सेनाले दशैंमा घर जाने सैनिकलाई आफ्नै बसमा पुर्याइदिने
काठमाडौंः नेपाली सेनाले दशैंमा घर जाने सैनिक र उनीहरुका परिवारलाई घरसम्म आफ्नै गाडीमा पुर्याइदिने भएको छ।
दशैंको अबसरमा नेपाली सेनाले आफ्ना सैनिक र उनीहरुका परिवारको सुविधाका लागि काठमाडौं उपत्यकाबाट देशका ११ स्थानसम्म जान र आउन निःशुल्क बस सेवामार्फत घरसम्म पुर्याइदिने भएको हो।
सैनिक जनसम्पर्क निर्देशनालयले मंगलबारबाट काठमाडौँदेखि इटहरी, हेटौँडा, दोलखा, रामेछाप, चौतारा, त्रिशूली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ। सैनिकले यो सेवा प्रतिसैनिक चार जनाले लिन पाउने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ।
सेनाले असोज २४ देखि २६ गतेसम्म तीन दिन काठमाडौँ उपत्यकाभित्र गैरसैनिक सर्वसाधारणका लागि पनि सुविधा पुर्याउन छुट्टाछुट्टै मार्गमा बस सञ्चालन गर्ने जनाएको छ।
बस प्रत्येक दिन बिहान ६ देखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि भद्रकालीबाट सञ्चालनका लागि व्यवस्था मिलाइएको छ।