छिमेकी राष्ट्रको व्यवहार गर
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमण गर्ने पहिलो दिन कात्तिक १७ गते सरकारले सार्वजनिक बिदा दिने जुन निर्णय ग¥यो, त्यसको व्यापक विरोध भएको छ । वास्तवमा यो निकै अपरिपक्व निर्णय थियो । त्यसरी विदेशी राष्ट्र प्रमुख नेपालको राजकीय भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने चलन पञ्चायतकालीन परम्परा हो, जसलाई २०४६ सालपछि हटाइएको थियो । अहिले फेरि त्यही निर्णयलाई ब्यँुत्याउनु लजामर्दो छ ।
के हाम्रो देशको राष्ट्रपति भारत भ्रमणमा जाँदा भारतले त्यसरी एक दिन नै छुट्टी देला त ? अवश्य दिँदैन, त्यो सर्वविदितै छ । अनि भारतीय राष्ट्रपति आउँदा जसरी हाम्रा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री नै स्वयं विमानस्थलमा उपस्थित भए, के हाम्रा देशका राष्ट्रपति जाँदा त्यसरी आउलान् त ?
कहाँसम्म भने त्यहाँका जनतालाई समेत थाहा हुँदैन, यहाँका राष्ट्रपति त्यहाँ भ्रमणमा गए भने । त्यसरी जानुपर्ने कूटनीतिमा होला तर त्यस्तै हो भने यस्तो पक्षपात किन ? देश सानो हुँदैमा असमान कूटनीति त हुनुनपर्ने हो ।
यहाँका जनतालाई जसरी सार्वजनिक छुट्टी दिएरै सरकारले छिमेकी देशको राष्ट्रपतिलाई स्वागत ग¥यो र खुसी मनायो, त्यो खुसी भने जनतामा देखिएन । त्यो खुसी केवल नेतामा मात्र सीमित भयो ।
सामाजिक सञ्जालमा मानिसले भ्रमणको विरोध नै गरे । भारतले गरेको नाकाबन्दीको पीडा मनिसले अझ बिर्सन सकेका छैनन् । ट्विटरमा तीन इन्डियन प्रेसिडेन्टन्ट वेलकम भन्ने ट्रेन्ड नै चल्यो । नाकाबन्दीको झल्को दिने विभिन्न तस्बिर राखेर मानिसले उनको भ्रमणको विरोध गरे ।
‘भूकम्पको पीडापछि भारतले दिएको नाकाबन्दीको पीडा हामी कहिल्यै बिर्सन सक्दैनौँ’ एकजना ट्विटर प्रयोगकर्ताले ट्विट गरे । ‘हाम्रो नेताका लम्पसारवादी प्रवृत्तिको सबैले विरोध गयौँ’ अर्कोले लेखे ।
यसरी भारतीय राष्ट्रपतिको भ्रमणको चौतर्फी विरोध भएको छ । वास्तवमा छिमेकको राष्ट्रप्रमुख आउँदा जनतामाझ खुसी र उत्साह देखिनुपर्ने हो तर विडम्बना त्यस्तो हुन सकेन । हाम्रा नेता मात्र खुशसी देखिए ।
भारतलाई रिझाउन उनीहरू लागिपरिरहेका छन् । दुःखको कुरा त के भने उनी आउँदा काठमाडौँ सहर सुनसान देखिन्थ्यो । जनतामा रिस र आक्रोश मात्र देखिन्थ्यो । भूकम्पबाट पीडित जनताको टहरा ढाकेर भए पनि सहर सजाइएको थियो ।
भारतको हेपाहा प्रवृत्तिबारे सर्वविदितै छ । भारत नेपाललाई एक छिमेकी होइन, आफ्नो एक राज्य सोचेर व्यवहार गर्छ । यहाँ हुने हरेक साना–ठूला घटनामा भारत कुनै न कुनै रूपले संलग्न हुन्छ ।
यसको पछाडि हाम्रो नेताको कमजोरीको पनि ठूलो हात छ । हरेक ठूला निर्णय गर्दा उनीहरू भारतको मञ्जुरी कुर्ने गर्छन् । जसरी हुन्छ भारतलाई खुसी पार्न खोज्छन् ।
भारतीय राष्ट्रपतिको भ्रमणमा जसरी यहाँका राष्ट्रपति, प्रधानमन्त्री उनलाई लिन विमानस्थल नै पुगे, यसले त्यसको आभास दिलाउँछ । वास्तवमा त्यो आवश्यक नै थिएन । पक्कै पनि हाम्रो देश आकारमा सानो छ, तर यसको अर्थ यो होइन कि हाम्रो स्वाभिमानको औचित्य छैन ।
केही साताअगाडि मैले भारतको हेपाहा प्रवृत्तिको बारेमा लेख लेखेको थिएँ, जहाँ भारतले लगाएको नाकाबन्दी र नेपालको संविधानमा भारतले जनाएको असन्तुष्टिबारे प्रस्ट पारेका थिए । नयाँ संविधान जारी भएदेखि नै भारतले नेपालमाथि कुनै न कुनै किसिमले हस्तक्षेप गर्दै आएको छ । अत्यधिक बहुमतले पारित नयाँ संविधानलाई भारतबाहेक विश्वका अन्य देशले स्वागत गरे । लामो समयको संवैधानिक तरलतापछि अन्ततः नेपालले संविधान पाएको हो ।
नजिकको छिमेकीको नाताले त्यसलाई साथ र समर्थन दिनुको साटो अनेक बहानाबाजी गर्दै त्यसलाई स्विकार्न हिच्किच्यायो, जुन साह्रै दुर्भाग्यपूर्ण थियो । भारतले नेपाललाई अघोषित नाकाबन्दी नै लगाएको थियो । नाकाबन्दीले नेपालीले दुःख र पीडा खेप्नुपर्यो । इन्धन अभावले नेपालीले कष्टको सामना गर्नुपर्यो । केहीले त भोकभोकै दिन पनि बिताए । यात्रुहरूलाई बाटोमा यात्रा गर्न ठूलो हैरानी भयो । भारतले दिएको यो पीडा नेपाली जनताले कहिल्यै बिर्सने छैनन् ।
भारतले नेपाललाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा पूर्णतः परिवर्तन आउनैपर्छ । नेपाललाई एक राज्यसरि होइन, एक छिमेकीको व्यवहार गर्नुपर्छ ।
नेपालीले भारत र भारतीयमाथि हेर्ने दृष्टिकोण यो घटनापछि झन् नकारात्मक बन्दै गएको छ । दुई वर्षअघि भारतीय प्रधानमन्त्री नेपाल आएर यी भावनामा केही सुधार गर्न खोजेका थिए र नेपाल भारत सम्बन्धमा नयाँ आयाम थप्न खोजेका थिए, तर ती सब निरर्थक बने ।
पछिल्लो समय नेपाली जनतामाझ भारतविरोधी भावना झन्झन् बढ्दो छ । त्यसको बिम्ब भारतीय राष्ट्रपतिको भ्रमणमा सामाजिक सन्जालमा भएको विरोधले प्रस्ट हुन्छ । रोटीबेटीको सम्बन्ध भएका नेपालमा भारतविरोधी यस्तो भावना आउनु दुर्भाग्यपूर्ण हो र यसको जिम्मेवार पनि भारत नै हो ।
खबरमा आएअनुसार नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र त्यसमा पनि विशेष गरेर चीनसँगको सहकार्य उनीहरूको ‘पीडा’ को विषय बनेको छ । यसले भारतको सामरिक संवेदनशीलता प्रभावित हुने र भारत क्रमशः चीनको सामरिक घेराबन्दीमा पर्ने विश्लेषणले त्यहाँका सुरक्षाविज्ञहरूलाई अत्याएको छ । वास्तवमा जति नेपाल भारतबाट टाढा हुँदै जान्छ त्यति नै भारतलाई नोक्सान हुन्छ । पछिल्लो समय नरेन्द्र मोदीले नेपालप्रति लिएको नीति भारतकै लागि फाइदाजनक छैन ।
भारतले नेपाललाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा पूर्णतः परिवर्तन आउनैपर्छ । नेपाललाई एक राज्यसरि होइन, एक छिमेकीको व्यवहार गर्नुपर्छ । यहाँ भएको भारतविरोधी भावना मत्थर पार्न भारतले कोसिस गर्नुपर्छ । अनि मात्र छिमेकीको राष्ट्रप्रमुख आउँदा यहाँका जनता साँच्चै हर्षित हुन्छन् ।
यहाँका नेता पनि भारतलाई ठुल्दाइभन्दा पनि एक छिमेकीको हैसियतले व्यवहार गर्नुपर्छ । आफ्नो निर्णय आफैँ गर्न सक्ने हैसियत यहाँका नेताले राख्नुपर्छ । अनि मात्र अरू देशले हेप्न पाउँदैन । देश बलियो आकारले हुने होइन ।
जब नेताहरू सक्षम र सबल हुन्छन्, कसैले हेप्न पाउँदैनन् । आफ्नो लाचारी यहाँका नेताले आफैँ प्रस्तुत गरिरहेका छन् । एउटा सानो निर्णय गर्न पनि दिल्ली जाने चलन छ । भारतीय राजदूत यहाँ हरेक कुरामा हस्तक्षेप गर्न खोज्छन् । यहाँ त राजदूत पनि प्रधानमन्त्रीजस्तै बन्न खोज्छन् ।
इतिहासमा थुप्रै देशहरूको उपनिवेश हुँदा पनि हामीले युद्ध लडेर नेपाललाई अरूको कब्जामा पर्न दिएनौँ भने अहिले भारतको निरन्तर हस्तक्षेपको कुनै तुक छैन । देश सानो हुँदैमा त्यसको स्वाभिमान सानो हुँदैन ।
तर अहिले यहाँका नेताहरूले नै यो देशको स्वाभिमानलाई संकुचित बनाइदिएको छ । कहिलेकाहीँ त यस्तो लाग्छ यो देश देश होइन भारतको कुनै एक राज्य हो । यहाँका हरेक ठूला घटना दिल्लीबाटै निर्देशित हुने गर्छन् । यो कटु यथार्थ हो । हाम्रा नेतामा यहाँका निर्णय स्वयं गर्न सक्ने क्षमता हुनुपर्छ ।
यहाँका नेताले महसुस गर्नुपर्छ जसरी भारतीय राष्ट्रपति आउँदा यहाँ बिदा दिइयो र उनलाई लिन राष्ट्रप्रमुख र सरकार प्रमुख नै उपस्थित भए, के यहाँका राष्ट्रपति जाँदा भारतले सोही सम्मान देला त ?