गगन थापाले सुदूरपश्चिममा पहिलो डायलसिस सेवा सुरु गरे
धनगढीः सेती अञ्चल अस्पतालमा मंगलबारदेखि थप दुई वटा सेवा सुचारु भएका छन । मृगौलाका रोगीका लागि डायलासिस र सिकलसेल एनेमियाका रोगीका लागि सिकलसेल रगत जाँच सेवा सुचारु भएको हो ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले मंगलबार दुवै सेवाको रिबन काटेर उद्घाटन गरे । मानव रोग अंग प्रत्यारोपण केन्द्रकी नेफ्रोलोजिष्ट डाक्टर कल्पना श्रेष्ठले, सेती अञ्चल अस्पतालमा मृगौला रोगीका लागि दुई वटा मेसिनबाट सुरु भएको डायलासिस सेवा बारे स्वास्थ्यमन्त्री गगनकुमार थापालाई जानकारी गराएकी छिन् ।
सुदूरपश्चिममै पहिलो पटक सेती अञ्चल अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएको हो । सरकारले मृगौला रोगीलाई डायलासिस सेवा निःशुल्क गर्ने घोषणा गरेपछि, सेतीमा पनि दुई वटा मेसिन र एउटा आरोप्लान्टसहित सेवा सुरु भएको हो ।
डायलासिस रगत शुद्धीकरण गर्ने कृत्रिम विधी हो । मृगौलाको कार्यक्षमता कमजोर हुँदा शरीरको विषाक्त पदार्थ क्रिइटिनिन र युरिया लगाएतका विषाक्त पदार्थ छान्ने काम डायलासिसमा गरिन्छ ।
सेतीमा २४ सै घण्टा डायलासिस सेवा उपलब्ध हुनेछ भने हप्तामा २४ जनाको उपचार गर्न सकिने सेती अञ्चल अस्पतालका प्रमुख डाक्टर सूर्य गुरुङले बताए। कार्यक्रममा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकार श्रेष्ठको पनि सहभागी थिए ।