बाबुरामले भने, 'लोकमान कसैलाई नटेर्ने असनको साँढेजस्तो'
काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अख्तियार प्रमुख लोकमानसिंह कार्की असनको साँढेजस्तो बनेकोले अहिलेको अवस्था आएको बताएका छन् ।
शनिबार गोरखा पुगेका बाबुरामले संचारकर्मीसँग भने, लोकमान कसैलाई नटेर्ने असनको साँढेजस्तो बन्न खोजे । त्यही कारण आज यो अवस्था आयो ।' उनले लोकमानलाई मात्रै हटाएर समस्या समाधान नहुने बताउँदै भने, 'लोकमान एउटा व्यक्तिलाई हटाएर मात्र समस्या समाधान हुँदैन । अख्तियारलाई हटाउनुपर्छ । राजनीतिक भागबन्डामा बन्ने अख्तियारले भ्रष्टाचारविरुद्धका स्वतन्त्र रुपमा प्रभावकारी काम गर्न सक्दैन। अख्तियारको ठाउँमा शक्तिशाली लोकपाल बनाउनुपर्छ । अख्तियारको काम छैन।'
लोकमानलाई कारबाही गर्ने नाममा अहिले धेरै भ्रष्टाचारीलाई उम्काउने खेल भइरहेको बताउँदै भने, एउटा चोरलाई दण्डित गर्ने नाममा दसजना चोरलाई उम्काउने प्रयास भइरहेको छ । त्यसमा नागरिक खबरदारी आवश्यक छ । उनले लोकमानलाई कारबाही गर्ने नाममा भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउनु नहुनेमा जोड दिए ।
उनले हिन्दु धर्मका नाममा पूर्वराजा र राजावादीहरुले गतिविधि बढाएको बताउँदै भने, हिन्दुत्वको आवारणमा राजतन्त्र फर्काउने उद्देश्यसहित विभिन्न गतिविधि भइरहेको छन् । यसमा राजनीतिक दलहरु सतर्क हुन आवश्यक छ । उनले धर्म निरपेक्षताको निर्णय भइसकेकोले यसमा पछाडि फर्कदा झन् समस्या आउने बताए ।
बाबुरामले सरकारले केही पनि काम गर्न नसकेको आरोप लगाउँदै भने, सरकार २४ घन्टै सुतेर बसेको छ । कसरी हुन्छ संविधानको कार्यान्वयन ? उनले आफूले गर्न नसक्ने अनि अरु दोष दिने, विदेशी हस्तक्षेप भन्नु गलत भएको बताए । उनले तीनतीन महिनामा सरकार फेरेर राज्यको ढुकुटीमा लुट मच्चाउने काम भइरहेको बताए।