एउटै बिउबाट १७ थरी धान
नेपालगन्ज: बर्दियाको ४ सय बढी हेक्टरमा लगाइएका एकै थरी धानको बिउबाट १७ जातका धान उत्पादन भएको छ । राष्ट्रिय बिउविजन कम्पनीको सिफारिसमा बागेश्वरी एग्रो सिड प्रालिले सहुलियत दरमा बिक्री गरेको मनकामना–१ धानको बिउ रोपेको खेतमा १३ देखि १७ थरिका धान उत्पादन भएका हुन् ।
बर्दियाको पाताभार, राजापुर र गोलामा लगाएको धानमा खराबी देखिएको जिल्ला कृषि कार्यालय बर्दियाले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख पर्शुराम रावतले बागेश्वरी एग्रो सिड प्रालिले वितरण गरेको मनाकमना–१ धानको बिउमा १७ जातका धान भेटिएको बताए ।
उनले बागेश्वरी एग्रोले वितरण गरेको १२ मेट्रिकटन धानको बिउमा समस्या देखिएको बताए । उनले किसानले ब्यहोर्नुपरेको नोक्सानीका लागि बिउ उत्पादक कम्पनीले क्षतिपूर्ति दिनुपर्ने उनले बताए । 'धान उत्पादनमा भएको ह्रासको ५० प्रतिशत क्षतिपूर्ति धानको बिउ वितरण गर्ने संस्थाले ब्यहोर्नु पर्छ,' उनले भने ।
'राष्ट्रिय बिउविजन कम्पनीले आह्वान गरेको टेन्डरमा नेपागन्जस्थित बागेश्वरी एग्रो सिड प्रालिले बाँके र बर्दियाका लागि धानको बिउ सहुलियत दरमा वितरण गर्ने ठेक्का पाएको थियो । सोही ठेक्का बमोजिम बर्दियाको मध्यबर्ती बहुद्देश्यीय सहकारी संस्थाले २२० बोरा र हथिया बाबा कृषि सहकारी संस्थाले १८० बोरा मनकामना–१ धानको बिउ कृषकलाई बिक्री गरेका थिए । उक्त धानको बिउ प्रयोग गरेका पाताभारका ११०, राजापुर नगरपालिकाका १३१ र गोला गाविसका ७० गरी ३११ घरधुरी किसान मारमा परेका छन् ।
बागेश्वरी एग्रो सिडले बितरण गरेको मनकामना–१ लट नं. ७ को बिउमा मिसावट भइ उत्पादनमा कमि आएपछि त्यहाँका किसानले क्षतिपूर्तिको माग गरेका हुन् । उनीहरूले क्षतिपूर्तिका लागि जिल्ला कृषि विकास कार्यालयमा ज्ञापन पत्र बुझाई सकेका छन् ।
मनाकामना धानमा १३ देखि १७ थरिका धान फलेको गुनासो आएपछि राष्ट्रिय बिउ विजन कम्पनी, जिल्ला कृषि विकास कार्यालय र बागेश्वरी एग्रो सिडका संचालकसहितको टोली धानको निरीक्षण गरि फकेको बरिष्ठ कृषि विकास अधिकृत रावतले बताए ।
निरीक्षणपछि बागेश्वरी एग्रो सिडले आफ्नो कमजोरी स्वीकार गरि क्षतिपूर्ती दिने प्रतिवद्धता जनाएपनि अहिलेसम्म कुनै चासो नदेखाएको हथिया बाबा कृषि सहकारी संस्थाका ब्यवस्थापक मधुसुदन पण्डितले बताए ।
उनले प्रतिवद्धता जनाएर फर्केपछि बागेश्वरी एग्रो सिड प्रालिका संचालकले मोबाइल स्वीचअफ गरेको र सम्र्पकमा नभएको गुनासो गरेका छन् । उनले धानको बिउ बितरण गर्ने संस्था र राष्ट्रिय बिउ विजन कम्पनीको लापरवाहीका कारण कृषक मारमा परेको बताए । उनले एक विघा खेतमा १२–१३ बोरा धान फल्न समेत मुस्किल भएको बताए । 'चिउरा बनाउने राम्रो धानको रुपमा मनकामना धानलाई लिइन्छ, अघिल्ला बर्षमा ४०–४५ बोरा धान फल्थ्यो, अहिले त फलेको धानसमेत विक्रि नहुने भएको छ,' उनले भने ।
बागेश्वरी एग्रोले बितरण गरेको धानमा अनेक थरिका धान फलेपछि किसानले चाहेको मूल्य नपाउने भएका छन् । न्यूनतम स्तरभन्दा बढि खजहर भएकोले ब्यापारीले मूल्य नदिने र चिउराका लागि प्रयोग नहुने भएपछि त्यहाँका किसान चिन्तित बनेका छन् । 'एउटा धानमा धेरै थरिका धान मिसिएपछि ब्यापारीले के हिसावले मोल देलान्,' एक किसानले भने ।
बागेश्वरी एग्रो सिडले आफ्नो गल्ती स्वीकार गरेको राष्ट्रिय बिउ विजन कम्पनीका प्रमुख मेहन्दी हसन खाँले बताए । उनका अनुसार उक्त संस्थाले ग्रडिङ्ग गर्ने मेसिनको क्षमता कम भएको र रातको समयमा ग्रडिङ्ग गर्दा मजदुरले लापरबाही गरेका कारण लट नंं. ७ मा मिसावट भएको स्वीकार गरेको छ । 'रातको समयमा ग्रेडिङ्ग गर्ने क्रममा मजदुरले गल्ती गरेको भन्ने जवाफ बिउ उत्पादक संस्थाले दिएको छ,' खाँले भने ।
कुनै पाकेको छ, कुनै भरखर पसाउँदै छ, कुनै मसिनो धान छ भने कुनै जुंगा आएको धान छ,' धान खेतको प्रत्यक्ष अनुगमन गरेर फर्केका खाद्य अधिकार संजाल बर्दियाका संयोजक बिष्णु तिमिल्सिनाले भने । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले राष्ट्रिय बिउ विजन कम्पनी सरकारी कार्यालय भएकोले त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । उनले बिउ विजन कम्पनी र बितरक संस्था बिच भएको सहमति अनुसार क्षतिपूर्ती दिने दायित्व सम्बन्धित निकायको भएको बताए ।
'क्षतिपूर्ती दिने काम कानून बमोजिम नै हुन्छ,' ३६ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने ।
जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा भएको 'बिउ विजन गुणस्तरमा देखिएको समस्या समाधान र क्षतिपूर्तीका लागि सरोकारवाला निकायको भूमिका' विषयक कार्यक्रममा राष्ट्रिय बिउ विजन कम्पनी नेपालगन्जका प्रमुख मेहन्दी हसन खाँ, क्षेत्रीय बिउ विजन प्रयोगशालाका प्रमुख दिलिप सिंह, क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका बैज्ञानिक रामदास चौधरीले आ–आफ्नो कार्यालयले गर्ने कामको बारेमा जानकारी दिएका थिए ।
जिल्ला कृषि विकास कार्यालय बाँके र बर्दियाले आयोजना गरेको कार्यक्रमको समन्वय खाद्य अधिकार संजाल गरेको थियो भने सहयोग फियान नेपाल नेपालगन्जले गरेको थियो ।