बालविवाह मुद्दामा पक्राउ परेका तीन दाजुभाइ जेल चलान
खोटाङ: बालविवाह मुद्दामा पक्राउ परेका खोटाङका तीन दाजुभाइ कारागार चलान भएका छन्। अढाइ वर्षअघि भएको बालविवाहको मुद्दामा पक्राउ परेका जालपा–६ का ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई अदालतको आदेशमा कारागार चलान गरिएको हो।
उमेर नपुगेकी किशोरीसँग विवाह गरेको भन्दै भलाकाजी र विवाहमा सहयोग गरेकामा दाजु जापान र मदनविरुद्ध प्रहरीमा माइती पक्षबाट उजुरी परेको थियो। तीन दाजुभाइलाई गत साउन २५ गते जिल्ला अदालतले जनही पाँच/पाँच हजार जरिवाना र एक/एक महिना कैद सजाय तोकेको थियो।
अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरुलाई खोजी गरी बुधबार जालपाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए। पक्राउलगत्तै जिल्ला अदालतसमक्ष उपस्थित गराइएकामा अदालतकै आदेशमा बिहीबार कारागार चलान गरिएको हो।
सुरुमै पक्राउ परेका उनीहरु १०/१० हजार धरौटीमा रिहा भएका थिए। बकपत्रपछि अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरुलाई खोजेर पक्राउ गरिएको हो। रासस