नागरिक लगानी कोषले ५ तले अत्याधुनिक भवन निर्माण गर्ने
अन्नपूर्णः नागरिक लगानी कोषले बानेश्वरको तरकारी बजारमा ५ तले अत्याधुनिक भवन निर्माण गर्ने भएको छ । कोषले उक्त भवन व्यावसायिक प्रयोजनका लागि निर्माण गर्ने तयारी गरेको हो । ६० करोडको लागतमा बन्ने सो भवनमा दुई तलाको अन्डरग्राउन्ड रहने कोषका प्रवक्ता सुनिलकुमार अर्यालले बताए ।
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि तरकारी बजार रहेको स्थानमा कोषले व्यावसायिक भवन बनाउन लागेको हो । ६ रोपनीमा फैलिएको उक्त जमिनमा कोषले ३ वर्षअघि नै भवन बनाउने योजना बनाएको थियो । ‘तरकारी बजार उठाउन नसक्दा भवन कार्य अघि बढ्न सकेको छैन,’ अर्यालले भने, ‘बजार उठाएर भवन निर्माणको तयारी गरेको हौ ।’
भवन निर्माण कार्य शुरु भएको २ वर्षमा सम्पन्न हुनेछ । उक्त भवन कोषको पहिलो व्यावसायिक भवन हुनेछ । भवन निर्माण भएपछि कोषले भवन कार्यालय प्रयोजनका लागि प्रयोग गरी बाँकी स्थान भाडामा लगाउने तयारी गरेको छ ।
भवन निर्माणका लागि कोषले ३ वर्षअघि नै नक्सा निर्माण गरिसकेको छ । त्यतिबेला ४५ करोड रुपैयाँको लागत अनुमान गरिएकामा यो अवधिमा निर्माण लागत बढेर ६० करोड पुगिसकेको छ । ६ लाखको सहभागिता रहेको नागरिक लगानी कोषमा असोजसम्म ८६ अर्ब रुपैयाँ जम्मा भएको छ । कोषले सहभागीबाट सञ्चित भएको रकमलाई लगानी गर्न उचित परियोजनाको खोजी गरिरहेको छ ।
हालैमात्र कोषले नेपाल वायु सेवा निगमलाई २५ अर्ब रुपैयाँ ऋण सापटी दिने भएको छ । वाइडवडि जहाज खरिद प्रयोजनका लागि नेपाल सरकारको जमानीमा कोषले निगमलाई उक्त रकम दिन लागेको हो ।
भवन निर्माणका लागि कोषले तीन वर्षअघि नै नक्सा निर्माण गरिसकेको थियो । त्यतिबेला ४५ करोड रुपैयाँको लागतमा अनुमान गरिएकामा यो अवधिमा निर्माण लागत बढेर ६० करोड पुगिसकेको छ ।
यस बाहेक कोषले माथिल्लो तामाकोशीमा २ अर्ब रुपैयाँ ऋण दिने सम्झौता गरेको छ । सो रकममध्ये ताकाकोशीले हालसम्म १ अर्ब ५८ करोड रुपैयाँ लगिसकेको प्रवक्ता अर्यालले जानकारी दिए ।
रकम थुप्रिदै गएपछि कोषले जलविद्युत्, पूर्वाधार निर्माणअन्तर्गत विमानस्थल निर्माण तथा फास्ट ट्रयाकलगायतका परियोजनामा लगानी गर्ने योजना बनाएको छ । हाल सहभागीबाट संकलित रकमलाई कोषले बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा, ऋणपत्र, डिवेञ्चर तथा सहभागीलाई सापटी दिइरहेको छ ।
यसअघि विभिन्न समयमा विभिन्न परियोजना लिएर व्यवसायीहरू कोष धाउने गरे पनि कोषले हालसम्म कुनै त्यस्तो उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाएको छैन ।
कोषले काठमाडौ केन्द्रित सेवालाई हाल विराटनगर र पोखरामा विस्तार गरेको र आगामी आवमा अन्य स्थानमा विस्तार गर्ने जनाएको छ । देशमा छरिएर रहेको पुँजीलाई बचत परिचालनको माध्यमबाट पुँजीबजारको विकासमा योगदान गर्ने उद्देश्यले वि.स. २०४७ सालमा कोष स्थापना भएको थियो ।
कोषले कर्मचारी बचत वृद्धि अवकास कोष, बिमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, पुँजीबजार सेवा, धितोपत्र निस्कासन तथा बिक्री प्रवन्धकलगायत सेवा दिँदै आएको छ ।