बिमस्टेकमा भारतीय दबाब: घोषणापत्रमा आतंकवाद प्रमुख मुद्दा

बिमस्टेकमा भारतीय दबाब: घोषणापत्रमा आतंकवाद प्रमुख मुद्दा

नेपाल, भारत लगायत बिमस्टेकका सदस्य देशहरुले आतंकवाद एसिया क्षेत्रको शान्ति र स्थिरताका लागि एकमात्रै चुनौति रहेको निस्कर्ष निकाले ।

क्षेत्रीय संगठन बे अफ बेंगाल इनिसियटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेशन (बिमस्टेक) का सदस्य देशहरुको भारतको गोवामा सम्पन्न ‘आउटरिच समिट’ पछि जारी घोषणापत्रमा आतंकवादलाई एसिया क्षेत्रको शान्ति र स्थिरताका लागि मुख्य चुनौति रहेको भनिएको छ । ब्रिक्सको आठौँ शिखर सम्मेलनकै दौरानमा बिमस्टेक आउटरिच समिट आयोजना भयो । भारत एसियामा आतंकवादको खतराको मुद्दामा बिमस्टेक सदस्य देशलाई आफ्नै धारणामा समान धारणा बनाउन पूर्ण सफल भएको देखिएको छ ।

बिशेषतः बिमस्टेकको मुख्य साझेदार मुलुक भारतको आग्रहमा ‘यस क्षेत्रमा बिद्यमान आतंकवादी खतरा बिरुद्द बिमस्टेक सदस्य देशहरु मिलेर अघि बढ्ने’ भन्ने बुंदा राखिएको गोवामा भएको बिमस्टेक बैठकमा सहभागि सरकारी अधिकारीहरुले बताए । बिमस्टेकका देशहरु श्रीलंका र नेपालले अन्तिम सम्म पनि यो बुंदाबारे आफ्ना ‘रिजर्भेसन’ राखेका थिए । बिशेषतः श्रीलंका र भारतबीच यो बुंदाका बिषयमा अन्तिम सम्म बहस चलेको अधिकारीहरुले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक तथा ब्रिक्स सदस्य देशका सरकार तथा राष्ट्रप्रमुखलाई गोवामा संबोधन गर्दै छिमेकी एक देश (पाकिस्तान) ले आतंकवादलाई प्र श्रय दिइरहेको र फैलाइरहेको आरोप लगाए । मोदीले आतंकवाद नै पाकिस्तानको प्यारो बच्चा भएको समेत भन्न भ्याए । भारतले पाकिस्तानमाथि लगाएको आतंकवादको आरोपकै बीच बिमस्टेकले जारी गरेको घोषणापत्रमा पनि स्पस्ट रुपमा आतंकवादको बिषयले बिशेष महत्व पाएको छ। तर यस क्षेत्रमा कनेक्टिभिटी बढाउने, आर्थिक बृद्दि हासिल गर्ने लगायत अन्य दर्जनौँ बिषय समेत घोषणापत्रमा परेका छन् ।

‘एसिया क्षेत्रको शान्ति र स्थिरताको मुख्य चुनौति आतंकवाद कायमै छ । हामी आतंकवाद र आतंकवादका सबै स्वरुपहरु बिरुद्द लड्न पुनः प्रतिबद्दता जाहेर गछौँ । कुनै पनि पुष्ठभूमिमा आतकवादी कार्य बैध हुन सक्दैन’ घोषणापत्रमा भनिएको छ ।

भारत प्रशाशित कस्मिको उरीमा केही समय अघि भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको स्पस्ट रुपमा उल्लेख गर्दै (तर पाकिस्तानको नाम नलिइ) घोषणापत्रमा भनिएको छ ‘यस क्षेत्रमा हालै भएका आतंकवादी र बर्बरतापूर्ण घटनाको हामी निन्दा गर्छौँ । हामी सबै खालका आतंककारी तथा आतंकवादी संगठन र नेटवर्कहरु निर्मूल पार्ने कुरामा विश्वास गर्छोँ । राज्यले नै आतंककारी र उनीहरुको पोषणका लागि आर्थिक सहायता दिने, उत्याहित गर्ने र आतंकवादीहरुलाई शरण दिने राज्यका बिरुद्द लड्न हामी तयार छौँ ।’ पाकिस्तानले कस्मिर स्वतन्त्रता पक्षधरलाई केही समय अघि सहिद भन्दै प्रशंशा गरेको बिषयलाई पनि उक्त घोषणा पत्रमा समेटिएको छ र भनिएको छ ‘आतंकवादीहरुलाई उत्साहित गर्दै सहिद भन्न मिल्दैन ।’

भारतले पाकिस्तानसंगको आफ्नो शत्रुतापूर्ण संबन्धका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई निस्क्रिय पार्दै दक्षिण एसियाका सार्कका अन्य देशसमेत सदस्य रहेको बिमस्टेकलाई अघि बढाउन चाहेको सन्देश बिमस्टेक बैठकमा पनि दिएको छ।

भारतीय बिदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिमस्टेका सदस्य देशका नेताहरुको ‘रिट्रिट’ बैठक चल्दै गर्दा ट्विट गरी भनेका थिए ‘दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई नयाँ ढंगले सोच्नका लागि नयाँ मार्ग शुरु भएको’ बताएका थिए । यसको अर्थ सार्कको नयाँ विकल्पका रुपमा भारतले बिमस्टेकलाई अघि बढाउन खोजेको कुटनीतिक जानकारहरुले बताए । यद्यपी सार्कको विकल्प खोज्नेमा भारत बाहेक सार्कका अन्य सदस्य देश खासै सकारात्मक नरहेको बताइएको छ ।

‘भारतले पाकिस्तानसंगको जारी तनावका कारण सार्कको विकल्पका रुपमा बिमस्टेकलाई अघि बढाउँ भन्ने चाहना स्पस्ट रुपमा राखेको छ । तर हामी सार्कलाई बिमस्टेक संगै प्रभावकारी संगठनका लागि लैजानुपर्छ भन्नेमा छौँ’ गोवा पुगेर फर्किएका एक सरकारी अधिकारीले अन्नपूर्णसँग भने । सार्कको वर्तमान अध्यक्ष देशका हिसाबले नेपालले आगामी सार्क शिखर सम्मेलन चाँडै आयोजना गर्ने हिसाबले गोवा आएका सार्क सदस्य देशका उच्चस्तरीय प्रतिनिधीहरुसंग छलफल पनि गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले श्रीलंकाली राष्ट्रपति, भुटानी प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीसँग भएका औपचारिक तथा अनौपचारिक भेटमा सार्कको स्थगित शिखर सम्मेलनबारे कुरा गरेका थिए । ‘सार्कको अर्को शिखर सम्मेलन आयोजना चाँडै गर्नेबारे सार्क देशका उच्चस्तरीय प्रतिनिधीसंग मेरो कुरा भएको छ । यसका कारण अब वातावरण बनाउनुपर्छ भन्नेमा छलफल भएको छ’ प्रधानमन्त्री दाहालले भने ।

भारतले अन्य देशसँग मिलेर पाकिस्तानलाई क्षेत्रीय मुद्दामा एक्ल्याउने रणनीति लिएको देखिन्छ । भारतले सार्कलाई नभई यही क्षेत्रको अर्को संगठन बिमस्टेकलाई ब्रिक्स राष्ट्रको गोवामा आयोजित बैठकमा डाकेको भारतीय रणनीतिक मामिलाका जानकारहरुले लेखेका छन् । सार्कलाई डाके पाकिस्तान समेत बैठकमा सहभागि हुने हुंदा सार्कको सट्टा बिमस्टेकका सदस्य देशलाई भारतले सहभागि गराएको हो ।

इस्लामावादमा नोभेम्बर पहिलो साताका लागि निर्धारित सार्क शिखर सम्मेलनमा समेत भारत र पाकिस्तानबीचको आतंकवाद, कस्मिरस्थित सीमा विवाद लगायतका बिषयमा बर्षौँदेखिको टकरावका कारण कारण स्थगित भएको अवस्था छ ।

कस्मिरमा तिन साता अघि १८ भारतीय सैनिक जवान मारिएको घटनामा भारतले पाकिस्तानमाथि औंला ठड्याएको छ । सोही घटनापछि भारतले क्षेत्रीय वातावरण उपयुक्त नरहेको भन्दै भारतले सार्क शिखर सम्मेलन तत्काल गर्न नसकिने बताएको छ । त्यस्तै सार्क शिखर सम्मेलनको नयाँ मिति घोषणा गर्न नेपाल लगायत सार्क सदस्य देशसंग भारतले असहमति जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.