बाबुरामको नयाँ शक्तिले भन्यो,'अख्तियार प्रमुख कार्की विवादमा तानिनु दुःखद् हो'
काठमाडौं: नयाँ शक्ति पार्टी नेपालले भ्रष्टाचार निवारणका लागि निःस्वार्थ र निर्भीकताका साथ काम गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख नै विवादमा तानिनु दुःखद् भएको जनाएको छ।
पार्टी प्रवक्ता खिमलाल देवकोटाले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा र संस्थाको गरिमामै चोट पुग्ने स्थिति आएको छ भन्दै संसद्बाट सिधै नियुक्त हुने पद राजनीतिक नेतृत्वप्रति उत्तरदायी नभई सिधै संसद्प्रति उत्तरदायी होस् भन्ने पार्टीकोे माग भएको उल्लेख छ।
संस्थाको गरिमा बचाइराख्न आगामी दिनमा संवेदनशील संवैधानिक पदमा नियुक्ति गर्दा हाम्रा नभई राम्रा र जनोत्तरदायी व्यक्तिलाई नियुक्ति गरियोस् भनी पार्टीले ध्यानार्कषण गराएको छ।
संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाका काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचार उन्मूलन गर्न गठन भएको शक्तिशाली संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत छ भन्ने कुरालाई स्पष्ट पारेको प्रवक्ता देवकोटाले उल्लेख गरेका छन्।