पुमाको आधिकारिक शोरुम नेपालमा
काठमाडौः नेपालमा पुमाको नयाँ शोरुम सञ्चालनमा आएको छ । खेलकुदका पहिरनसम्बन्धी विश्व स्तरीय अत्यधिक लोकप्रिय ब्रान्ड पुमाले नेपालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । नयाँ शोरुमको उद्घाटन बलिउड अभिनेत्री नेहा धुपियाले गरेकी छिन् ।
बलिउड अभिनेत्री धुपियाले आफ्ना सयौं फ्यानकामाझ उक्त शोरुमको उद्घाटन गरेकी हुन् । पुमा विश्वस्तरीय स्पोर्टस् ब्रान्ड हो जसले खेलकुदका सामग्रीको विकास, डिजाइन, बिक्रीवितरण र बजारीकरणमा अग्रणी स्थान ओगट्दै आएको छ ।
बितेको ६५ वर्षदेखि पुमाले फुटबल, दौड, प्रशिक्षण र फिटनेस, गल्फलगायत खेल सामग्री एवं परिधानहरू उत्पादन गर्दै आएको छ । कम्पनीले विश्वका एक सय २० भन्दा बढी देशमा आफ्नो उत्पादन बिक्रीवितरण गर्दै आएको छ । जर्मनीमा प्रधान कार्यालय रहेको यस कम्पनीमा १० हजार भन्दा बढी कामदार कार्यरत छन् ।
नयाँ शोरुम उद्घाटनको अवसरमा पुमा इन्डियाका प्रबन्ध निर्देशक अभिषेक गाँगुलीले नेपालमा आफ्नो सेवा बिस्तार गर्न पाएकोमा अत्यन्त हर्षित भएको बताएका छन् । उनले कम्पनीको लागि यो एक महत्वपूर्ण बजार रहेको बताए ।