गाउँमा हराउँदै दसैंको उल्लास
लमजुङ: झण्डै ७० बर्ष पुगेका लिलाधर अधिकारी हिजोआज मनाइने दसैंमा त्यत्ति खुशी छैनन् । रोटे पिङ, लिङ्गेपिङ र भजन गाएर उल्लासपूर्ण तरिकाले दसैं मनाउँदै आएका सर्वसाधारणले हिजोआज दसैंमा मनोरञ्जन थप्ने यी कुनै चिज पनि देख्न पाएका छैनन् । ‘गाउँमा न यूवा देखिन्छन, न कुनै उल्लास नभएको स्थानीयको भनाइ छ।
घरमा रातो माटो, सेतो कमेरो र कालो खोटो बनाएर घर टिलिक्क टल्कन्थे, तर आजकल न त लिपपोत हुन्छ, न कमेरो लगाइन्छ।’
दसैंका लागि कमेरो लिन १ दिनको बाटो हिंडेकोे याद अहिले पनि ६५ बर्षीय भोटीमायाँ अधिकारीलाई ताजै छ । उनी भन्छिन, ‘खै अहिले त न कमेरो लिन कोहि जान्छन, न पहिले जस्तो रौनक छ ।’
दसैंको घटस्थापना देखि दसैंको झल्को दिन नहरा बजाइन्थ्यो । नहरामा कोहीले दमाहा बजाउँथे, कोही नर्सिङ्या बजाउँथे । गाउँमा नहरा बजाउँदा छुट्टै महत्व हुन्थ्यो । हिजोआज गाउँमा नहरा पनि बज्न छाडेको छ ।
दसैं भनेपछि गाउँमा आउनेहरुको लर्को हुन्थ्यो । सबै मिलेर गाउँमै पिङ हाल्थे । दसैंमा धर्ती छाड्नुपर्छ भन्ने मान्यता बमोजिम बालबालिका देखि बृद्धबृद्धासम्म पिङमा रमाउँथे । तर, अहिले गाउँमा कुनै प्रकारका पिङ पनि देख्न पाइन्न । यदाकदा पिङ हालिएपनि धेरैजसो गाउँहरुमा पिङ हाल्न छाडीएको छ ।
‘गाउँका यूवाहरु धरैजसो परदेशी भुमिमा छन, कोही रोजगारमा स्थानीय पशुपति अधिकारी भन्छन, ‘खै आजकल कस्ले पिङ हाल्ने ? पिङ हाल्ने मान्छे नै छैनन् गाउँमा ।’
गाउँ छाडेर बजार झर्नेहरुको लर्को पनि उस्तै छ । रातो माटो र घरभरी मान्छेभएर रौनक थपिने गाउँका धेरै घरहरुका ढोका बन्द भएको छ । घरभित्रै उब्जिएका पातीका बोटहरुले झनै उराठ बनाएको छ, गाउँलाई ।
केही बाँकी रहेका घरहरुपनि सग्ला छैनन् । बैशाख १२ गते गएको बिनाशकारी भुकम्पले क्षतबिक्षत बनाएको घरमा दशैंको खासै उल्लास छैन् ।
‘घर सबै लडेको छ । कहाँ बस्ने, के गर्ने भनेर चिन्ता छ, राम्रोसँग बस्ने ठाउँ पनि छैन, दशैंको के रौनक हुनु भुकम्प पीडित रामचन्द्र अधिकारी भन्छन ।
एकआपसमा शुभकामना साटासाट गरेर, आफुभन्दा ठुला र मान्यजनको हातबाट टिका लगाएर उल्लासपूर्ण तरिकाले मनाईने दशैं हिजोआज पहिले भन्दा निकै गुणा घट्दै गएछ, दशैंमा बुवाको हातबाट टिकाथाप्न काठमाडौं देखि गाउँ आएका यमप्रसाद अधिकारी भन्छन, ‘दशैंको रौनक शहरबजारमा मात्र होईन, हिजोआज त गाउँमा पनि घटेछ ।’