विश्वलाई सन्देश दिने तिहार

विश्वलाई सन्देश दिने तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । मुख्य चाड बडादसैंको १५ दिनपछि सुरु हुने तिहार अर्थात् यमपञ्चक कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि सुरु हुन्छ । हिन्दु धर्मावलम्बीले यसलाई दीपावलीका रूपमा धूमधामसँग मनाउँछन् । तिहारमा सम्पत्तिकी देवी लक्ष्मीको पूजा गरिन्छ ।

नेपाल कृषि प्रधान देश भएकाले किसानले खेतमा वर्षभरि गरेको मेहनत अन्नरूपी सम्पत्तिका रूपमा घरमा भित्र्याउने समय हुनाले उसँग खुसी र उमंगको सीमा नहुने संस्कृतिविद् कुलप्रसाद पराजुली बताउँछन् । 'त्यही खुसीमा किसान भगवान्को कृपा ठानी कृतज्ञता प्रकट गर्न खासगरी धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने गर्दछ', उनी भन्छन्, 'लक्ष्मीको पूजा गर्नाले घरमा अन्न (सम्पत्ति) धेरै हुने जनविश्वास पनि छ । तिहार बत्तीको झिलिमिलीको पर्वसमेत हुने भएकाले यमपञ्चकका पाँच दिन र लक्ष्मी पूजाका दिन विशेष रूपमा घर, आँगन र चोक-चोकमा उज्यालो बनाइन्छ ।'

राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्राध्यापक डा. माधव भट्टराई नेपालीको दोस्रो महान् चाड तिहार विश्वलाई सन्देश दिने नेपालको एकमात्र चाड रहेको बताउँछन् । 'यो चाडमा के हुँदैन, प्रकृतिका सबै पक्षहरूको पूजा र मानसम्मान गर्ने तिहारमा यमराजदेखि देवीदेउतासम्म र पशुपंक्षीदेखि मानिससम्मको पूजा गरिन्छ', भट्टराई भन्छन्, 'सृष्टि सञ्चालन गर्न हरेक पक्षको सहयोग हुन्छ, पहाड नभए जीवजन्तु बाँच्न सक्दैनन्, नदी बग्दैन, जल वर्षा हुँदैन ।'

उनका अनुसार, मानिसमा डर भए समयमा र असल काम गर्ने भएकाले यमराजको डर चाहिन्छ, तिहारमा यमराजको पनि पूजा गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने यो पर्वमा काग, कुकुर, गाई, गोवद्र्धन (पहाड) र लक्ष्मी (देवी) समेतको पूजा गरिन्छ जुन संस्कृति विश्वमा कहीँ छैन ।

तिहारमा एकातिर दाजुभाइ-दिदीबहिनीबीच आत्मीयता र पवित्र स्नेह एवं सम्बन्धलाई पुष्टि गर्छ भने अर्कोतिर मानिस र पशुपंक्षीबीचको सम्बन्ध प्रगाढ रहेको प्रष्ट हुन्छ । भट्टराई थप्छन्, 'समाजमा सबै पक्षको बराबर अस्तित्व छ भन्ने मान्यतालाई तिहारमा गरिने पशुपंक्षीदेखि, यमराज हुँदै मानिससम्मको पूजाले पुष्टि गरेको छ । यो व्यापक र विशाल नेपाली संस्कृति विश्वलाई उदाहरणीय छ ।'

यमपञ्चका पाँच दिन यसरी मनाइन्छः

काग तिहार
यमपञ्चकको पहिलो दिन अर्थात् कात्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरिन्छ । सर्वभक्षी प्राणी एवं अत्यन्त चलाख पंक्षी मानिने कागले सबैलाई समान दृष्टि अर्थात् समदर्शी भावले हेर्छ र अन्नबालीमा लाग्ने कीरा, फट्यांग्राहरू खाइदिन्छ भन्ने अर्थमा पूजा गरिन्छ । यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइने यो पंक्षी यमराजको पनि प्रिय भक्त हो ।

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन अर्थात् चतुदर्शीका दिन मनाइने कुकुर तिहारलाई नरक चतुदर्शी पनि भनिन्छ । कागजस्तै कुकुरलाई पनि यमराजको दूतका रूपमा लिइन्छ । यसले घरको रेखदेख गर्ने, अपराधीहरू पत्ता लगाउने, अनुसन्धानमा सहयोग गर्ने र मानिसको आज्ञापालक र रक्षकका रूपमा काम गर्दै आएको छ । प्राकृतिक एवं दैवी विपत्तिमा पूर्वसूचना दिने कुकुर भैरवको वाहन हो ।

गाई तिहार (लक्ष्मी पूजा)

हिन्दु धर्मावलम्बीले सामाजिक संस्कार वा कुनै पनि धार्मिक काम गर्न गाईको गोबरले घर-आँगन लिपपोत गर्ने गर्छन्, गाईको गहुँत सबैतिर (घरभित्रका विभिन्न स्थान) छर्किने र चोखिन खाने पनि गर्छन् । लक्ष्मीकी प्रतिपूर्ति गाईलाई यमपञ्चकको तेस्रो दिन पुज्ने गरिन्छ । साँझ धनधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक लक्ष्मीको कात्तिक कृष्ण औंसीको यही रातमा घरआँगन सबै उज्यालो हुने गरी दियो र बत्ती बालेर घरमा भित्रिन लक्ष्मीलाई आह्वान गरिन्छ ।

दीपावलीको यो दिन तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालोतर्फ लगेर मानिसले सुख र सन्तोष प्राप्त गरेको अनुभूति गर्दछ । वर्षका चार महत्त्वपूर्ण रातमध्ये यो रातलाई सुखरात्रि पनि भनिन्छ । देवीको पूजापछि चेलीबेटीले घरघरमा पुगी भैलो खेलेर रमाइलो गर्दछन् ।

गोवद्र्धन पूजा (गोरु तिहार/हल तिहार)

यमपञ्चकको चौथो दिनलाई हल तिहार भनिन्छ । यो दिन गोरु र गोवद्र्धन (पहाड) को पूजा गरिन्छ । नेपालीले वर्षभरि अन्न उब्जाउन हलो तान्ने, पटा लगाउने, दाइँ गर्ने लगायतका काम गर्ने भएकाले गोरुको पूजा गरिन्छ ।

भाइ पूजा

तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल द्धितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएर वस्त्र एवं मिष्ठान्न भोजन गराउँछन् । दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई लाउने कपडा दिने र दक्षिणा दिएर ढोग्ने चलन छ । दाजु यमराजलाई विशेष मानसम्मान गर्दै यही दिन पूजा गरेको धार्मिक मान्यता छ ।

यस दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तोरीको तेल, मखमलीको माला, दुबो, कटुस आदिको प्रयोग गरी दिदीबहिनीले दाजुभाइको सुख-समृद्धि र आरोग्य एवं दीर्घायुको कामना गर्दछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.