सी चाँडै आउने प्रतिबद्धताः परराष्ट्रमन्त्री

सी चाँडै आउने प्रतिबद्धताः परराष्ट्रमन्त्री


चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भारतको गोवामा शनिबार साँझ सम्पन्न भेटवार्तापछि अन्नपूर्णकर्मी सन्तोष घिमिरेले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग गरेको टेलिफोन कुराकानीः
प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीचको भेटवार्ता कस्तो रह्यो ?

राष्ट्रपति सीसँगको भेट अत्यन्त सौहार्द र फलदायी रह्यो । नेपाल र चीनबीचको मित्रतापूर्ण सम्बन्ध अझै सुदृढ गर्ने विषयमा कुराकानी केन्द्रित भए । नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको प्रधानमन्त्रीले बताउनुभयो । चिनियाँ राष्ट्रपतिले नेपाल निकट छिमेकी मुलुक रहेको र यहाँको आर्थिक, सामाजिक विकासमा सहयोग जारी रहने बताउनुभयो ।

राष्ट्रपति सीको नेपाल भ्रमणबारेमा के कुरा भयो ?

प्रधानमन्त्री दाहालले राष्ट्रपति सीलाई सन् २०१६ भित्र नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले सीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दोहोर्‍याउनुभयो । प्रत्युत्तरमा सीले आफू चाँडोभन्दा चाँडो नेपाल भ्रमणमा आउन इच्छुक रहेको बताउनुभयो । सीले यसअघि नेपालका विशेषदूतले पनि आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएको र पटकपटक नेपालबाट भ्रमणका लागि आग्रह भइरहेको बताउनुभयो । उहाँले कूटनीतिक च्यानलबाट भ्रमणको मिति तय गरी आफू नेपाल आउने प्रतिबद्धता जनाउनुभयो । आशा गरौं आउँदो डिसेम्बरभित्र उहाँको नेपाल भ्रमण हुनेछ । प्रधानमन्त्री दाहालले सरकार र नेपाली जनता सीको भ्रमणको प्रतीक्षामा रहेको बताउनुभयो ।

अब सीको भ्रमण सन् २०१६ भित्रै हुने सुनिश्चित भयो त ?

भ्रमणको मिति दुई पक्षबीचको आपसी समझदारीमा निधो हुन्छ । अहिले नै सन् २०१६ भित्र भ्रमण भइहाल्छ भन्ने सुनिश्चित गर्न सकिन्न । तर चिनियाँ राष्ट्रपति नेपाल आउन तीव्र रूपमा इच्छुक रहेको पायौं । आशा गरौं, उहाँ चाँडै नेपाल आउनुहुनेछ । नेपाल सरकार चीनबाट उच्चस्तरीय भ्रमण चाँडोभन्दा चाँडो होस् भन्नेमा छ । यही कुरा भेटवार्तामा प्रधानमन्त्रीले राख्नुभयो ।

प्रधानमन्त्रीले सीको नेपाल भ्रमणको सुनिश्चितताका लागि के प्रतिबद्धता जनाउनुभयो ?

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले छिमेकी मुलुकसँगको सम्बन्धलाई उच्च महत्वमा राखेको बताउनुभयो । उहाँले चीनसँगको सम्बन्धलाई अझै विकसित गर्न चाहेको बताउनुभयो । चीनसँग विगतमा भएका पारवहन सम्झौतालगायत सन्धि र समझदारीको कार्यान्वयनमा सरकार लागिपरेको बताउनुभयो । चिनियाँ राष्ट्रपतिले नेपालसँग विगतमा भएका समझदारी र सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको प्रस्ट पार्दै प्रधानमन्त्रीले यहाँबाट कुनै पनि चीनविरोधी गतिविधि हुन नदिने बताउनुभयो ।

चीन, नेपाल र भारतबीच आर्थिक विकासका लागि त्रिदेशीय सहकार्य गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । चिनियाँ राष्ट्रपतिको ड्रिम प्रोजेक्ट मानिएको ‘वान रोड वान बेल्ट’ अवधारणामा चीनबाट नेपालको प्रतिबद्धता अपेक्षा गरेको देखिन्छ ।

यसबारेमा केही कुरा भए ?

प्रधानमन्त्री दाहालले नेपालले चीनसँगको कनेक्टिभिटीबाट लाभ लिन चाहेको बताउनुभयो । यसक्रममा उहाँले चीनले अघि सारेका ‘वान रोड वान बेल्ट’ अवधारणाबाट नेपालले फाइदा लिन चाहेको पनि बताउनुभयो । तर नेपालको यस अवधारणामा सहभागिताबारे प्रतिबद्धताचाहिँ व्यक्त गर्नुभएन । यसबारेमा नेपालले गृहकार्य गर्नेछ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधान कार्यान्वयनबारेमा केही छलफल भए ?

प्रधानमन्त्री दाहालले नेपालको संविधानको पूर्ण स्वागत गरेकोमा चीन सरकारलाई धन्यवाद दिनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि आफू नेतृत्वको सरकार लागिपरेको बताउनुभयो । साथै मधेसीलगायत असन्तुष्ट पक्षका भावनालाई समेटेर जान सरकारले संविधान संशोधनका लागि काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले २०७४ माघभित्र स्थानीय, प्रादेशिक र संसदीय गरी तीन तहको निर्वाचन गर्ने तयारी भइरहेको र यो काम चुनौतीपूर्ण रहेको बताउनुभयो । चिनियाँ राष्ट्रपति सीले आन्तरिक एकता बलियो पार्दै संविधान कार्यान्वयनमा नेपाल सफल हुने विश्वास चीनको रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालको सम्भावित चीन भ्रमणबारे केही चर्चा भयो कि ?

पहिला चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालमा होस् भन्ने हामीले चाहेका छौं । चिनियाँ राष्ट्रपतिले कुराकानीका क्रममा नेपालबाट पनि चीनमा उच्चस्तरीय भ्रमण होस् भन्ने चाहना व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले पनि आफू चीन भ्रमण गर्न इच्छुक रहेको अवगत गराउनुभयो । दुवैतर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदानबारे कुराकानी भयो ।

दुई देशका मुद्दाहरूमा अन्य केके कुराकानी भए ?

चिनियाँ राष्ट्रपतिले सन् २०२० सम्म नेपालको सीमासम्म रेल विस्तार गर्न चीनले चाहेको बताउनुभयो । उहाँले नेपालतर्फ रेलसञ्जाल विस्तारका लागि रेलवेको सर्भेको काम अघि बढ्नु आवश्यक रहेकोमा जोड दिनुभयो । अब यसका लागि नेपाल सरकारले गृहकार्य गर्नुपर्छ । त्यस्तै तातोपानी र केरुङ नाकाबाट सहज रूपमा द्विपक्षीय व्यापार बढाउने विषयमा प्रधानमन्त्रीले चीन सरकारको ध्यानाकर्षण गराउनुभयो । चिनियाँ राष्ट्रपतिले तातोपानी र केरुङ नाकाको स्तरोन्नति र सुदृढीकरणमा चीन प्रतिबद्ध रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.