केन्द्रीय अनुसन्धान ब्यूरोलाई अन्तराष्ट्रिय सम्मान
काठमाडौँः वन्यजन्तु अपराधविरुद्ध काम गरेबापत नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तराष्ट्रिय सम्मान पाएको छ । ब्यूरोलाई सन् २०१६ को वन्यजन्तु अपराधविरुद्धको सम्मान दिइएको हो । सन् २०१०देखि नेपालमा वन्यजन्तु चोरी शिकारीविरुद्ध विभिन्न अपरेशन सञ्चालन गरी उल्लेखनीय काम गरेबापत ब्यूरोले सम्मान प्राप्त गरेको हो ।
गैंडामा शून्य चोरी शिकारी वर्ष मनाउन ब्यूरोले महत्वपूर्ण काम गरेको कदर स्वरुप यो सम्मान दिइएको हो । संयुक्त राज्य अमेरिकामा स्थापना भएको यो सम्मान प्रत्येक ३–३ वर्षमा विश्वभर वन्यजन्तु अपराधविरुद्ध उल्लेखनीय योगदान पुर्याउने व्यक्ति र संस्थालाई प्रदान गरिदै आएको छ ।
यस वर्षको सम्मान दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजित कार्यक्रममा वितरण गरिएको छ । सोमबार पुरस्कार ग्रहण गर्दै ब्यूरोका निर्देशक नवराज सिलवालले यो पुरस्कारले नेपाल प्रहरीलाई काम गर्ने हौसला मिलेको बताए ।
‘यो पुरस्कारले सिआइबीलाई अझ उत्कृष्ट ढंगले काम गर्न प्रोत्साहित गरेको छ,’ सिलवालले भने, ‘म विश्वभरका एजेन्सीलाई मिलेर सहकार्यका साथ काम गर्न र बढ्दै गरेको संगठित अपराध रोकन आह्वान गर्दछु ।’ यो पुरस्कार नेपालले पहिलोपटक प्राप्त गरेको हो ।