‘कसैले रोकेर भक्तपुरमा साझा बस गुड्न रोकिन्न’

 ‘कसैले रोकेर भक्तपुरमा साझा बस गुड्न रोकिन्न’

भक्तपुरः भक्तपुरका राजनीतिक दलले यहाँका यातायात व्यवसायी नसुध्रिए भक्तपुरमा साझा बस गुड्न कसैले रोकेर नरोकिने चेतावनी दिएका छन् ।

भक्तपुरका यातायात व्यवसायीमा समयानुसार गुण, सेवा र व्यवहारमा सकारात्मक परिवर्तन नआए साझा बस विकल्प हुने निश्चित भएको चेतावनी नेताले दिएका हुन् ।

भक्तपुर मिनिबस सेवा समितिको शनिबार भएको २२ औं साधारणसभामा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुखले भने, ‘यहाँका बसको गति सुस्त हुँदा धेरै विद्यार्थी कलेज र विश्वविद्यालयमा समयमा पुग्न पाउँदैनन् । समयमा कलेज र विश्वविद्यालय नपुग्ने भएपछि घर फर्कन बाध्य छन् । यसले गर्दा धेरै विद्यार्थी परीक्षामा असफल भएका छन् ।’

नेताले यहाँका यातायात व्यवसायीका छोराछोरी चाहिं कलेज र विश्वविद्यालय नै जाँदैनन् कि भनी प्रश्नसमेत गरे ।

साधारणसभा उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पनि समयानुकूल चल्न नसक्ने यातायात सेवा समाप्त भएर जाने तर्क गरे ।

साझालाई भक्तपुर आउन रोक्न नसकिनेतर्फ संकेत गर्दै उनले भने, ‘साझा बस आउन नपर्ने गरी यहाँका व्यवसायीहरुले सेवा दिनैपर्छ ।’

भक्तपुर–काठमाडौं चल्ने ट्रलीबस समाप्त हुनुमा भक्तपुरका व्यवसायीसमेत दोषी भएको उनको भनाइ थियो ।

‘चालक तथा सहचालकले यात्रुलाई मर्यादित र आदरसहितको व्यवहार गर्नुपर्छ’, अध्यक्ष बिजुक्छेले भने, ‘नजाने सिकाउनुपर्छ । पैसा तिरेर यात्रा गर्ने यात्रुलाई हप्कीदप्की गर्नु राम्रो व्यवहार होइन् ।’

उनले यातायातमात्र नभई देशको सम्पूर्ण क्षेत्र भताभुंग हुँदा पनि सरकारको ध्यान नगएको गुनासो गरे ।

कार्यक्रममा यातायात व्यवसायी संघसंस्थाका छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार एवम् पूर्वअध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले पनि परिवर्तनलाई स्वीकार गरेर सोहीअनुसार सेवासुविधा नदिए कुनै पनि व्यवसायीहरु टिक्न नसक्ने जिकिर गरे ।

‘भक्तपुरमा साझा बस आउनु नयाँ कुरा होइन । हिजो पनि आएकै थियो तर चल्न सकेन’, पूर्वअध्यक्ष कर्माचार्यले भने, ‘मुख्य कुरा भक्तपुरका व्यवसायीले पनि यात्रुको आवश्यकता र चाहनाअनुसार आफ्नो सेवामा गुणस्तर ल्याउनुपर्छ ।’

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का सांसद रामेश्वरप्रसाद ढुंगेल, नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष रमेश थापा, राप्रपाका जिल्ला अध्यक्ष रामशरण लामिछाने, कांग्रेसका जिल्ला सदस्य रवीन्द्र प्रधान, नेकपा मालेका मनोज थापालगायतले भक्तपुरका यात्रु समयमै गन्तव्यमा नपुग्ने अवस्थामा साझा आउँदा जिल्लालाई फाइदै हुने धारणा राखे ।

भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जन, कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासु, काभ्रे मिनिबस व्यवसायी संघका सूरकृष्ण वैद्य, अरनिको यातायातका उपाध्यक्ष श्याम लामालगायतले भने साझा बस सञ्चालन गरिए आफ्ना सदस्य व्यवसायी विस्थापित हुने बताए ।

उनीहरुका अनुसार काठमाडौंको कोटेश्वर पूर्व १० वटा यातायात सेवाका दैनिक तीन हजारभन्दा बढी गाडी सञ्चालन भइरहेको छन् । पछिल्लो समय बीपी राजमार्ग सञ्चालनमा आएपछि दैनिक पाँच सय गाडी थपिँदा भक्तपुर–काठमाडौं सडकमा जाम बढेको उनीहरुको भनाइ थियो ।
साझा बस पनि थपिँदा झन् सडक जाम बढ्ने भन्दै कोटेश्वर पूर्वका बस तथा यातायात व्यवसायीले आफूहरुसँग समन्वय नगरी साझा आए चल्न नदिनेतर्फ संकेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.