महाअभियोग अघि बढिसक्यो, अब यो रोकिँदैन र ढिलाइ पनि हुँदैन : सभामुख
काठमाडौं : सभामुख ओनसरी घर्तीमगरले अख्तियार प्रमुख लोकमानविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियामा गइसकेकोले अब एउटा निश्कर्ष पुग्ने बताएकी छिन् ।
ओनसरीले आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग भनिन्, 'अब प्रक्रिया अघि बढिसकेको छ। यो रोकिदैन र ढिलाइ पनि हुँदैन। यो छिटै एउटा निश्कर्षमा टुंगिन्छ ।'
ओनसरीका अनुसार मंगलबारदेखि महाअभियोगमा प्रस्तावमा छलफल सुरु हुनेछ। उनले भनिन् , 'छलफलमा कति सदस्यहरुले भाग लिनुहुन्छ, त्यो आधारमा प्रक्रिया लम्बिने वा छोटिने हुन्छ । छलफलपछि समितमा आरोपितले पनि आफ्ना भनाइ राख्न पाउनुहुनेछ। त्यसपछि मात्र हामी एउटा निश्कर्षमा पुग्छौं।
महाअभियोग प्रस्ताव आइतबार संसद्मा पेस भइसकेको छ। सभामुख ओनसरीले दलहरुले आपसी समन्वय र सहमतिमा यो प्रक्रियालाई छरितो र सहज बनाउने विश्वास उनले व्यक्त गरिन् । उनले भनिन्, 'अब प्रकियामा ढिलाइ हुँदैन। दलहरुबीच सहमित आवश्यक छ।प्रकियालाई धेरै लम्बाउनु हुँदैन।'