महाभियोगबारे माओवादी केन्द्रले छलफल गर्ने
काठमाडौः माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे सत्तारूढ दल, संसद्मा रहेका अन्य दल र सभामुखसँग छलफल गर्ने भएको छ ।
बिहीबार लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको केन्द्रीय पदाधिकारी बैठकले कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र सभामुख ओनसरी घर्तीमगरसँग छलफल गर्ने निर्णय गरेको हो ।
व्यवस्थापिका संसद्मा बुधबार साँझ दर्ता भएको प्रस्ताव पास हुनका लागि दुईतिहाइ मत आवश्यक पर्ने भएकाले केन्द्रले सत्तारूढ दल कांग्रेससँग विशेष छलफल गर्न निर्णय गरेको छ ।
महाभियोग प्रस्ताव संसद्बाट पारित गराउन सत्तारूढ दल कांग्रेस र सभामुख ओनसरी घर्तीमगरसँग छलफल गर्ने निर्णय बैठकले गरेको जानकारी पार्टी प्रवक्ता पम्फा भुसालले दिइन् । उनले अन्नपूर्णसँग भनिन्, ‘संसद्मा बुधबार दर्ता गराएको महाभियोग प्रस्ताव पारित गराउन माओवादी केन्द्रले सबै दललाई आग्रह गर्ने भएको छ ।'
माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेका १ सय ५७ जना सांसदले हस्ताक्षरसहित कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्बाङसहित १ सय ७ जना र माओवादी केन्द्रबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जनाको हस्ताक्षर छ । कार्कीविरुद्ध महाभियोग प्रस्ताव पास हुनका लागि संसद्मा कायम रहेको ५ सय ९५ को दुईतिहाइ अर्थात् ३ सय ९७ मत आवश्यक पर्छ ।
यसैबीच माओवादी केन्द्रकै केही सांसदले भने फरक प्रयोजनका लागि हस्ताक्षर गराएर महाभियोग प्रस्तावमा प्रयोग गरेको भन्दै आक्रोश पोखेका छन् । उनीहरूले महाभियोग प्रस्तावमा हस्ताक्षरकर्ता ऊर्जामन्त्री जनार्दन शर्माले हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाए । सांसद रूपा महर्जनले त फेसबुक स्ट्याटस नै लेखेर आफूलाई झुक्याएर हस्ताक्षर गराएको र आफू महाभियोगका पक्षमा नभएको धारणा सार्वजनिक गरेकी छन् ।
‘गोवा भ्रमण उपलब्धिपूर्ण'
माओवादी केन्द्र कार्यालयको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालको तीनदिने गोवा भ्रमण उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको छ । बिहीबार बिहान दाहालको निजी निवास लाजिम्पाटमा बसेको बैठकले भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको जानकारी प्रवक्ता भुसालले दिइन् । ‘आजको बैठकमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गोवा भ्रमणबारे जानकारी गराउनुभयो । सबैसँग भएका छलफल र भेटवार्ता निकै फलदायी र सकारात्मक रहेको निष्कर्ष बैठकले निकालेको छ', उनले भनिन् ।
उनका अनुसार नेपाल बिमस्टेकको अध्यक्ष भएका नाताले पनि अन्तर्राष्ट्रिय फोरममा आफ्ना कुरा प्रभावकारी ढंगले राख्ने अवसर मिलेको जानकारी दिँदै नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमुखबीचको त्रिपक्षीय भेट नेपालका लागि महŒवपूर्ण अवसर भएको निष्कर्ष बैठकले निकालेको छ ।