पोहोरभन्दा राम्रो दसैं, तिहार पनि होला त्यस्तै
मन्दिरहरूमा दर्शनार्थीको ताँती । मेलाहरूमा घुइँचो । चोक र बजारमा आदिवासी सन्थाल र झाँगडको मनमोहक नृत्य । जताततै निधारमा रातो टीका, शिर र कानमा जमरा थापेका हसिला मुहारहरू । सडक र पुलमा ओहोरदोहोर गरिरहेका हूल ।
यसपालि दसैं मनाउन गृहनगर मोरङको रंगेली तथा आसपासका कटहरीको नयाँ बजार, कर्सिया सौरा भाग, सिसवनी जहदाको रामचोक र डाइनियाँ बजार पुग्दा यस्ता रमाइला दृश्यहरू देखेँ । आन्दोलन, बन्दी र नाकाबन्दी नभएकाले यस पटक मजाले विजया दशमी मनाएँ । मनग्यै गाडी चलेकाले ठाउँठाउँमा पुग्ने चिन्ता पनि थिएन । निर्वाध घुमेँ । सबैतिर रमझम देख्दा प्रफुल्ल थिएँ । हडताल र आन्दोलन नहुँदा दसैं निकै सुन्दर पो हुँदो रहेछ ।
यो पटक विद्यालयमा आन्तरिक परीक्षा र बिदा हुन नपाउँदै घटस्थापनाबाट नै वरिपरि दशमी बजार लागिसकेको थियो । कति बेला घुम्नलाई गाउँघर पुगुँ जस्तो भइसकेको थियो । बिना कुनै बाधा पठनपाठन अघि बढेको र जाँच पनि बेलामै भएकोले ढुक्क थिएँ । चाडबाडका लागि एक महिना बिदा दिनुअघि विद्यालयले चतुर्थीमा दसैं विशेष कार्यक्रमको आयोजना गर्यो जुन गत वर्ष हुन सकेको थिएन । यसमा हामीले नृत्य, गायन, कविता र वक्तृत्वकला प्रस्तुत गर्यौं ।
एक अर्कालाई शुभकामना दिँदै विद्यालय खुलेपछि भेट्ने भन्दै आ-आफ्नो घरतिर लाग्यौं । सबै तयारी गरेर अष्टमीमा घर रंगेली पुग्दा स्थानीय कालीमन्दिर, दुर्गा मन्दिर र संसारी माईथानमा खुट्टा राख्ने ठाउँ थिएन । जहाँ पुग्दा उही उल्लास देखेँ । मैंले धेरै वर्षसम्म राजधानीमा पनि दसैं मनाएँ । पोहोरको दशमी यतै बित्यो । तर अहिलको जस्तो कहिल्यै आनन्द महसुस भएको थिएन ।
तिहार पनि नजिकिँदै आएकाले दसैंमा जत्तिकै रमाइलो गर्ने सोच मैले बनाएको छु । जताततै झिलिमिली बत्ती, मिठाई आदिले गर्दा यसपालिको तिहार पनि उत्तिकै विशेष हुन्छ भन्ने मलाई लाग्छ ।
रिदम साह, कक्षा: ९/आदर्श माध्यामिक विद्यालय, विराटनगर