पाकिस्तानमा प्रहरी प्रशिक्षण केन्द्रमा आक्रमण, ६० जनाको मृत्यु
क्वेटाः पाकिस्तानको एक प्रहरी प्रशिक्षण केन्द्रमा भएको आक्रमणमा परी कम्तिमा ६० जनाको मृत्यु भएको छ। आक्रमणमा एक सय २५ जना घाइते भएका छन्।
बलूचिस्तान पान्तको क्वेटा शहरमा रहेको प्रहरी प्रशिक्षण केन्द्रमा आक्रमणकारीहरुले गएराति १० बजेतिर गरेको हमलामा परी कम्तिमा ६० जनाको मृत्यु भएको हो। मृतकको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
आक्रमणमा ज्यान गुमाउनेहरु प्रहरीको प्रशिक्षण लिइरहेका जवानहरु रहेको बताइएको छ। उक्त आक्रमणमा प्रशिक्षक तथा सुरक्षा अधिकारीले पनि ज्यान गुमाएका छन्।
प्रहरी प्रशिक्षण केन्द्रमा भएको आक्रमणपछि प्रहरीले गरेको जवाफी कारबाहीमा तीन जना आक्रमणकारी मारिएका छन्। आक्रमणकारीहरुले प्रहरी प्रशिक्षण केन्द्रमा प्रवेश गर्नु अघि नै अन्दाधुन्ध गोली प्रहार गरेका थिए।
यसअघि गत अगष्टमा क्वेटा शहरको एक अस्पताल र वकिलहरुमाथि भउको आक्रमणमा ८८ जनाको मृत्यु भएको थियो।