राष्ट्रपति निर्वाचन र अमेरिकी सपना
बोस्टन (अमेरिका): सानो समुदाय भएका कारण परिचय खोज्दै भौंतारिनुपर्ने अवस्थाले अमेरिकामा नेपालीको जीवन सजिलो छैन । तैपनि काठमाडौं र सारा देशभरि अमेरिका आउन चाहने नेपालीको ताँती यतिखेर डीभी चिट्ठा भरिरहेको छ । गाउँसहर र बाँकी दुनियाँबारे थाहा पाएका अधिकांश नेपालीका लागि अमेरिका एकपटक पुग्नैपर्ने ठाउँ बनेको छ ।
संसारका अधिकांश पिछडिएका समाज जसरी नै नेपालीका लागि पनि सपनाको देश हो अमेरिका । अमेरिका आउन र जीवनका सम्भावना खोजी गर्न नेपाली हत्ते गर्छन् । डीभी भरेर होस् वा विद्यार्थीका रूपमा वा अन्य कुनै बहानाले– अमेरिका छिरेर यतै बसोबास गर्न चाहने नेपाली थुप्रै छन् । लाखौं रुपैयाँ खर्च गरी अवैध रूपमा दक्षिण अमेरिकाको बाटो अमेरिका छिरेर जीवन समृद्ध बनाउने सपना देख्ने पनि धेरै छन् । यसरी हत्ते गर्ने अधिकांशको एउटै चाहना छ- कुनै तरिकाले अमेरिका छिर्ने र आप्रवासी बनेर स्थायी बसोबास गर्ने !
आप्रवासीको देश भनेर चिनिने अमेरिकामा डेढ सातापछि हुने राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका लागि भोट तान्ने ठूलो जनसंख्या हो- आप्रवासी । २० करोड मतदाता भएको अमेरिकामा वैध र अवैध गरेर चार करोड ३० लाख आप्रवासी बसोबास गर्छन् जसमध्ये नेपालीको संख्या करिब पाँच लाख छ । यद्यपि यसपालिको निर्वाचनमा ७० हजार नेपाली मतदाता छन् । चुनावी अभियानका क्रममा र यसअघि पनि लिएका उदार आप्रवासी नीतिका कारण डेमोक्र्याटिककी हिलारी नेपाली मतदाताको रोजाइमा भएको न्युयोर्कमा बस्ने वकिल विनोद रोका बताउँछन् ।
एक अध्ययनअनुसार नेपालीमात्र होइन, ६० प्रतिशत मतदाताका लागि कसलाई भोट हाल्ने भनेर निर्धारण गर्ने मुद्दा हो- आप्रवासी नीति ।
हिलारीको आप्रवासी नीति स्पष्ट छ- उनी अमेरिकामा अवैध बसोबास गर्ने एक करोड १० लाख मानिसलाई अमेरिकी नागरिकता प्राप्त गर्ने बाटोमा ल्याउन चाहन्छिन् ।
स्थानीय अमेरिकीलाई आफ्नो चुनावी अभियानका क्रममा आकर्षित गर्न खोजेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका अभिव्यक्ति भने आप्रवासीबारे निकै कठोर छन् । उनी अमेरिका र मेक्सिकोबीच पर्खाल लगाउन चाहन्छन् भने मुस्लिमलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्छन् । यद्यपि उनका अभिव्यक्ति प्रतीकात्मक मात्र हुन् र पछिल्लो समयमा उनी आप्रवासीप्रति नरम बन्दै गएको विश्लेषकहरू बताउँछन् ।
आप्रवासीहरू मेहनती हुने धारणा राख्छिन् हिलारी । अमेरिकी सपनामा उनीहरू प्रतिबद्ध छन्, नेपाली आप्रवासीजस्तै । उनीहरूले अर्थतन्त्रलाई ठूलो योगदान पुर्याएका छन्, कर तिरेर । 'अध्यागमन सुधार आवश्यक छ तर उनीहरूलाई अमेरिकी नागरिक बनाउने गरी', हिलारी स्पष्ट छिन् ।
आफू राष्ट्रपति भएको सय दिनमा सबै अवैधलाई अमेरिकी नागरिकताको बाटोमा ल्याउने गरी आप्रवास सुधार गर्ने दृढता उनले देखाएकी छन् । आप्रवासीलाई निकाला गर्दा वा कुनै प्रकारको कारबाही गर्दा परिवारमा फाटो ल्याउने र भय उत्पन्न गराउने उनले पटकपटक भनिरहेकी छन् ।
एक करोड १० लाख अवैध आप्रवासीप्रति कठोर कदम चाल्ने हो भने उनीहरूबाट जन्मेका करिब ४० लाख अमेरिकी बालबालिका परिवारविहीन हुने उनले अक्टोबर १९ को अन्तिम राष्ट्रपतीय बहसका क्रममै भनेकी थिइन् ।
'हाम्रो देशमा बसोबास गरिरहेका कागजातविहीन मानिसहरूलाई म उनीहरूको देश फिर्ता पठाउन चाहन्न, म उनीहरूलाई नागरिकताको बाटोमा आएको हेर्न चाहन्छु, मैले गर्न चाहेको यही हो,' केहीअघि उनले एक अन्तर्वार्तामा भनेकी छन् ।
'हाम्रो देशमा बसोबास गरिरहेका कागजातविहीन मानिसहरूलाई म उनीहरूको देश फिर्ता पठाउन चाहन्न, म उनीहरूलाई नागरिकताको बाटोमा आएको हेर्न चाहन्छु, मैले गर्न चाहेको यही हो ।- हिलारी क्लिन्टन, डेमोक्र्याटिक उम्मेदवार
ट्रम्पका पछिल्ला अभिव्यक्ति पनि आप्रवासीबारे तुलनात्मक रूपमा नरम छन् । उनले कागजातविहीन बासिन्दालाई अमेरिकामा बस्न दिने बताउन थालेका छन् । 'सेनामा काम गर्छन् भने उनीहरूलाई बस्न दिनुपर्छ', उनी भन्छन् । तर पटकपटक बदलिरहने र आक्रामक भइरहने उनका अभिव्यक्तिसँग आप्रवासी डराएका छन् ।
दुई महिनाअघि एरिजोनाको फिनिक्समा उनले भनेका थिए, 'अवैध रूपमा बसेर वैध स्टाटस खोजिरहेकाका लागि एउटै बाटो छ, उनीहरूले फर्कनुपर्छ र नयाँ आप्रवासी प्रक्रियाअनुसार फेरि अमरिका आउनुपर्छ ।' यद्यपि त्यसको केही दिनमै अस्टिनमा उनले भने, 'हामी मानिसलाई सताउन चाहन्नौं, हामी यो देशको कानुन मान्छौं, हामीसँग राम्रा मान्छेहरू (आप्रवासी) छन् ।'
लामो समयदेखि बोस्टनमा बसोबास गर्ने लेखक तथा सामाजिक अभियन्ता शिवप्रकाश पछिल्लो समयमा ट्रम्पले आफ्नो भाषा परिवर्तन गरेको धारणा राख्छन् । 'सामूहिक डिपोटबाट क्रिमिनल रेकर्ड भएकालाई मात्र डिपोट गराउने भन्नेमा आइपुगेका छन् उनी', शिवप्रकाश भन्छन्, 'करोडभन्दा बढी अवैध आप्रवासीलाई अमेरिकाबाट फिर्ता पठाउँदा हुने 'साइड इफेक्ट' उनले सायद बुझेका छन् । त्यसका लागि खर्च पनि धेरै लाग्छ ।'
ट्रम्पको भाषणशैली र चुनावी प्रोपोगान्डा उग्र र उत्तेजक हुने जसले हिंसा र अशान्तिलाई उकासेको शिवप्रकाश बताउँछन् । ट्रम्पले श्वेत अमेरिकीहरूको आत्मामा गाडिएको भावनालाई सतहमा ल्याइदिएका कारण उनले हारे भने श्वेत कट्टरपन्थीले यसलाई उग्र रूप दिनसक्ने उनको धारणा छ ।
अमेरिकामा नेपाली समुदाय सानो छ जसले पनि चुनौती बढाएका छन् । कुनै बेला आप्रवासीप्रति अमेरिकी सरकार कठोर भइदियो भने नेपालीजस्तो सानो समुदायको यसको पहिलो सिकार हुने शिवप्रकाश बताउँछन् ।
बोस्टनस्थित इमर्सन कलेजका प्राध्यापक तथा राजनीतिक इतिहासका ज्ञाता माइकल वेइलर नेपालीजस्तो सानो समुदायका लागि अमेरिकामा परिचयको खोजी महत्त्वपूर्ण मुद्दा रहेको बताउँछन् । 'नेपालीलाई अहिले पनि भारतीय वा पाकिस्तानी भनेर हेर्ने गरिन्छ । उनीहरूको आफ्नै परिचय छैन,' वेइलर भन्छन्, 'अमेरिकामा आफ्नो परिचय निर्माण गर्नु नेपाली अमेरिकीको पहिलो आवश्यकता हो ।'
'अवैध रूपमा बसेर वैध स्टाटस खोजिरहेकाका लागि एउटै बाटो छ, उनीहरूले फर्कनुपर्छ र नयाँ आप्रवासी प्रक्रियाअनुसार फेरि अमरिका आउनुपर्छ ।- डोनाल्ड ट्रम्प रिपब्लिकन उम्मेदवार
परिचय अभावकै कारण अमेरिका आउन चाहने नेपाली वा अन्य कुनै आप्रवासीको सपनालाई भने कुनै असर नगर्ने वेइलर बताउँछन् ।
आप्रवाससम्बन्धी अध्यागमन बिल अमेरिकी सिनेटका दुवै पार्टीका सिनेटरद्वारा तयार भएर जुन २०१३ मा सिनेटले पारित गरेको थियो । रिपब्लिकन बहुमत रहेको कांग्रेसले भने यसलाई पारित गर्न अस्वीकार गर्यो । यो बिल पारित भएमा एक करोड १० लाख कागजातविहीन आप्रवासीले अस्थायी ग्रिनकार्ड पाउँछन् ।
बाराक ओबामाले सन् २०१२ मा अमेरिकामा बसोबास गरिरहेको कागजविहीन बालबालिकाले अमेरिकामा बस्न र काम गर्न पाउने योजना ल्याएका थिए । यही योजनाका कारण अमेरिकामा आफ्ना आमाबाबुसाथ आएका करिब ६ लाखले पढ्न, बस्न र काम गर्न पाएका छन् ।
अमेरिकामा बसोबास गर्ने नेपालीले हिलारी र डेमोक्र्याटको आप्रवासी नीतिका कारण उनलाई जिताउनुपर्ने वकिल विनोद रोका बताउँछन् । उनले यसबारे चिनेजानेमाझ अभियान पनि चलाइरहेका छन् । आफू राष्ट्रपति भएमा सुधारात्मक आप्रवाससम्बन्धी अध्यागमन बिललाई समर्थन गर्ने दृढताका कारण उनलाई भोट हाल्नुपर्ने उनको धारणा छ ।
अमेरिकी सर्वोच्च अदालतमा रिक्त रहेको एउटा न्यायाधीश हिलारीले जितेमा डेमोक्र्याट हुने जसले आप्रवासी नीति खुकुलो बन्ने रोका बताउँछन् । गत फेब्रुअरीमा एक चर्चित न्यायाधीश स्कालियाको निधन भएपछि रिक्त रहेको पदमा ओबामाले नयाँ न्यायाधीश ल्याउन चाहे पनि छोटो पदावधि बाँकी रहेको सरकारले महत्त्वपूर्ण पदमा नियुक्त गर्न नमिल्ने भन्दै विपक्षीहरूले रोकेका थिए ।
'चार डेमोक्र्याट र चार रिपब्लिकन रहेको सर्वोच्च अदालतमा नवौं न्यायाधीश डेमोक्र्याट आउनेबित्तिकै हिलारीले चाहेजसरी नीति बनाउन सजिलो हुन्छ', रोका भन्छन्, 'उनले ओबामाद्वारा मनोनीत मध्यमार्गी मेरिक गारलेन्डलाई मनोनीत गर्ने वचन दिएकी छन् ।'
अमेरिकाका ५० मध्ये करिब आधा राज्यमा रिपब्लिकन पार्टीकै सरकार छ । यी राज्यले कागजविहीन आप्रवासीलाई देश निष्कासन गर्ने खालका कानुन बनाइरहेको रोका बताउँछन् । 'एरिजोना राज्यले बनाएको यस्तै कानुनलाई सर्वोच्च अदालतले अवैध घोषणा गरेको छ', रोका भन्छन्, 'पुरातनवादी न्यायाधीशहरूको बहुमत भएमा यो फैसला उल्टिन सक्छ र राज्य तहमा फेरि यस्तै कानुन बनाएर आप्रवासीउपर भेदभावपूर्ण व्यवहार गर्ने सम्भावना छ ।'
अमेरिकामा बसोबास गर्ने नेपाली अर्थशास्त्री सुरेन्द्र देवकोटा भने ट्रम्प वा हिलारी जसले जिते पनि नेपालीलाई खासै फरक नपर्ने धारणा राख्छन् । 'यी दुवैथरीले नेपाललाई माया गर्छन्,' उनको धारणा छ, 'बरु नेपाल सरकारले अमेरिकी सरकारको सहयोगमा व्यापार, पर्यटनजस्ता क्षेत्रमा काम गर्नुपर्छ ।' अमेरिका आउने नेपाली डीभी चिट्टा र विद्यार्थीका रूपमा दुई तरिकाले आउने उल्लेख गर्दै देवकोटा ट्रम्प वा क्लिन्टन जसको सरकार आए पनि यसमा फरक नपर्ने बताउँछन् ।
अमेरिकामा नेपाली आउन थालेको ४६ सालको परिवर्तनपछि भएको उल्लेख गर्दै देवकोटा सानो समुदाय भएका कारण अझै परिचय हासिल गरिनसकेको बताउँछन् । 'अमेरिकी समाजमा नेपालीले परिचय बनाउन समय लाग्छ, तर बिस्तारै अमेरिकाको नेपाली समाज व्यापक बन्दै भने गएको छ,' उनी भन्छन् ।
एक ठाउँबाट अर्को ठाउँ बसाइँ सर्नु मानवीय स्वभाव हो, ढुंगे युगदेखि नै । हाम्रा पितापुर्खा अवसर र सुविधा खोज्दै पहाडबाट तराई झरे । हाम्रो पुस्ता अवसर र सुविधा खोज्दै काठमाडौंजस्ता सहरतिर सर्यो । बिस्तारै अमेरिका, क्यानडा, बेलायत र युरोपतिर नेपाली बसाइँ सर्न थालेका छन्, अवसर र सुविधा खोज्दै । अमेरिकाजस्तो आप्रवासीको देशमा बिस्तारै अमेरिकी सपनाको हिस्सा बनेका छन् नेपाली पनि । राष्ट्रपति निर्वाचनजस्तो महत्त्वपूर्ण अवसरमा आप्रवासी हकहितका मुद्दामा चनाखो भएर भोट हाल्न नोभेम्बर ८ पर्खिरहेछन् ।