दसैँमा तात्यो मोबाइल बजार

दसैँमा तात्यो मोबाइल बजार

काठमाडौं: वर्षमा १२ महिना त हाम्रा लागि स्वाभाविकै हो । तर मोबाइलको बजारमा भने वर्षमा १५ महिना हुने गरेको छ । मोबाइल मात्र हैन प्रायः सबै व्यवसायले वर्षमा १५ महिना मनाउँछन् । सोच्नु होला कसरी ? नेपालमा दसैंतिहारको समयमा मोबाइल व्यापारका लागि थप तीन महिनाको बजार हो । दसैंतिहारको दुई महिनमा सामान्य महिनाभन्दा दोब्बर व्यापार हुने गरेको व्यवसायी बताउँछन् ।

नेपालमा दसैंतिहारको समय मोबाइल व्यापारका लागि राम्रो महिना भएजस्तै अन्तर्राष्ट्रिय बजारमा पनि यस्ता थुप्रै अवसर आउँछन्। त्यहाँ कुनै चाडपर्वभन्दा पनि कुनै पनि कम्पनीको मोबाइल सार्वजनिक गरेको महिना यस्तो अवस्था आउने गरेको पाइन्छ । एप्पलले २० दिनअघि नयाँ प्रोडड ‘आईफोन सेभेन’ र ‘आईफोन सेभेन प्लस’ सार्वजनिक गरेको थियो । सार्वजनिक गरेको एक सातामै आईफोन सेभेन प्लस बजारमा सकिएको कम्पनीले उल्लेख गरिसकेको छ । साथै अब ग्राहकले आईफोन सेभेन प्लस किन्न केही साता पर्खनुपर्ने अन्तर्राष्ट्रिय मिडिया ‘सीएनबीसी’ ले उल्लेख गरेको छ ।

 २० दिन अवधिमा सामान्यभन्दा आईफोनको व्यापारमा तीनगुणा बढेको रिसर्च प्रोटल ‘स्टाटिस्टा’ ले जनाएको छ । तर यो व्यापार अघिल्लो वर्ष कम्पनीले सार्वजनिक गरेको आईफोन सिक्स र सिक्स प्लसको पहिलो महिनाको व्यापारको तुलनामा भने २० प्रतिशत कमी हो । आईफोनको यो तथ्यांकले पनि विश्वबजारमा मोबाइल व्यापार १२ महिनेमात्र देखिँदैन ।

नेपालमा मोबाइल सार्वजनिक गर्दा व्यापारमा केही फरक आए तापनि व्यापार दोब्बर भने हुने नसक्ने कलर्स मोबाइलका मार्केेटिङ म्यानेजर राजजंग थापा बताउँछन् । उनका अनुसार नेपालमा दसैंतिहार मोबाइलको व्यापारको उत्कृष्ट समय हो । यो समयमा झन्डै दुई सय प्रतिशत हाराहारीमा मोबाइल व्यापार बढ्ने गरको उनले बताए । कुनै पनि कम्पनीले वर्षमा १४ देखि १५ महिनाको हिसाबमा मोबाइल व्यापार गर्ने उनी बताउँछन् ।

 यसको प्रमुख कारण कम्पनीले ल्याउने विभिन्न योजना हो । दसैंतिहार सुरु हुनुभन्दा एक महिनाअघिदेखि मोबाइल कम्पनीले बजारमा ग्राहक लक्षित योजना ल्याउने गरेका छन् । कतिले मोबाइलको खरिदमा छुट दिन्छन् भने कतिपय मोबाइल कम्पनीले मोबाइलको खरिदमा ग्राहकलाई आकर्षण उपहार प्रदान गर्ने गरेका छन् । कलर्सले यो दसैंमा आफ्ना ग्राहकलाई लक्षित गरेर कुनै योजना ल्याएको छैन । तर पनि यो दसैंतिहारको अवधिमा आफ्नो उत्पादनको व्यापारमा शतप्रतिशत वृद्धि हुने थापाको विश्वास छ । उनका अनुसार कम्पनीले यस वर्ष कुनै योजना नल्याए पनि दसैंतिहारमा व्यापारमा दोब्बर वृद्धि हुनेछ । कम्पनीले बजारमा ल्याउन तयार गरेको नयाँ स्मार्टफोन नेपालमा नआइपुग्दा कुनै योजना सार्वजानिक नगरेको हो ।

 सामसुङ नेपाल ह्यान्ड ह्यान्डलिङ प्रोडक्ट विभागका विभागीय प्रमुख प्रणयरत्न स्थापित नयाँ कुरा किन्ने समय दसैंतिहार भएकाले ग्राहकको समय रहेको बताउँछन् । उनका अनुसार मोबाइल कम्पनीले ल्याएको योजना यस अवधिमा मोबाइलको व्यापार अकासिनु एउटा कारणमात्र हो । त्योभन्दा पनि ग्राहकले यो समयलाई नयाँ सामान किन्न पर्खेर बसेका हुन्छन् ।

रोजगारका लागि बिदेसिएका मानिस पनि आफ्नो ठाउँमा फर्कने भएकाले यो समयमा बढीभन्दा बढी आर्थिक कारोबार हुने गरेको छ । दसैंतिहारमा मोबाइलमात्र नभएर गाडी, लत्ताकपडाका साथै खाद्यान्न व्यापारमा समेत यस्तो अवस्था सिर्जना हुने गरेको छ ।

सामसुङले दसैंतिहारमा ग्राहकका लागि ‘हरेक दिन लखपति अफर’ योजना ल्याएको छ । ४० दिनसम्म चल्ने योजनामा ४० जनाले लाख रुपैयाँ जित्न सक्नेछन् । साथै हरेक दिन तीनजनाले ‘सामसुङ गिएर एसटु’, ‘सामसुङ लेबल हेड सेट’ र सामसुङ लेबल स्पिकर’ मध्ये कुनै एक प्राप्त गर्नेछन् ।

 प्रिज्म टेक्नोलोजी प्रालिका निर्देशक विकास शाहका अनुसार मानिसले अरू बेला पैसा बचत गर्दै जाने र दसैंतिहारमा मोबाइल, ग्याजेटलगायतका सामग्री खरिद गर्ने गरेकाले पनि मोबाइलको व्यापार दोब्बर भएको हो । प्रिज टेक्नोलोजी इनफोकस ब्रान्डका स्मार्टफोनको नेपालका लागि आधिकारिक बिक्रेता हो । दसैंतिहारले एक वर्षमा नेपालमा हुने कुल मोबाइल व्यापारको एक तिहाइ ओगट्ने गरेको उनी बताउँछन् । शाहका अनुसार दसैंतिहारले वर्षभरि हुने मोबाइल व्यापारको एक तिहाइ ओगट्ने भएकाले मोबाइलका लागि वर्षमा १५ महिना हुने गरेको छ । 

‘दसैं आयो खाऊँला पिऊँला भन्ने नेपाली उखाने छ’, हुवावे मोबाइलका बजार व्यवस्थापक सुमित प्रधानांग भन्छन् । उनले पछिल्लो समय लत्ताकपडाजस्तै मोबाइल पनि मानिसको आवश्यकता बन्दै गएकाले दसैंमा मोबाइल किन्ने गरेको बताए । दसैंतिहार मोबाइल व्यापारीका लागि अर्काे दसैं हो । उनका अनुसार सामान्य अवस्थाको तुलनामा दसैंतिहारमा मोबाइल बजारमा चारदेखि पाँच गुणा व्यापार वृद्धि हुन्छ । हुवावे मोबाइलको व्यापार सामान्य महिनाको तुलनामा सातदेखि आठ गुणाले बढ्ने प्रधानांगले बताए । हुवावेले ‘प्राइज एक–सा–एक, यो दसैंमा भाग्यशाली अनेक’ नामक योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले हुवावेको कुनै पनि स्मार्टफोन खरिद गरी हरेक साता सयवटा पावर बैंक, २० वटा स्मार्टफोन र किटसहित चार जाएन्ट साइकल प्राप्त गर्नेछन् । यस्तै हरेक १५ दिनमा दुई भाग्यशाली बिजेताले भेस्पा स्कुटर र रोयल इनफिल्ड बाइक जित्न सक्नेछन् ।

 त्यसै जियोनीले ‘जियोनी उत्सव अफर, दुबई सफर’ योजना ल्याएको छ । योजनाअन्तर्गत हरेक जियोनी स्मार्टफोनको खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कार्डमार्फत एक्सक्लुसिभ गिफ्ट, ५० जियोनी एफ १०३ प्रो मोबाइल सेट, वा १२ वटा र चार दिन तीन रातको दुबई ट्रिप जित्न सकिने कम्पनीले जनाएको छ । 

यसरी कम्पनीले प्रतिस्पर्धात्मक रूपमा दसैंतिहारका समयमा योजना सर्वजानिक गर्नाले पनि मोबाइल व्यापारमा यी दुई महिना माथि उठ्ने गरेको सन मोबाइल कोटेश्वरका सञ्चालक सुरेश बानियाँ बताउँछन् । उनका अनुसार दसैंको समय पसलमा मानिसको हुल थेग्न नसकिने हुन्छ । यसबेला सामान्य अवस्थाको तुलनामा तेब्बर बढी व्यापार हुने गरेको बानियाँ बताउँछन् ।

 दसैंतिहारको समयमा भित्रिने नयाँनयाँ मोबाइल कम्पनीले पनि मोबाइल व्यापारलाई माथि उठ्न सहयोग गरेको व्यवसायीको विश्लेषण छ । यस वर्षमात्र दसैं नजिकिँदै गर्दा चार ठूला स्मार्टफोन कम्पनी नेपाली बजारमा भित्रिएका छन् । वान प्लस, ओप्पो, इनफोकस र मेइजु । दसैं लक्षित गरेर भित्रिएका यी स्मार्टफोनको योजना पनि दसैंको बजारलाई समाउनु हो । केही दिनअघि नेपालमा सार्वजानिक भएको ओपो पनि योजना उस्तै छ । यतिबेला बजारलाई समाउन सकेको खण्डमा बजारमा आफ्नो स्थान बनाउन सहज हुने ओप्पोका ब्रान्ड म्यानेजर माइकल लीले उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.