मोबाइल बजारमा चिनियाँ ब्रान्ड

मोबाइल बजारमा चिनियाँ ब्रान्ड

काठमाडौं: मोबाइलको नेपाली बजार अकासिएको छ । यसको प्रमुख कारण चिनियाँ ब्रान्डको सहज उपलब्धता र सहुलियत मूल्य पनि हो । जुन रूपमा पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्ड भित्रिरहेको छ त्यसले नेपालको मोबाइल बजारलाई नै चाइनामय बनाइरहेको छ ।

यसले ग्राहकलाई रोजीछाडीको अवस्था त सिर्जना गरेकै छ, साथै बजारमा चिनियाँ ब्रान्डबीच नै प्रतिस्पर्धाको माहोल पनि बनाएको छ । अवस्य पनि सामसुङ नेपाली बजारका साथै अन्तर्राष्ट्रिय मोबाइल बजारको हिरो हो । उसले नेपाली मोबाइल बजारको आधा भाग नै ओगटेको छ र बाँकी आधा भागमा चिनियाँ ब्रान्डका साथै अन्य अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति छ ।

नेपाली बजारमा मात्र नभएर विश्वव्यापारमा चिनियाँ ब्रान्डले बिस्तारै आफ्नो प्रभाव बढाउँदै लगेका छन् । विश्व मोबाइल बजारमा पनि सामसुङ र एप्पलपछि चिनियाँ ब्रान्ड हुवावे, ओप्पो र साओमी छन् भने बिक्री हुने प्रमुख १० स्मार्टफोनमध्ये धेरैजसो चिनियाँ ब्रान्डकै छन् । अहिले नेपालको कुल मोबाइल बजारमध्ये झन्डै ४० प्रतिशत चिनियाँ ब्रान्डले ओगटेको व्यापारीको भनाइ छ ।

संख्यात्मक रूपमा हेर्ने हो भने त नेपालको मोबाइल बजारमा चाइनिज ब्रान्ड नम्बर वानमा नै रहेको छ । नेपालमा ५० जति ब्रान्डले स्मार्टफोन बिक्री गरिरहेका छन्, जसमध्ये एकदर्जन चिनियाँ ब्रान्ड नै छन् । मार्केट सेयरको आधारमा पनि सामसुङपछि नेपाली बजारमा चाइनिज ब्रान्डको उपस्थिति छ । अहिलेको नेपालको मोबाइल बजारलाई हेर्ने हो भने सामसुङपछि बजारमा हुवावे छ ।

हुवावे मोबाइलका बजार व्यवस्थापक सुमित प्रधानांगका अनुसार अहिले हुवावेको २० प्रतिशत मार्केट हिस्सा छ । त्यसपछि जियोनी र साओमीको बजार छ । ओप्पो, मेजु, जेडटीई भर्खरै नेपाली बजारमा भित्रिएका ब्रान्ड हुन् । यूएमआई र एचटीसी भित्रिने तयारीमा छन् भने जोपो, लेटिभीजस्ता ब्रान्ड पनि नेपाली बजारमा उपस्थितिका लागि अवसर खोजिरहेका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आव २०७२÷७३ को तथ्यांकअनुसार नेपालमा चीन, भारत, दक्षिण कोरिया, भियतनाम, हङकङ, स्पेनलगायत ६१ देशबाट मोबाइल आयात हुने गरेको छ । नेपालमा आयात भएका ४९ लाख ९० हजार मोबाइल सेटमध्य ९० प्रतिशत हिस्सा चीनको छ । मूल्यका आधारमा चीनबाट आउने मोबाइलले ७६ प्रतिशत ओगटेको छ । चीनबाट मात्र १३ अर्ब ९२ करोडको मोबाइल गत आवमा भित्रिएको निर्देशक खनालले बताए । यो तथ्यांकले नेपालमा चिनियाँ मोबाइलको प्रभुत्वलाई दर्शाएको छ ।

हुवावे मोबाइलका बजार व्यवस्थापक प्रधानांगका अनुसार यस्तो अवस्था आएको चाइनिज ब्रान्ड अब चाइनिज नरहेर हो । यसको अर्थ ग्राहकमा चिनियाँ ब्रान्डप्रतिको नकारात्मक सोचको अन्त्य भएको छ । उनका अनुसार पछिल्लो समय चिनियाँ स्मार्टफोन गुणस्तरीयका साथै सहुलियत मूल्यमा बजारमा आएकाले पनि चिनियाँ ब्रान्डलाई बजार लिन सहज भएको छ ।

यसरी चिनियाँ ब्रान्डका मोबाइल बजारमा भित्रिरहँदा सबैले नेपालमा आफ्नो स्थान बनाउन सक्छन् भन्ने छैन । सोओमी स्मार्टफोनका रिजनल म्यानेजर अभिषेक सिंहका अनुसार चिनियाँ ब्रान्ड आफ्नो उपस्थिति जनाउने क्रममा अहिले विश्व बजारमा प्रवेश गरिरहेका छन् । नेपालमा पनि त्यसैको प्रतिफल हो । यहाँ आएका सबै ब्रान्डले आफ्नो स्थान बनाउन सक्दैनन् ।

मार्केटिङमात्र मोबाइलको व्यापारका लागि ठूलो कुरो होइन, त्यसका लागि उत्पादन गुणस्तरीय हुनुका साथै आकर्षक पनि हुन जरुरी हुन्छ । एकपटक किनेर फेरि पनि त्यही कम्पनीको फोन किन्न बाध्य नगराउन्जेल नेपालमा कुनै कम्पनीले आफ्नो स्थान बनाउन सक्नेछैनन् । 'त्यसैले नेपाली बजारमा अहिलेको अवस्थासम्म केही ब्रान्डबाहेक सबैललाई डर रहेको छ', प्रधानांगले थपे । नेपालमा चिनियाँ ब्रान्डबीच नै अस्वस्थ प्रतिस्पर्धा छ । ९० प्रतिशत ग्राहकले मोबाइलबारे बुझेर भन्दा पनि लहैलहैमा लागेर किन्ने गरेकाले यस्तो अवस्था आएको हो ।

युविक्युटी प्रालिका जनरल म्यानेजर अनमित्र शर्माका अनुसार नेपालमा अहिले चिनियाँ ब्रान्डबीच चर्को प्रतिस्पर्धा छ । विशेष गरी गुणस्तरीयतामा चिनियाँ ब्रान्डबीच प्रतिस्पर्धा छ । नेपालमा भएका सबै चिनियाँ ब्रान्डसँग सबै रेन्जका स्मार्टफोन छैनन् । हुवावे र जियोनीले सबै रेन्जका स्मार्टफोन ल्याएका छन् भने अन्य ब्रान्डले सीमित सेग्मेन्टमा स्मार्टफोन ल्याएका छन् ।

बजारमा ल्याइएका सेग्मेन्टमा कम्पनीले आफ्नो उत्पादनलाई प्रयोग गरिएको प्रविधि, गुणस्तर र मूल्यका आधारमा उत्कृष्ट तुल्याउने कोसिस गरिरहेका छन् । शर्माका अनुसार जसले सहुलियत दाममा गुणस्तरीय उत्पादन ग्राहकलाई दिन सकेका छन्, उनीहरूले नेपाली ग्राहकलाई तान्न सकेका छन् । तर, बजारमा कतिपय यस्ता ब्रान्डका चिनियाँ स्मार्टफोन पनि आएका छन् जुन अन्यत्रको बजारमा असफल भइसकेका छन् । यसले चिनियाँ ब्रान्डको बजारका साथै ग्राहकमा समेत नकारात्मक प्रभाव पार्न सक्ने खतरा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.