महानवमीमा नुवाकोटका शक्तिपीठमा भक्तजनको घुइँचो
नुवाकोटः वडादशैको महानवमीका दिन सोमबार नुवाकोटका विभिन्न शक्तिपीठमा पूजाआजा गर्नेको घुइंचो लागेको छ । नुवाकोटको प्रसिद्ध र महत्वपूर्ण भैरवी, देवीघाटमा रहेको जालपादेवी, वगुवामा रहेको पञ्चकन्या, सिमुटारमा रहेको इन्द्रायणी, वेलकोटमा रहेको निरञ्जना भगवती, वनदेवीलगायतका मन्दिरमा पुजाआजा र दर्शनका लागी सर्वसाधारणको संख्या बढेको हो ।
वडादशैको महानवमीका दिन नुवाकोटको महत्वपूर्ण विभिन्न मन्दिरमा पुजाआजा र दर्शनका लागी सर्वसाधारणको संख्या वढे पनि बली दिने कार्य गतवर्षको भन्दा कम भएको मन्दिरका पुजारी वताउंछन् ।
महानवमीका दिन नुवाकोटका तुलजा मौला, साततले दरवार अगाडिको मौला, लाम्पाटीमा रहेको छुट्टै मौला, कालिका मौलाका साथै भैरवी, जालपादेवी र इन्द्रायणी मन्दिरमा सरकारी तर्फवाट सातवटा रांगो, ६ वटा बोका एउटा भेडाको थुमाको बली दिइएको छ ।
यस वर्ष नुवाकोटका विभिन्न शक्तिपिठमा पुजापाठ गर्नका लागि गत वर्षको भन्दा ५० प्रतिशत बढी सर्वसाधारणको भीड लागेको नुवाकोटको भैरवी मन्दिरमा भजनर्कीतनमा सहभागी यज्ञराज केसीले बताए। सर्वसाधारणको धार्मिक आस्था बढेको पाइएको उनले बताए।
सर्वसाधारण पछिल्लो समयदेखि पशु बली भन्दा पनि नरिवल चढाउनतर्फ आकर्षित भएको पाइएको छ । विभिन्न संघसंस्था तथा सर्वसाधारणले पनि पशु वली दिदा धर्म नहुने निष्कर्ष निकाली नरिवल चढाउन लागेको पुजारीहरुको भनाइ रहको छ ।
नेपाल एकीकरणपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा वडादसैं पर्व विशेष रुपमा मनाउन सुरु गरेको पाइन्छ । वडादसैंमा नुवाकोटको विभिन्न देवी मन्दिरहरुमा सरकारीतर्फवाट पुजापाठ हुने गरेको छ ।