गुलियो र जंकफुडले बिगार्ला स्वास्थ्य !
काठमाडौः मिठाई र मिठाईजन्य परिकारले तिहारलाई झन् उत्सवमय बनाउने गर्छ । दिदीबहिनीले दाजुभाइलाई उपहार दिँदा, घरका पाहुना र देउसीभैलो खेल्नेको स्वागतमा यस्ता परिकार धेरै टक्रयाउने गरिन्छ ।
तर राम्रा र रंगीबिरंगी यस्ता मिठाईले मानव स्वास्थ्यमा भने गम्भीर असर पार्न थालेका छन् । यसप्रति बिरामी मात्र होइन, स्वस्थ ानिस पनि सतर्क रहनुपर्ने चिकित्सकले सुझाएका छन् ।
विशेषगरी मैदा र अत्यधिक दूध, चिनी, घिउ, तेललगायत प्रयोग गरी बनाइने रङयुक्त मिठाईले नेपालीको स्वास्थ्यमा ठूलो असर पार्न थालेको भन्दै तिहारका बेला यस्ता मिठाई खाँदा सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ ।
भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रका ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. निरज जोशीका अनुसार मिठाईका यस्ता परिकारमा धेरै चिल्लो पदार्थ, प्रोटिन र कार्बोहाइड्रेड पाइने र त्यो अत्यधिक खाँदा अनेक रोग निम्तिने गरेको छ । रङ, विभिन्न केमिकल मिसाएर तयार गरिएका यस्ता मिठाई शरीरमा विषका रूपमा परिणत हुन्छन् र दीर्घकालीन रूपमा विभिन्न समस्या निम्त्याउने गर्छन् ।
बजारमा पाइने अधिकांश रातो रङका मिठाईमा ‘फास्टरेड कार्मोइसिन’ नामक रसायन प्रयोग गरिन्छ । उक्त मिठाई खाँदा रगत झनै रातो बन्ने, हेलोग्लोबिनमा क्षति पुग्ने, रक्तअल्पतालगायत समस्या देखिन सक्छ । अधिकांश पहेंलो रङका मिठाईमा ‘सेन्सेटको एफसीएफ’ प्रयोग गरेर बिक्री गरिन्छ । त्यो पनि स्वास्थ्यका लागि हानिकारक छ । आवश्यक पर्नेभन्दा बढी चिल्लो खाए शरीरभित्रै जम्मा हुने र बोसोमा परिणत भई मोटो र कमजोर बनाउने गर्छ । त्यससँगै चिल्लो र रङयुक्त खाद्यपदार्थले ग्यास्ट्रिक, उच्च रक्तचाप, हृदयाघातजस्ता रोग निम्त्याउँछ ।
मैदा र अत्यधिक दूध, चिनी, घिउ, तेल प्रयोग गरी बनाइने रङयुक्त मिठाईले स्वास्थ्यमा ठूलो असर पार्न थालेको छ
चिनी शरीरका कोषमा गएर बस्ने र भिटामिन सी कम हुने गर्छ । रगतमा ग्लुकोजको मात्रा उच्च रहेको अवस्थामा ‘इन्सुलिन’ नामक हार्मोन बढ्छ । यसले ‘ग्रोथ हार्मोन’ को उत्पादनमा कमी ल्याउँछ र रोगविरुद्ध लड्ने शक्ति घट्छ । इन्सुलिनले शरीरमा बोसो भण्डार गर्न तथा ‘ट्राइग्लिस्राइड’ नामक बोसोको मात्रा बढाउँछ । बोसोले शिशुमा दाँत र मिर्गौलाको समस्या हुने, मानसिक एकाग्रतामा कमी आउने र बढी गुलियो खानेको हड्डी खिइने, टाउको दुख्ने र माइग्रेनसमेत निम्त्याउने गरेको चिकित्सक बताउँछन् ।
बजारबाट लगिने मिठाईमा सबैभन्दा बालबालिका आकर्षित भएको पाइन्छ । तर यस्ता मिठाईले बच्चालाई ठूलो असर गर्ने डा. जोशी बताउँछन् । तिहारका बेला जंकफुडमा भुल्ने धेरै छन् । अधिकांश पेयपदार्थको रङ एवं बाक्लोपनलाई सुरक्षित राख्न प्रयोग गरिने ब्रोभिनेटेड तेलले बाँझोपनको समस्या ल्याउने गर्छ । वीर अस्पतालका निर्देशक एवं ग्यास्ट्रोलोजिस्ट डा. भूपेन्द्रकुमार बस्नेतले मिठाईमा जथाभाबी विभिन्न रङ प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा यस्ता मिठाई बिक्रीमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।
उनका अनुसार रङयुक्त मिठाई, जंकफुडलगायत मिसावटयुक्त खाद्यपदार्थले बालबालिकामा अधिकांश रोग निम्तिन्छ । मिठाई या अन्य परिकार बनाउँदा गुणस्तरीय घिउ, तेल प्रयोग गर्नुपर्ने र मिसावट रहित खाद्यपदार्थ प्रयोग गर्नुपर्ने चिकित्सकको सल्लाह छ । पुरानो, सिल तोडिएको, नमिठो गन्ध आउने, म्याद गुज्रिएको घिउ स्वास्थ्यका लागि घातक हुने गर्छ ।
चिकित्सकहरू घरमै राम्रो घिउ, तेल र मैदाबाट बनाइएको मिठाई वा अन्य खाने कुरा पनि बिहान वा साँझको समयमा नखान सुझाव दिन्छन् । दिदिबहिनीले बन्द बट्टाका लालमोहनलगायत मिठाई पनि कोसेलीका रूपमा दाजुभाइलाई दिने चलन छ । तर, बन्द बट्टाका खानेकुरा विष खानुजस्तै भएको जनस्वास्थ्यविद् डा. अरुण उप्रेती बताउँछिन् । तिहारमा उपहारस्वरुप दिइने मसला र फलफूलमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।