काठमाडाैंबाट नयाँदिल्ली पुग्नभन्दा नागढुंगा पुग्न ढिलो !

काठमाडाैंबाट नयाँदिल्ली पुग्नभन्दा नागढुंगा पुग्न ढिलो !

काठमाडौं: कलङ्कीदेखि नागढुङ्गा छिचोल्न कति समय खर्चनु पर्ला? त्यति सहज छैन, यसको जवाफ। हवाई मार्गबाट काठमाडौँदेखि नयाँदिल्ली पुग्नभन्दा बढी समय कलङ्कीदेखि नागढुङ्गासम्म पुग्न व्यतित गर्नुपर्छ दैनिक रुपमा अहिले।

'माननीय सभापतिज्यू, तपाईं घर जाँदा कुन बाटोबाट यात्रा गर्नुहुन्छ ? डिजी साहेब, सचिवज्यू, तपार्इं त्यो बाटोबाट यात्रा गर्नुहुन्न कि? यात्रा गरेर पनि देख्नुहुन्न? अथवा देखेर पनि नदेखेजस्तो गर्नुहन्छ?'

व्यवस्थापिका–संसद्, विकास समितिको मंगलबारको बैठकमा समितिका सभापति रवीन्द्र अधिकारी, सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तमाङलाई सांसद रामकुमार भट्टराईले सो प्रश्नको उत्तर चाहे।

तर उनीहरुले सहज रुपमा सांसद भट्टराईको प्रश्नको उत्तर दिएनन। मुसुक्क हाँसिदिएमात्र भयो उनीहरुले । कास्की निवासी सभापति अधिकारी प्रायः आफ्नो गृह जिल्ला जाँदा सोही मार्गबाट आवतजावत गर्छन्।

अहिले कलङ्कीदेखि नागढुङ्गा छिचोल्न कम्तीमा चार घन्टाको समय लाग्ने गर्दछ् । कलङ्की–नागढुङ्गा सडक विस्तार कार्य सुस्त रुपमा चलेका कारण घन्टौँ सवारीका साधन जाममा पर्ने गर्दछ। उसो त कलङ्की चोकमा सुरुङ मार्ग (अन्डरग्राउन्ड) निर्माण कार्य सुरु गर्न सडकलाई छेकबार लगाएपछि त सो मार्गबाट आवातजावत गर्नेले व्यहोर्नुपरेको सास्ती असाध्यै कष्टप्रद छ।

सांसद भट्टराईले प्रश्न गरे,'जेठा दाइको त भाङ्ग्राको गति अरु भाइको के गति ? राजधानी भित्रिने सडकको त यो गति छ, कहिले भत्काएर सकिन्छ र कहिले बनिसक्ला ? लौन यसको उत्तर कुन निकायसित होला ?'

रसुवागढी सडक, पोखरा बेनी जोमसोम कोरला सडक, अरनिको राजमार्ग, कर्णाली करिडोर, चैनपुर ताक्लाकोट सडक, हुलाकी राजमार्गलगायतका सडकको विद्यमान अवस्थाका बारेमा छलफल गर्न विकास समितिको बैठकको कार्यसूचीे तय गरिएको थियो।

बैठकमा सहभागी अधिकांश सांसदले राजधानीको जोड्ने नागढुङ्गा कलङ्की सडक विस्तार कार्य छिटो पूरा गर्न, राजधानीका अधिकांश सडकको अवस्था पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलो उडेर हिँडिनसक्नु अवस्था किनारा लगाउन सरकारको ध्यानाकर्षण गराएका थिए।

समितिका सदस्य मोहन बानियाँले सडक निर्माण तथा विस्तार कार्य सुरु गर्नुपूर्व यसको समयावधि तोकिनुपर्ने र निर्धारित समयसीमाभित्र पूरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने विचार व्यक्त गरे।

समितिका अर्का सदस्य प्रकाश शर्माले माटो काटेर बाटोको भुक्तानी दिने प्रवृत्तिलाई सडक विभागले रोक्न र सडकको गुणस्तरीयतामा ध्यान दिन सुझाव दिए। अर्का सदस्य जनार्दन ढकालले पासाङले राजमार्गमा जोडिएका दायाँ बायाँ जमिनको मुआब्जा दिन माग गर्दै बहुवर्षीय सडक ठेक्कापट्टासम्बन्धी नीतिलाई स्पष्ट गर्नु पर्ने बताए।

अर्का सदस्य रामअयोधीप्रसाद यादवले हुलाकी सडकअन्तर्गत पर्ने पुलको ठेक्कापट्टा लगाउन, यसको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।

बैठकमा समितिका सदस्यहरु गणेशसिंह ठकुन्ना, रञ्जना सरकार, चीनकाजी श्रेष्ठ, आङ्दवा शेर्पाले आफ्ना निर्वाचन क्षेत्रमा पर्ने सडकमा बजेटको अभाव रहेको गुनासो गरेका थिए।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले मन्त्रालयले टनेल सडक, एक्सप्रेक्स सडक, मृत्युविहीन सडक, सुविधा सम्पन्न सडक, रेल यातायातमा ध्यान दिएको जानकारी दिए।

सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्कीले विसं २०५० मा भएका इञ्जिनियर (प्राविधिक जनशक्ति)ले सडक निर्माणमा काम गर्नु परिरहेको गुनासो गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.