट आयात हुने मिट मसला, गरम मसला, चिकेन मसला, मम मसला, सब्जी मसला, माछा मसला, करी मसला, चाट मसला, जलजिरा र पानीपुरी मसला, चिया मसला, अण्डा करी मसला, छोला मसला, तन्दुरी मसला, चाउमिन मसला, सेकुवा मसला, चना मसला उपलब्ध छन् । जिरा, खुर्सानी, धनियाँ, लसुन, अदुवा, बेसारलगायतका मसला पनि बजारमा प्रशस्तै पाइन्छन् । नेपालमा अधिकांश मसला भारतबाट आयात हुन्छ ।

नेपालमा बीएमसी, सेन्चुरी, श्रेयम्, एमडिएच, चाहत, रामदेव, बाम्बिनो, एभरेस्ट, अदानी, वसन्त, प्रिया, किचेन, एभरग्रिन, शिवम्, अशोक, हाथी, कुवेर, तेजस्वी, वरदान, सान, क्याचलगायतका ब्रान्डेड कम्पनीका मसला खपत हुन्छन् । मसलाको बजारमा केही साताअघि मात्रै स्वदेशी घराना बाजेको सेकुवा घर पनि सहभागी भएको छ । यो घरानाले अहिले विभिन्न स्वादका मसला बजारमा ल्याएको छ ।

स्वदेशी उत्पादन श्रेयम, सेन्चुरी, नैचुरल, पूर्णिमा, बाजेको मसलालगायत छन् भने अन्य भारतबाट आयातित मसला हुन् । सरकारी तथ्यांक मान्ने हो भने गत साउन र भदौमा विभिन्न प्रकारका ५३ लाख किलो मसला नेपाल भित्रिएको छ । यसको मूल्य नौ करोड २२ लाख रुपैयाँ पर्छ । नेपालमा मसलाको बजार करिब दुई हजार करोड रुपैयाँ बराबरको छ । दसैंका बेला मात्रै सामान्य दिनभन्दा मसलाको माग झन्डै ४० प्रतिशतले वृद्धि हुन्छ ।

माँ अन्नपूर्ण इन्डस्ट्रिज प्राइभेट लिमिटेडले ' श्रेयम् मसला' ब्रान्डमा २६ थरीका मसला उत्पादन गर्दै आएको छ । पछिल्लो समयमा यो ब्रान्डको मसलाले भारतीय ब्रान्डको मसलालाई केही हदसम्म विस्थापित गर्न सफल भएको छ । वीरगन्ज स्थायी घर भएका अमित डटियाले पाँच वर्षअघि काठमाडौंबाट यो मसला उत्पादन सुरु गरेका हुन् । आठ करोड लगानीमा उद्योग सुरु गरेका डटियाले सातवटा ग्राइन्डिङ मेसिनको सहयोगमा मसला उत्पादन गर्दै आएका छन् ।

'क्वालिटीप्रति सचेत भएकै कारण हाम्रो मसलाले बजारको केही हिस्सा ओगट्न सफल भएको छ', डटिया भन्छन्, 'तर भारतबाट आउने विभिन्न ब्रान्डको मसला र नक्कली मसलाका कारण हामी चाहेर पनि अघि बढ्न सकेका छैंनौं । राज्यसँग झन् स्वदेशको उद्योगमैत्री नीति नभएका कारण भारतीय मसलासँग प्रतिस्पर्धा गर्न निकै कठिन छ ।' उनका अनुसार मसलाको कुल बजार बजारमध्ये झन्डै तीन चौथाइ हिस्सा भारतीय मसलाले बजार ओगटेको छ ।

श्रेयम् ब्रान्डले नेपाली बजारमा सबैभन्दा सस्तोमा १५ ग्रामदेखि सय ग्रामसम्मको मसला उपलब्ध गराएको छ । १५ ग्रामको मसलालाई १५ रुपैयाँ उपभोक्ता मूल्य तोकिएको छ । मासिक एक लाख ५० हजार किलो (३० लाख प्याकेट) उत्पादन गर्ने यो उद्योगले आफ्नै मसलासम्बन्धी प्रयोगशाला राखेर गुणस्तर परीक्षण गरी बजारमा मसला पठाउँदै आएको छ । 'परम्परागत हिमाली स्वाद' बजार प्रवद्र्धन गर्दै आएको श्रेयम् मसलाले नेपालमा उत्पादन नहुने कच्चा पदार्थबाहेक अन्य मसलाका कच्चा पदार्थ स्वदेशकै प्रयोग गर्दै आएको छ ।

'मसलाका लागि कच्चा पदार्थका रूपमा सकेसम्म नेपाली उत्पादनलाई नै जोड दिएका छौं', उनले भने, 'नेपालमा उत्पादन नहुने कच्चा पदार्थ अन्य मुलुकबाट आयात गर्छौं ।' लोडसेडिङ र स्वदेशमा कच्चा पदार्थ उत्पादन नहुँदा भारतीय मसलाको तुलनामा लागत मूल्य बढ्दा आयातित मसलासँग बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको उनको कथन छ ।

'बाजेको मसला' ले पनि आक्रामक रूपमा बजार प्रवद्र्धन थालेको छ । 'नेपाली भान्छाको नेपाली मसला' भन्ने नाराका साथ आएको बाजेको मसला बाजेको सेकुवाजस्तै उच्च गुणस्तरयुक्त भएको मसला उद्योगकी सञ्चालिका मितिमा कार्की बताउँछिन् । यो ब्रान्डमा बजारमा २३ थरीको मसला सय ग्रामदेखि पाँच सय ग्रामको तौलमा उपलब्ध छन् । सय ग्राम मसलालाई ८५ रुपैयाँ बजार मूल्य तोकिएको छ । परम्परागत मसलाबाहेक यो ब्रान्डले सेकुवाको विशेष मसला उत्पादन गर्दै आएको छ ।

'आफ्नै आँखाअगाडि शुद्ध स्वदेशी कच्चा पदार्थबाट हाम्रो मसला तयार हुन्छ', कार्की भन्छिन्, 'गुणस्तरमा कुनै सम्झौता नगर्ने भएकाले आगामी दिनमा सेकुवाको ब्रान्डजस्तै यो मसलाले पनि बजारमा उल्लेख्य हिस्सा पाउन सफल हुनेछ ।' ५० लाखको लगानीमा स्थापना भएको यो उद्योगको उत्पादन थलो विराटनगरमा छ भने प्याकेजिङ काठमाडौंको अनामनगरमा हुँदै आएको छ ।

बाजेको मसला ब्रान्डमा महिनामा ३० हजार प्याकेट मसला उत्पादन हुन्छ । यो उद्योगका कामदार अधिकांश महिला छन् । उद्योगले स्वदेशी किसानकै उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब दुई सय किसानलाई कच्चा पदार्थ उत्पादन गर्न आवश्यक पर्ने मल, बिउका साथै आवश्यक प्राविधिक सहयोग गर्दै आएको छ ।

काठमाडौं, पोखरा र भरतपुरको १४ वटा आउटलेटबाट यो मसलाले बजार विस्तार गर्न थालेको छ । राजधानीमै १० वटा आउटलेटबाट यो मसला बिक्री भइरहेको छ । बाजेको मसला सुरुआतमै २० वटा तारे होटेल र रेस्टुराँमा प्रयोग हुन थालेको कार्कीको कथन छ । उनी भन्छिन्, 'आयातित मसलाभन्दा स्वदेशी मसला पनि गुणस्तरयुक्त र स्वादिला छन् । आयातित सबै राम्रा हुँदैनन् ।'

नेपाली बजारमा टोलैपिच्छे ससाना ग्राइन्डिङ मेसिन राखेर पनि खुला रूपमा मसला उत्पादन हुन्छ । त्यसमध्ये कतिपयले गुणस्तरयुक्त मसला उत्पादन गर्दै आएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार अशुद्ध मसला हालेको परिकार खाँदा पाचन प्रणाली, दाँत, मिर्गौला र पेटमा दीर्घकालीन रोग लाग्ने सम्भावना हुन्छ । 'त्यही भएर सकेसम्म विश्वासिलो मसला मात्रै उपभोग गर्नुपर्छ', वस्तीले भने ।

उनका अनुसार व्यवसायीले मसलामा विभिन्न प्रकारका नक्कली सामग्री मिसावट गर्दै आएका छन् । बेसन र बेसारमा पहेंलो रङ (मेटानिल), रातो खुर्सानीका धुलोमा रोडामाइन भन्ने तत्त्व र इँटको धुलो, मरिचमा मेवाको बिउ, जिरा, धनियाँको धुलोमा काठको धुलोलगायतका बाहिरी तत्त्व मिसाएर उपभोक्तालाई बिक्री गर्ने गलत तत्त्व पनि समयसमयमा भेटिन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.