‘मंगलबारसम्म ‘म’ नमरे महाअभियोग प्रस्तावअघि बढ्छ’
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका प्रस्तावक माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले आफू मंगलबारसम्म नमरे महाअभियोग प्रस्ताव अघि बढ्ने बताएका छन्।
निलम्बित अख्तियार प्रमुख कार्कीको तर्फबाट आफूलाई मार्ने धम्की आएको उल्लेख गर्दै सांसद् शाहीले भने, ‘मार्ने धम्की पनि आएका छन् । तर म नमरे मंगलबार यो प्रस्ताव अघि बढ्छ ।’
यद्यपी सांसद शाहीले कसैको धम्की र दबावमा प्रस्ताव नरोकिने बताए । संसद् सचिवालयमा आइतबार पत्रकारसंग कुरा गर्दै शाहीले भने,‘परिवर्तनका पक्षमा उभिएका नेतालाई केन्द्रित गरेर गतिविधि गर्ने सूचना पाएपछि हल्ला नगरी प्रस्ताव पेश गरेका हौं । यसलाई कसैले पनि रोक्न सक्दैन ।’
अख्तियार प्रमुख कार्कीका तर्फबाट मार्नेसम्मको धम्की आएको उल्लेख गर्दै सांसद् शाहीले भने, ‘शीर्ष नेता र अन्य नेताविरुद्ध कदम चाल्ने तयारी देखेपछि सर्वोच्चको निर्णयलाई नकुरी प्रस्ताव दर्ता गरेका हौँ ।’
‘राजनीतिक पार्टीको संस्थागत निर्णयतर्फ लागेको भए यो प्रस्ताव गेटमै रोकिन्थ्यो,’ सांसद शाहीले भने,‘कांग्रेसका साथीहरुले केही दिन पर्खिन भनेपछि एमाले र हामी मिलेर यो प्रस्ताव दर्ता गरेका हौं ।’
शाहीले भने, ‘लोकमानका एक दुई साथीले फोन गरेर समेत ‘सेफ ल्याण्डिङ’ खोजिदिनु पर्यो भनेका छन, तर त्यो हुदैन ।’
लोकमानले कुनै कदम अगाडि बढाउछन् भन्ने थाहा पाएर महाअभियोग तत्काल अगाडि बढाइएको शाहीको भनाइ छ । ‘नेताले महाभियोग लगाउँछन, त्यसैले जति सक्दो चाँडो नेतालाई सिद्धयानुपर्छ भन्ने योजनामा लोकमान थिए । प्रतिगमनतिर मुलुक जान्छ कि भन्ने डर लाग्यो,’ उनले भने, ‘पार्टी भित्रैका साथीहरु सबैको सहमतिमा लागेको भए दुई चार महिना लाग्थ्यो, त्यसो गर्नतिर लागेको भए यो प्रस्ताव दर्ता हुन सक्दैनथ्यो ।