मार्केटिङ माध्यम बन्दै सामाजिक सञ्जाल

मार्केटिङ माध्यम बन्दै सामाजिक सञ्जाल

काठमाडौः फेसबुक, गुगल प्लस, लिङ्कइन, ट्विटरलगायतका सामाजिक सञ्जाल मार्केटिङको सशक्त माध्यमका रूपमा स्थापित हुँदै गएका छन् । सामाजिक सञ्जालको प्रमुख आर्थिक स्रोत विज्ञापन बन्दै गएकाले सामाजिक सञ्जाल मार्केटिङ टुलमात्र हुन् कि भन्ने आशंका पनि उत्पन्न हुन थालेको छ ।

यसले मार्केटिङ कम्पनी र आफ्नो व्यापार विस्तार गर्न चाहने कम्पनीलाई भने ठूलो अवसर सिर्जना भएको छ । यसले सञ्जालका प्रयोगकतालाई भने समस्यामा पारेको छ । अनावश्यक विज्ञापन हेर्नुपर्ने हुँदा उनीहरूले हैरानी महसुस गर्ने गरेका छन् ।

जुनरूपले सामाजिक सञ्जालमा प्रयोगकर्ताको आकर्षण र लगाव बढिरहेको छ त्यसैअनुपातमा व्यावसायिक कम्पनीद्वारा विज्ञापनका लागि सामाजिक सञ्जालको प्रयोग पनि बढ्दै छ । पत्रपत्रिका, टेलिभिजन, रेडियो, व्यक्तिगत सम्बन्ध, पोस्टरजस्ता परम्परागत मार्केटिङ शैलीको घट्दो प्रभावले सामाजिक सञ्जालमार्फत मार्केटिङ गर्ने शैली विकास भएको हो ।

अडियो, भिडियो, ग्राफ्रिक्स, तस्बिर र टेक्स्ट एकै पटक प्रयोग भएर ठूलो जनसमुदायमा पुग्ने भएकाले पनि सामाजिक सञ्जाललाई मार्केटिङ गर्ने माध्यमका रूपमा लिन थालिएको सरोकारवाला बताउँछन् ।

एकअर्कासँग सूचना आदानप्रदान गर्ने माध्यमको रूपमा निर्माण भएका सामाजिक सञ्जालमात्र नभएर डिजिटल मार्केटिङ (सोसल मिडिया, वेबसाइटजस्ता नयाँ माध्यमबाट हुने मार्केटिङ­) को प्रयोग पनि तीव्र रूपमा हुने गरेको पाइन्छ । डिजिटल मार्केटिङमार्फत आफूले चाहेको उमेर समूह, समुदाय र वर्गको बीचमा प्रभावकारी रूपले आफ्नो उत्पादनको जानकारी पु‍र्‍याउन सकिने भएकाले पनि मार्केटिङका लागि यसको प्रयोगले तीव्रता पाएको हो ।

रिसर्च पोर्टल ‘स्टाटिस्टा’ को पछिल्लो प्रतिवेदनअनुसार डिजिटल रूपमा हुने मार्केटिङको ७८ प्रतिशत सामाजिक सञ्जालले ओगटेको छ । त्यसमा फेसबुक, युट्युब, ट्विटर, गुगल प्लस, लिङ्कइन र इन्स्ट्राग्रामको हिस्सा बढी छ । प्रतिवेदनअनुसार फेसबुकको कुल आम्दानीको ९३ प्रतिशत विज्ञापनमार्फत हुने गरेको छ ।

त्यस्तै ट्विटरको कुल आम्दानीको ८५ प्रतिशत विज्ञापनले ओगटेको छ भने गुगल प्लसको कुल आम्दानीको ६७.३ प्रतिशत विज्ञापनले ओगटेको छ । यो तथ्यांकले पनि सामाजिक सञ्जाललाई मार्केटिङ प्रयोजनका लागि बढी नै प्रयोग गरेको तथ्य पुष्टि गर्छ ।

स्टाटिस्टाका अनुसार विश्वमा अहिले दुई खर्ब ८० करोड अमेरिकी डलर डिजिटल मार्केटिङमा खर्च हुन्छ । यो क्रम बढेर २०२० मा पुग्दा तीन खर्ब ६ अर्ब डलर पुग्ने अनुमान छ ।

इन्टरनेटको प्रयोग जुन रूपले बढिरहेको छ त्यसले सामाजिक सञ्जाललाई मार्केटिङ औजारका रूपमा प्रयोग गर्ने प्रचलन पनि बढ्दै जाने अनुमान गर्न गाह्रो छैन । स्टाटिस्टाको पछिल्लो तथ्यांकअनुसार इन्टरनेटमा अहिले विश्वमा करिब साढे तीन अर्ब मानिसको पहुँच छ । यसले विश्वको कुल जनसंख्याको ४० प्रतिशत इन्टरनेटको पहुँचमा भएको देखाउँछ ।

यसमा पनि सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसको संख्या दुई अर्ब ३४ करोड छ । २०२० मा सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसको संख्या तीन अर्ब पुग्ने स्टाटिस्टाले जनाएको छ । यो तथ्यांकअनुसार इन्टरनेटको पहुँचमा रहेका मध्ये ७० प्रतिशत मानिस सामाजिक सञ्जालमा जोडिएका छन् । स्टाटिस्टाका अनुसार विश्वमा अहिले दुई खर्ब ८० करोड अमेरिकी डलर डिजिटल मार्केटिङमा खर्च हुन्छ । यो क्रम बढेर २०२० मा पुग्दा तीन खर्ब ६ अर्ब डलर पुग्ने अनुमान छ ।

सन् २०१५ को तथ्यांकअनुसार ठूला कम्पनीले कुल मार्केटिङ बजेटको २४ प्रतिशत डिजिटल मार्केटिङमा खर्च गर्छन् । सन् २०१६ को अन्त्यसम्म यो बढेर ३५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । २०२० सम्ममा कुल मार्केटिङ खर्चको ७५ प्रतिशत रकम डिजिटल माध्यममा खर्च हुने अनुमान स्टाटिस्टाको छ ।

नेपालमा पनि मार्केटिङको औजारका रूपमा सामाजिक सञ्जालाको प्रयोग बढिरहेको छ । सामाजिक सञ्जालमा आफ्नो उत्पादनको विज्ञापन गर्ने कम्पनीको संख्या दिनदिनै बढिरहेको छ । आफ्नो उत्पादनमात्र नभएर ब्रान्डको विस्तारका लागि पनि सामाजिक सञ्जाल प्रयोग हुने गरेको छ ।

अहिले फेसबुक, युट्युब, ट्विटर इन्स्ट्राग्राम र लिङ्कइनमा नेपाली ब्रान्डको विज्ञापन पनि देखिन थालेको छ । सामाजिक सञ्जालमा कुनै निश्चित स्थानलाई लक्षित गरेर मात्र पनि विज्ञापन राख्न सकिने भएकाले नेपाली प्रयोगकर्ताले बढी मात्रामा नेपाली कम्पनीका विज्ञापन देख्ने गरेका छन् । नेपालका व्यावसायिक कम्पनीले पनि सामाजिक सञ्जालमा गरिने विज्ञापनको लागि छुट्याउने बजेटको हिस्सासमेत बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.