राजधानीमा नेपाल प्रहरीको निःशुल्क बससेवा
काठमाडौँ: दशैंका बेला यात्रुहरूको सुविधालाई ध्यानमा राखी दशैं अवधिभर बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका लागि तीन रुटमा नेपाल प्रहरीले निःशुल्क बससेवा आजदेखि सञ्चालन गरेको छ ।
उक्त सेवाअन्तर्गत पहिलो रुटको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्नेछ ।
यसैगरी, दोस्रो रुटको बस नक्सालबाट सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्नेछ ।
साथै, तेस्रो रुटको बस नक्सालबाट सुरु भई जयनेपाल हल चोक, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातोपुल हुँदै पुनः नक्साल आइपुग्ने प्रहरीले जनाएको छ ।