‘सेटिङ मिलाएर लोकमानले अकुत सम्पति कमाए’
दमौलीः नेकपा एमालेका सचिव योगेश भट्टराईले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले सेटिङ मिलाएर अकुत सम्पत्ति कमाएको आरोप लगाएका छन् ।
एमाले व्यास नगर कमीटीले सोमबार दमौलीमा आयोजना गरेको शुभकामना कार्यक्रममा उनले अरु सबैको सम्पत्ति छानविन हुँदा लोकमानको सम्पत्ति पनि छानविन गर्नुपर्ने बताए ।
‘उनले केही किरा फट्यांग्रा समाते जस्तो गरेर अरुबाट सेटिङ मिलाएर कमाएका छन्,’ भट्टराईले भने,‘उनको सम्पत्ति पनि छानविन हुनुपर्छ ।’
एमाले सचिव भट्टराईले द्वन्द्व बढाउनुको साटो राजीनामा दिएर द्वन्द्व त्याग्न पनि सुझाव दिए ।
आफुलाई कानुनभन्दा माथि राखेर कार्कीले दलका नेतालाई बद्नाम गरेर देशलाई संकटतिर लैजान थाले पछि बाध्य भएर आफुहरु लोकमानसिंह कार्कीबिरुद्ध महाभियोग दर्ता गर्ने अवस्थामा पुगेको पनि उनले बताए ।
भट्टराईले कार्कीका बारेमा प्रष्ट भएर प्रस्तावमा समर्थन गर्न आग्रह गर्दै कांग्रेसलाई भने,‘लोकमानको सति गएरु वैतरणी तरिन्न ।’