दसैंका अनेक विम्बः के हो दसैं ?

दसैंका अनेक विम्बः के हो दसैं ?

काठमाडौं: नैकापकी सुमित्रा रिमाललाई दसैं भन्नासाथ आँखाअगाडि झल्झली पोस्टकार्ड आइदिन्छ । ग्रामीण विकासमा मास्टर डिग्री सकिसकेकी रिमाल हरेक वर्ष दसैं आउनासाथ स्कुले जीवनमा साथीसंगीलाई बाँड्ने पोस्टकार्ड मिस गर्छिन् । ‘कति जतनले जम्मा गरिन्थ्यो ती पोस्टकार्ड’, पुराना दिन सम्झिँदै उनले भनिन्, ‘साथीहरूलाई पोस्टकार्ड दिनकै लागि घरमा पैसा मागिन्थ्यो ।’ तर समयसँगै चालचलन फेरिएको छ । पोस्टकार्डको ढाडमा चढेर हातहातमा यात्रा गर्ने शुभकामना सन्देशहरूले अचेल फेसबुक र ट्विटरको म्यासेज बक्स वा मोबाइल एसएमएसको बाटो समातेका छन् । सुमित्रालाई अचेल दसैंको उल्लासभन्दा चाडपर्वमा गर्नुपर्ने घरायसी कामले नै बढी अल्झाउँछ ।

लेखक गणेश खनियाँलाई पनि दसैंले बाल्यकालमै पु¥याउँछ । दसैंको आगमनसँगै उनी रिक्साको खिन्द्रिङखिन्द्रिङ आवाज सम्झन्छन् । चितवनको गाउँमा हुर्किएका खनियाँको घरतिर खासै सवारीसाधन चल्दैनथे । दसैंसँगै काठमाडौं वा अन्य सहरबाट आउने आफन्त रिक्सा लिएरै घरसम्म जान्थे । खाल्डाखुल्डी परेको कच्ची बाटोमा आफैँ बज्ने रिक्साको घन्टी सुनेपछि हतारहतार बाटोसम्म हेर्न जाने गरेको बाल्यकाल सुनाए उनले । सहरबाट जानेहरू एक्लै जाँदैनथे, अनेकन कोसेलीसँगै उनीहरू सभ्यता र संस्कृति पनि लैजान्थे । ‘सुकिला नयाँ कपडा लगाएर सहरबाट गएका आफन्तहरू नयाँ किसिमको बोलीचाली, सभ्यता पनि लैजान्थे’, खनियाँले विश्लेषण गर्दै उदाहरण दिए, ‘हामी रिकापी भन्थ्यौं, उनीहरूले प्लेट भन्न सिकाए ।’ अहिले दसैं आएपछि सहरबाट घर जाने लर्कोमा खनियाँ पनि हुन्छन् ।

काठमाडौंमै जन्मेहुर्केकी समालोचक अर्चना थापासँग भने यस्तो अनुभव छैन । भन्छिन्, ‘गाउँ जाने उत्साह र उमंग कहिल्यै पनि अनुभव गर्न पाइनँ ।’ उनको लागि दसैंजस्तो लामो बिदा हुने चाडबाड घरमै समय बिताउन पाउने फुर्सदको समय हो । यो फुर्सदमा उनी किताब पढ्छिन् । बाँकी रहेका कामहरू पूरा गर्छिन् । पछिल्लो समय दसैंपख प्रायः उनी विदेश गइरहेकी हुन्छिन् विभिन्न सभा–सम्मेलनमा भाग लिन । यो दसैंमा पनि उनी जापान जाँदैछिन् एक सम्मेलनमै सहभागी हुन । फरक खालको अनुभव सँगालेकी भए पनि थापाले बाल्यकालमा चंगा उडाउने, रमाइलो गर्ने गरेको सम्झन भने छुटाइनन् ।

जुम्लाका महेश नेपालीका लागि भने दसैं सधैंजस्तै आउँछ । टीका लगाउने, मासु खाने र पिङ खेल्ने, उनका लागि दसैंले बोक्ने विम्ब यस्तै हुन् । योभन्दा बढी उनी स्थानीय मेलामा गएर रमाइलो गर्छन् । ‘अष्टमीको दिन कनका–सुन्दरीमा लाग्ने मेला हेर्न जाने हो’, नेपालीले फोनमा सुनाए । उनका अनुसार दसैंको अष्टमीमा जुम्लाको कनका–सुन्दरी गाविसमा लाग्ने मेला अन्य ठाउँभन्दा केही फरक छ । त्यहाँ कनका–सुन्दरी र विराट् गाविसका ठकुरी समुदायले दिएको एक–एकवटा र सरकारी तवरबाट गाविसमार्फत प्रदान गरिने एउटा गरी तीनवटा राँगालाई आधा सेरेर छोडिन्छ । छटपटाउँदै दौडिरहेका राँगालाई विभिन्न हातहतियारले हान्दै लखेटीलखेटी मार्ने चलन छ त्यहाँ । त्यसरी दौडिरहेको राँगाले टेकेको भूमिमा उब्जनी राम्रो हुने जनविश्वास रहेको नेपालीले बताए । त्यसबाहेक विभिन्न गाउँबाट घोडा चढी आउनेहरू मेलाका अर्को आकर्षण हुन् ।

काठमाडौंमै हुर्केका अभिनव श्रेष्ठका लागि दसैं साथीहरूसँगै रमाउने चाड हो । प्लस टु अध्ययनरत श्रेष्ठ बेलाबखत दसैंमा गाउँ जाने गरे पनि काठमाडौंमै मनाउँदा रमाइलो मान्छन् । राजधानीमै हुर्केकाले उनका साथीभाइ यहीँ छन् । ‘गाउँ गएर फिट हुनै गाह्रो हुन्छ तर पनि गाउँ जाँदाको मज्जा भने फरक हुन्छ, गाउँ रमाइलो हुन्छ’, श्रेष्ठले अनुभव बाँडे । मध्य बानेश्वर काठमाडौंकै एमबीबीएस अध्ययनरत अपूर्वा श्रेष्ठको मनमा दसैं भन्नासाथ जमघट र भोज आउँछ । ‘दसैं भनेकै त्यही त हो भेटघाट, खानपिन’ अपूर्वाले थपिन्, ‘त्यसमै रमाइलो हुन्छ ।’

फरकफरक भूगोल र संस्कृतिमा जन्मेहुर्केकाले मनमा उब्जिने दसैंको विम्ब फरक नै हुन्छ । तर हरेकको विम्ब बाल्यकालको स्मृतिसँगै जोडिन पुग्छ । चाडपर्वले वयष्कहरूको पनि मनमा लुकिबसेको केटाकेटीपन ब्यूँताइदिन्छ । उनीहरू पनि नयाँ कपडा लगाउँदा गमक्क पर्छन् । यसै भन्छन् अंग्रेजी साहित्यका प्राध्यापक अभि सुवेदी । भन्छन्, ‘हरेकको मनमा बाल्यकालको खुसी लुकिबसेको हुन्छ, चाडबाडले त्यसलाई ब्यूँताइदिन्छ ।’

पश्चिमी सभ्यताका जानकार सुवेदीको अनुभूतिमा हरेक चाडपर्वमा बच्चाहरू नै खुसी हुन्छन् । ‘पश्चिमा मुलुकमा पनि क्रिसमसमा केटाकेटी नै हुन् सबैभन्दा बढी रमाउने’, सुवेदीले भने, ‘उमेर बढ्दै जाँदा त्यो खुसी धमिलो हुँदै जान्छ । तर, चाडपर्वले लुकाइबसेको बाल्यकाल कोट्याइदिन्छन् ।’ परिवारसँग पूरै समय दिएर दसैं मनाउने गरेका सुवेदी आमाको निधन नहुँदासम्म दसैं आएपछि काठमाडौं छोडेर घर जान्थे । ‘हरेकसँग लुकाएर राखेको आदिम अनुभूति हुन्छ’, उनले भने ।

अर्का साहित्य अन्वेषक डा. अरुण गुप्तोका अनुसार पनि दसैंजस्ता चाडबाडहरूको विगतसँग जरा गाडिएको हुन्छ । ‘यस्ता चाडपर्वहरू सयौं वर्ष पुरानो स्मृतिसँग जोडिएका हुन्छन्’, गुप्तोले भने, ‘दसैं स्मृति, भावनासँग जोडिएको चाड हो जहाँ घरगाउँ र परिवार हुन्छ ।’ उनले दसैंलाई गाउँतिर फर्किने विम्ब बोकेको चाडका रूपमा व्याख्या गरे । गुप्तोले बजारले दसैंजस्ता चाडबाड मनाउने तरिकामा परिवर्तन ल्याइरहे पनि यो प्रकृतिसँग जोडिएको स्पष्ट पारे । दसैं–तिहार सकिंदै गर्दा मौसम पनि फेरिएर जाडो सुरु हुन्छ । ‘चेलीबेटी पठाएपछि रित्तो रहने माइतीको उदासी र जाडो मौसमको उदासी मिल्छ’, गुप्तोले भने, ‘हाम्रा चाडपर्वले मौसमसँग जोडेर मानवीय मनोविज्ञान पनि प्रतिविम्बित गर्छन् ।’

स्मृतिसँग जोडिएर मानवीय स्वभाव र पारिवारिक संरचनालाई जीवित राखिरहने गरे पनि दसैंजस्ता चाडबाडको विम्ब विस्तारै फेरिँदैछ । गुप्तोको दृष्टिमा बजारले यसमा ठूलो भूमिका खेलेको छ । उपभोक्तावादी संस्कृतिको विकासले चाडबाड महँगोमात्रै भएको छैन, यसले देवीदेउताको मिथकमै पनि परिवर्तन ल्याइरहेको छ ।

अभि सुवेदीको नजरमा पनि सहरबजारको दसैंलाई प्रविधि र आधुनिक जीवनले साँघुरो बनाइदिएको छ । ‘दसैंमा सबैभन्दा बढी रमाउने केटाकेटी हुन् तर काठमाडौंजस्तो सहरमा केटाकेटीलाई खेल्ने ठाउँ नै छैन’, सुवेदी भन्छन, ‘यसले गर्दा उनीहरू कम्प्युटरको पर्दामा सीमित हुन बाध्य छन् ।’ उनको विचारमा रैथाने नेवारहरूको घरको संरचना नै खुला ठाउँसहितको हुने हुँदा उनीहरूमा दसैंको मौलिक स्वरूप हराइसकेको छैन । तर, बाहिरबाट आएर घरजम गरेकाहरूमा दसैंको मौलिक उल्लास पाउन गाह्रो छ ।


देवी: पहिले शालीन, अहिले आक्रोशित
अरुण गुप्तो
मैले आफ्नो पुस्तक ‘गडेस अफ काठमान्डु’मा उपभोक्तावादले मिथकहरूमा पारेको प्रभाव उल्लेख गरेको छु । जस्तै— देवीको मूर्तिमा परिवर्तन आइरहेको छ । पूर्वीय संस्कारमा असल र खराबीबीच त्यति ठूलो भिन्नता छैन । असलले खराबीलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश पाइन्छ । त्यसैले महिषासुरको वध गरेकी देवीको पुरानो मूर्तिमा भएको अनुहारमा आक्रोश पाइँदैन ।

उनले टाढा हेरिरहेकी हुन्छिन् जसले ठूलो विचार गरेको प्रतिविम्बित गर्छ । उनको ओठमा मुस्कान हुन्छ, त्यो खराबीको पनि आत्मसात् हो । खासमा देवी आमा हुन् भने महिषासुर दुष्ट बिग्रेको छोरा । आमाले दुष्ट छोरालाई आत्मसात् गरेकी हुन् र उसको दुष्ट्याइँ नष्ट गरेकी हुन्, दुष्टलाई नै होइन । तर, उपभोक्तावादसँगै देवीको मूर्तिमा पनि परिवर्तन आएको छ । बलिउडका हिरोइनहरूको प्रतिविम्ब देवीका मूर्तिहरूमा देखिन थालेको छ । प्रविधिले निर्माण गर्ने सुपरम्यानहरूको परिकल्पना मूर्तिमा पनि पाइन थालेको छ । अचेल देवीको अनुहारमा आक्रोश देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.