छठः महिला सशक्तीकरणको पर्व

छठः महिला सशक्तीकरणको पर्व

छठ पर्वमा महिलाको महत्त्वपूर्ण भूमिका हुन्छ । यसमा महिलाहरू अग्र भूमिका खेल्ने भएकाले उनीहरूको नेतृत्वमै यो पर्व सदियौंदेखि सम्पन्न हुँदै आएको छ । शारीरिक र मानसिक रूपले स्वस्थ घरकी ज्येष्ठ महिलाको अग्रसारितामा सम्पूर्ण परिवार, पति र सन्तानका सुख, समृद्धि र सम्पन्ताका लागि छठ पर्व प्रत्येक वर्ष मनाइने परम्परा अद्यापि जीवन्त छ ।

घरका पुरुष वर्गले पूजाआजाका सबै सामानहरूको चाँजोपाँजो मिलाए पनि यसको सम्पूर्ण व्यवस्थापन महिलाले नै गर्ने गर्छिन् । महिलाको कडा निगरानी एवं निर्देशनमा मात्र पुरुष वर्गको सहभागिता यसमा देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने महिलाको महिमा एवं गरिमा सम्पूर्ण रूपमा सम्मानित हुन्छ यस पर्वमा ।

महिलामाथिको थिचोमिचो यसमा देखिँदैन । समाजमा महिलाको मानमर्यादालाई यसरी समाजमा स्वीकृत भएको पाइन्छ । महिलाको अग्रगण्य भूमिका समाजमा प्रचलित रहेको टड्कारो परिणाम यस पर्वबाट प्रमाणित हुन जान्छ । लगातार चार दिनसम्मको अनुष्ठान अनुकरणीय हुन्छ । महिलाहरूको त्याग, तपस्या र सहनशीलताको अनुपम उदाहरण यो पर्वबाट पुष्टि हुन जान्छ ।

विश्वको प्रायःजसो सबै संस्कृतिमा सूर्योपासना पद्धति प्रचलित पाइन्छ । यसको शैलीमा अवश्यमेव आ-आफ्नो संस्कृतिको छवि र छायाँ झल्किन्छ तर सूर्योपासनाको परम्परालाई प्रायः सबै संस्कृतिमा स्वीकार गरिएको पाइन्छ । हिन्दु संस्कृतिमा सूर्यलाई पूजनीयः सम्माननीय र आदरणीय देउताको रूपमा मानिने धेरै प्राचीन परम्परा जीवन्त छ । मुख्य रूपमा यस पर्वलाई नेपाल र भारतका केही भागहरूमा मनाइने भएकोले र यो क्षेत्र प्रायः हिन्दु धर्मावलम्बी भएकोले यस पर्वमा महिलाको भूमिका महत्त्वपूर्ण हुनु महिला सशक्तीकरणको एउटा दरिलो उदाहरण भन्न सकिन्छ । व्रतालु महिलालाई नमन गर्ने प्रथाबाट पनि यो कुरो स्पष्ट हुन जान्छ ।

'यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता' को वैदिककालमा उन्नति र उत्थान पूर्ण स्थान महिलाको रहेछ भन्ने कुरो पुष्टि हुन आउँछ । विशेषतः मिथिलाञ्चलका महिला घुम्टो प्रथामा बस्नको लागि अभ्यस्त र अभिशप्त हुन्छन् । उनीहरू अन्य बेलामा त्यति स्वतन्त्रताको अनुभव गर्दैनन् तर छठ पर्वको अवसरमा उनीहरू उपवास, गीत, संगीत, तथा नृत्यद्वारा आफ्नो गुनासा र गन्थन सूर्य देवलाई पोख्ने गर्दछन् ।

आराध्य देव सूर्य भएको हुनाले उनको समक्ष आफ्नो पीर मर्का पोख्नका लागि उनीहरू स्वतन्त्र हुन्छन् । घरदेखि घाटसम्म उनीहरू आफ्नो मनोनुकूलको गरगहना र साज शृंगार गरेर पूजाभावले भरिपूर्ण भएर सूर्यलाई अनुनय- विनय गर्दै आफ्नो अधिकार जनाउँछन् । यो व्रतभरिको अवधिमा यिनीहरू घुम्टो उघारेर स्वतन्त्रतापूर्वक सूर्य देवतासमक्ष आफ्नो भक्तिभावनाको अभिव्यक्ति गर्दछन् । पर्वको यो मौलिक विशेषता भएकोले महिला सशक्तीकरणको स्वर यहाँ टड्कारो रूपमा सुन्न सकिन्छ । सन्तानहीन महिलामा अवश्यमेव दीनहीन भावनायुक्त अन्तरवेदनाको अनुगुन्ज सुनिन्छ । तर अन्य महिलामा सशक्त स्वरमा महिला अधिकारको आवाज अभिव्यक्त भएको हुन्छ ।

अस्ताचलगामी सूर्यलाई छठ मैया भनेर महिलाको शक्तिलाई पूजा-आजा गरिन्छ । उषा दिनकरकी बहिनी हुनुहुन्छ । महिला पनि उत्तिकै सम्मानित, पूजित र समादृत स्थान राख्दछ, जति पुरुष । अस्ताउँदो सूर्यलाई विश्वको कुनै पनि मुलुकमा पूजाआजा गर्ने परम्परा छैन । तर सम्पूर्ण मिथिलाञ्चलमा अस्ताउँदो सूर्य अर्थात् उसकी बहिनी उषाको रूपमा पूजाआजा गर्ने सदियौं पुरानो परम्परा रहेछ । उषालाई छठी मैयाको रूपमा पुज्ने प्रथा मैथिल समाजमा भएकोले महिला सशक्तीकरणको टड्कारो उदाहरणको रूपमा यस पर्वलाई लिन सकिन्छ ।

प्राचीन ग्रन्थ ऋग्वेदमा सूर्योपासनाको महत्त्वलाई 'हे जाज्वल्यमान सूर्यदेव' भनेर सम्बोधन गरिएको छ । मत्स्य पुराणमा आरोग्य भास्करो दिच्छेत अर्थात् सूर्यबाट आरोग्यताको कामना गरिन्छ । यसैगरी पदम पुराणमा सूर्योपासना मात्रेण सर्वरोगता प्रभुत्येत अर्थात् सूर्यको उपासनाबाट सबै प्रकारको बिरामीबाट मुक्त होइन्छ ।

परम्पराः- सृष्टिको उषाकालदेखि छठ पर्व मनाउने परम्परा प्रारम्भ भएको मानिन्छ । मानव सभ्यता संस्कृतिको विकासको आरम्भकालदेखि नै मानिस सूर्य चन्द्र र पृथ्वीको पूजा गर्दै आएका छन् । त्यस्तै नदी, नाला र रूखबिरुवाको पनि पूजा-आजा गर्दै आएको प्रमाण भेटिन्छन् । हिन्दु धर्म र संस्कृतिमा ठूलो स्थान ओगटेको र सम्पूर्ण मिथिलाञ्चलका सर्व श्रेष्ठ चाडको रूपमा मनाइने छठ व्रत कार्तिक शुल्क पक्षको षष्ठी र सप्तमी तिथिमा बडो निष्ठा र श्रद्धाका साथ सम्पादित हुँदै आएको छ ।

सूर्यलाई पृथ्वीको सृष्टिकर्ता मानेर मानिसले पूजाआजा गर्दै प्रारम्भिककालमा आरम्भ गरेको परम्परा अद्यापि जीवन्त रहेको पाइन्छ । कार्तिक शुक्ल षष्ठी तिथिको सन्ध्याकालमा अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिँदै व्रतालु भक्तजनहरूले अर्को दिन सप्तमी तिथिमा सूर्यलाई आरती र अघ्र्य प्रदान गरेपछि छठ व्रतसम्बन्धी कथाको वाचन र श्रवण गरेर समापन गरिन्छ । समापनपछि इष्टमित्रहरू र परिवारजनको बीच प्रसाद, फलादी प्रदान गरेर व्रतालुहरू स्वयंले पनि खाने गर्दछन् ।

छठ व्रतलाई षष्ठीमाता वा छठीमाई वा छठ परमेश्वरीको व्रत भनेर पनि पूजा–आजा गर्ने प्रचलन मिथिलाञ्चलमा जीवितै छ । छठीमाई देव सेनापति स्कन्ध कुमारकी सहचरी तथा भगवान् शंकरकी पुत्रवधू थिइन् । उनलाई छठीमाईको रूपमा पूज्ने गरिन्छ । महासती हुनाले दुर्गे महादुर्गे नामले उनलाई सम्बोधन गरिन्छ । सतीको साक्षी भगवान् भाष्कर भएकोले यस चाडलाई सूर्य षष्ठी भनिन्छ ।

मिथिलाञ्चलमा धेरैजसो र अवधी तथा भोजपुरी क्षेत्रमा अहिले भारतको हरिद्वार तथा मुम्बईमा प्रचलित यस सूर्य व्रतको प्रतिपादन हजारौं वर्ष पूर्व महर्षि याज्ञवल्क्यले गर्नुभएको थियो । छठीमाई नै षष्टी देवी हुन् ।

प्रथम स्वयम्भू मनु महाराज जसलाई सृष्टिका आदिपुरुष पनि भनिन्छ उनको ज्येष्ठ पुत्र प्रियवर्त राजनले उपासना गरेर यसको सुरुवात गर्नुभो । उहाँले सात दिनसम्म लगातार सूर्योपासना गरेर राति सूर्योदय गराउनुभो ।

सूर्यको रथको चक्काबाट सात समुद्र निस्कियो जुन षष्ठी माईको प्रभाव थियो । यस्तो लोकविश्वास पाइन्छ । धर्मशास्त्रमा के पनि उल्लेख पाइन्छ भने आजभन्दा पाँच हजार वर्ष पूर्व कृष्ण-बलरामलाई छठीको राति सोह्र कहारले बोकेको पालकी चढेर छठी माई आशीर्वाद दिएर फर्केकी थिइन् । भविष्योत्तर पुराणको प्रकृति खण्डमा वर्षभरिकै छठी व्रतको विधि विधान उल्लेखित छ ।

 

वर्षभरिको विधि विधान सबैलाई सम्भव नभएको हुनाले वर्षमा दुई पटक कार्तिक शुल्क षष्ठी र चैत्र शल्क षष्ठी तिथिमा छठीव्रत सम्पन्न गर्ने गरिन्छ । त्रेतायुगमा सर्वप्रथम चक्रवर्ती सम्राट् दशरथकी महारानी कौशल्या छठीव्रत गरेर सन्तान वती भएकी थिइन् । महाभारत कालमा कुन्तीले यसव्रतको पूजा गरेर कर्णजस्तो दे दिण्यमान पुत्र पाउने सौभाग्य प्राप्त गरेकी थिइन् । अतः सन्तानोत्पति र असाध्य रोगबाट मुक्तिको लागि छठीव्रतको पूजाआजा गर्ने परम्परा अद्यावधि प्रचलित छ । चर्मरोगले ग्रस्त भक्तजनहरूले यस पूजाको अनुष्ठान गरेपछि रोगमुक्त भएका कतिपय उदाहरणहरू भेटिन्छन् ।

पूजन सामग्रीहरूः- छठ पर्वमा चाहिने पूजन सामग्रीहरूमा ६० किसिमको चीजबीजको विधिविधान निर्धारित गरिएको छ तर यो सबै अचेल सम्भव नभएकोले 'अभावेशाली चूर्णम'को विधि अपनाइन्छ अर्थात् सबै व्रतालुहरूले आफूले सकेसम्म जति सम्भव हुन्छ त्यत्तिनै सामग्रीहरूको सरजाम जोडेर पूजाआजा गर्ने गर्दछन् ।

पारिवारिक सुख, स्वास्थ्य र कल्याणको लागि गरिने छठ व्रतमा मुख्यतः गहुँ र गुडको मिश्रण गरेर तयार पारिएको ठेकुवा (खजुरिया) र चामलको पिठो र सक्खर मिलाएर पकाएको कसार (भुसवाको) बाहेक केरा, नरिवल, उँखु, कागती, भोगटे, सक्खरखण्ड, अदुवा, बेसार, पान, मखाना र मिष्ठान्न आदिको विविध प्रकारको प्रावधान गरिएको छ । मौसमी फलफूलहरू र वनस्पातिक वस्तुहरूको बाहुल्य पाइन्छ किनभने सम्पूर्ण मिथिलाञ्चल शतप्रतिशत कृषि प्रधान प्रदेश रहेको छ । यसमा धानजस्तो अन्न गमढीको मगमगाउँदो बास्नायुक्त खीर शुद्ध मानिन्छ ।

कोशिया कुरवार भनिने घैला र केरा जति महँगो भए पनि यसको व्यवस्था गरिन्छ । माटोको हात्ती सूर्यको रथको प्रतीकको रूपमा प्रयुक्त हुन्छ । कन्दमूल प्रधान यस पर्वमा बाँसद्वारा निर्मित 'सूप' मा सबै सामग्रीहरू सजाइन्छ । प्रत्येक सूपमा एक-एक दीप प्रज्वलित गरेर व्रतालुहरू नदी वा पोखरीमा घुँडासम्म पानीमा उभेर सूर्य देवतालाई अघ्र्य दिने शास्त्र अनुमोदित विधि विधान छ ।

सम्पूर्ण पूजा सामग्रीको बीचमा तीनवटा उखुको लग्गा बाँधी कोशिया भर्ने गरिन्छ । प्रत्येक कोशियामा एक-एक दीप बालिन्छ । कोशियाको संख्या भाकलअनुसार निधारित गरिएको हुन्छ । नाङ्लो नयाँ र ढकीको प्रयोग शुद्ध मानिन्छ । प्रसाद र पूजन सामग्रीले यो सुसज्जित हुन्छ । यी पूजा सामग्रीहरूलाई नयाँ कपडाले छोपेर त्यसमाथि दीप बालेर राखिन्छ । व्रतालुहरूले यसलाई शिरमा राखेर नृत्य गर्दै घरदेखि घाटसम्म जान्छन् ।

लोकतान्त्रिक चाड छठ

मिथिलाञ्चलमा गणतन्त्रको परम्परा प्राचीन रहेछ । राजर्षि जनकले नै सर्वप्रथम लोकतन्त्रको प्रारम्भ गरेको कुरो ऐतिहासिक सत्य सावित भइसकेको छ । त्यस समयदेखि लोकतन्त्र र प्रजातन्त्रको बीजारोपण भएको पाइन्छ । मानव सभ्यताको विकास भएको समयदेखि छठ चाडको शुभारम्भ भएको कुरो प्रमाणित भइसकेको छ । सूर्य साक्षात् देवता हुन् र यसलाई हामी आफ्नो आँखाले देख्दछौं ।

मानव जाति सृष्टिको उषाकालदेखि सूर्यलाई आराधना र अर्चना गर्दै आएको छ । सूर्यलाई लोकतन्त्रको पर्यायवाची मान्न सकिन्छ । सूर्यबिना कुनै पूर्वाग्रह पालेर सम्पूर्ण संसारलाई प्रज्वलित गर्दै आएको स्वयं प्रमाण प्रस्तुत गर्दछन् । यसले बिना कुनै भेदभाव सम्पूर्ण संसारमा आफ्नो प्रकाश फैलाउँदै आएको छ र भविष्यमा पनि फैलाउनेछ । यो निर्विवाद सत्य हो ।

व्रतालुहरू पनि अस्ताउँदो र उदाउँदो सूर्यलाई समानरूपमा पूजाआजा गर्ने गर्दछन् । सम्पूर्ण संसारमा यो एउटा अनौठो परम्परा मिथिलाञ्चलमा मात्र पाइन्छ कि अस्ताचलगामी र उदित अंशुमालीलाई समान रूपमा सम्मानित एवं पूजित गर्ने परम्परा जीवित छ । अंग्रेजी भाषामा एउटा उक्ति छ जुन यस पर्वमा अक्षरशः चरितार्थ हुन्छ–

Men adore the rising sun not the setting sun .

यस सन्दर्भमा के भनिन्छ भने मानिस उदाएको सूर्यलाई पूजा गर्दछ न कि अस्ताउने सूर्यलाई तर छठ पर्वमा अस्ताउने र उदाउने सूर्यलाई पूजा गर्ने चलन छ ।

सूर्य आफ्नो समदर्शी र समावेशी स्वभावले गर्दा सर्वत्र सधैं पूजित र सम्मानित हुँदै आएको छ । सूर्य स्वयं टड्कारो उदाहरण हुन सक्छ कि लोकतन्त्रमा सबैसित समान व्यवहार गर्ने गरिन्छ । लोकतन्त्रको प्रकृति र प्रवृत्ति सूर्यसँग मिल्दोजुल्दो छ ।

छठको प्रसादमा लोकतान्त्रिक झलक पाइन्छ । गमढी धानको प्रयोग प्रायः हुँदैन तर यस उपेक्षित र अपहेलित अन्नको खीर बनाएर व्रतालुहरू खाने गर्दछन् । यस अन्नलाई यथोचित स्थान यस पर्वमा मात्र दिइने परम्परा अद्यावधि जीवन्त छ । समाजमा वर्ण व्यवस्थाको बिगबिगी रहेको बेलादेखि आजसम्म 'डुम' जातिलाई समम्मान यस पर्वमा स्थान दिइने प्रचलन जीवित छ । यसले बनाएको सूप, नाङ्लो, छिट्टी, टोकरी र बास्केटको प्रयोगबिना यस पर्वको परिकल्पना पनि गर्न सकिँदैन ।

छठको घाटमा लोकतन्त्र जलाशयको अभावमा छठको कल्पना असम्भव हुन्छ । यस पर्वको जलसँग अभिन्न सम्बन्ध गाँसिएको छ । समाजको सबै वर्ग, जात जाति मिलेर पर्व मनाउने गर्दछ । घाटमा पुगेपछि जातपातको भेदभाव भंग हुन्छ । विभिन्न धर्मावलम्बीहरू समेत यस पर्वमा सहभागी हुन्छन् । सूर्योपासना प्रधान पर्व भएकोले यसमा कुनै जातजातिको प्रधानता हुँदैन । सबै समान रूपमा सहभागी हुने गर्दछ । एउटै जलाशयमा सबै व्रतालु र श्रद्धालु भक्तजनहरू मिलेर हर्षोल्लासका साथ मनाउने गर्दछन् । लोकतान्त्रिक पद्धतिअनुसार छठको घाटमा पूजाआजा गरिने भएकोले यहाँ भेदभावको पर्खाल भंग हुन्छ ।

नटुआ नाचः छठमा नटुआ नचाउने प्रथा छ । यस नाचमा पनि कुनै भेदभाव देखिँदैन । केटा नै केटीको भूमिका निर्वाह गर्दै नाच्ने गर्दछ । व्रतालुहरू विभिन्न भाकल गरेर पर्वलाई मनाउने गरेकोले लोकतान्त्रिक भावनाको पुष्टि हुन्छ ।
साधारणतः निम्न जातको केटो नै यस नाचमा भाग लिने गर्दछ तर यस चाडमा व्रतालुहरू यिनलाई आफ्नो आँचल पसारेर स्वागत सत्कार गरेर सम्मान गर्दछन् । यसलाई शुभ संकेतको रूपमा स्वीकार गरिन्छ ।

दूधको अघ्र्यः व्रतालुहरू जब सन्ध्याकालीन र प्रातःकालीन सूर्यलाई अघ्र्य प्रदान गर्ने गर्दछन् तब उनीहरूको अघ्र्य प्रदान गर्ने पातमा या भाँडामा जुन कुनै किसिमको जात–जातिले दूधको अघ्र्य प्रवाहित गर्न सक्छ । यसमा कुनै किसिमको जात–पातको भेदभाव गरिँदैन । यस प्रकार के भन्न सकिन्छ भने छठ पर्वमा लोकतत्रको छवि र छटा छायांकित भएको हुन्छ । यस चाडमा लोकतन्त्रको लालिमा छरिएको हुन्छ ।

छठ पर्वको उत्पत्ति

मैथिली संस्कृति नदी प्रधान संस्कृति भएकोले र छठ पर्व जलाशयसँग सम्बन्धित भएकोले यो संस्कृति अति प्राचीन त हुँदै हो तर जलायशको अभावमा यसको कल्पना गर्न सकिन्न । यो नेपाल र छिमेकी मुलुक भारतको प्राचीन धार्मिक पर्व हो । नेपालमा यो पर्व कोसी र सदानीरा गण्डकी नदीको बीचको भूभागमा मनाइन्छ । छठ पर्व मनाउने परम्पराको प्रारम्भ कहिलेदेखि भयो भनेर तथ्य पाइँदैन ।

यसको ऐतिहासिकतालाई पुष्टि गर्ने कुनै धर्मग्रन्थ प्राप्त भएको छैन । कुनै शिलालेख वा अभिलेख आजको अवधिसम्म प्राप्त हुन सकेको छैन । छठ पर्व र सूर्यपूजाबीच रहेको अभिन्न सम्बन्ध प्राचीनकालदेखि नै पाइन्छ । सूर्यपूजाको प्रचलन र सूर्यपूजाबारे प्राप्त विभिन्न अभिलेखहरू र मुद्राहरूबाट छठ पर्व पनि प्राचीन सांस्कृतिक पर्व हो भनी सहजै अनुमान गर्न सकिन्छ ।

(दिव्यासिंहः कोसी भरने की निराली परम्पराः हिन्दुस्तान दैनिक, १६ नोभेम्बर १९९५) छठ पर्व र सूर्योपासना बीचमा सदियौंदेखिको सम्बन्ध सूत्र गाँसिएको गाथा पाइन्छ । 'सूर्य शक्तिका महापञ्ज जिसके बिना सृष्टि कि परिकल्पना ही असम्भव । अनादिकाल से पृथ्वी के परिचालन में किसी अदृश्य सर्वशक्तिमान सताकी भूमिका पर विश्वास करनेवाले भिन्न–भिन्न सभ्यता–संस्कृति और विभिन्न मार्गाबलम्बी मनुष्यों ने इसी सूर्य के माहात्म्य को नमन किया है । विश्वकी प्रचीनतम सभ्यताओं द्वारा भी सूर्य अर्चना के दृष्टान्त मिले हैं तथा आधुनिक काल में भी दुनिया तथा भारत के कई हिस्सो में सूर्य पूजन प्रचलित है ।'

विशेषतः मिथिलाञ्चलका महिला घुम्टो प्रथामा बस्नको लागि अभ्यस्त र अभिशप्त हुन्छन् । उनीहरू अन्य बेलामा त्यति स्वतन्त्रताको अनुभव गर्दैनन् तर छठ पर्वको अवसरमा उनीहरू उपवास, गीत, संगीत, तथा नृत्यद्वारा आफ्नो गुनासा र गन्थन सूर्य देवलाई पोख्ने गर्दछन् ।

(सञ्जीव कुमारः लोक आस्थाका महापर्व 'छठ': नवभारत टाइम्स दैनिक) एउटा अर्को भारतीय विद्वानको मतमा अलि भिन्नता पाइन्छ जस्तो 'इतिहास के आरम्भिक दौर में छठ के अवसर पर छठी माँ की पूजा ही विशेष रूपसे की जाती थी । यह इस बात का संकेत है कि उस समय समाज मातृसत्तात्मक रहा होगा । इतिहास के लम्बे दौरमें छठ पर्वका मातृसत्तात्मक स्वरूप धीरे–धीरे छिजता गया और उसका पितृसत्तात्मक स्वरूप प्रकट होता गया । सायद इसका एक प्रमुख कारण सूर्य के प्रकाश के महत्त्वके सम्मुख मनुष्य के नत होने कि विवशता रही होगी । सूर्य केप्रति आदर और भय का यह भाव छठ पूजा के पर्व में सुरु से अन्त तक देखा जा सकता है लेकिन मातृसत्तात्मक से पितृसतात्मक समाज बनने कि प्रक्रिया में सूर्य कि केन्द्रीय सत्ता को सहज रूप में स्वीकार कर लिया गया और उसकी प्रचण्डता ने उसे पुरुष सत्ता के प्रतीक रूप में स्वीकार्य बनाया होगा ।'

(सविता सिहं: 'सूर्य पूजाका पर्व है छठ': कादम्बिनी नम्बरः २००६) नेपालको भूभागमा मनाइने छठ पर्वमा पुरानो सूर्योपासनाको सांस्कृतिक स्वरूप झल्किन्छ । यहाँका परम्परावादी धारणाका मानिसहरूको विचारमा सूर्य उनीहरूका प्रत्यक्ष देवता हुन र त्यसैले छठ पर्वको माध्यमबाट सूर्य पूजा गर्ने परम्परा चलेको हो ।

(विष्णु सापकोटा: नेपालको चाडपर्वमा छठ पर्व: पृ. ४९) अनुसन्धानकर्ता विष्णु सापकोटाको मतसित सहमति जनाउन सकिन्छ । 'यसरी छठ पर्वको उत्पत्ति पनि मानवको उत्पत्तिसँगै विकसित भएको हुन सक्छ । यस पर्वबारे विभिन्न पुराणहरू, लोककथाहरू, विभिन्न धार्मिक ग्रन्थहरू समय–समयमा प्रकाशित विभिन्न पुस्तक र धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।'

(विष्णु सापकोटाः नेपालको चाडपर्वमा छठ पर्वः पृ.५५) मध्यपूर्वको लेवनानको बाल नगर जसलाई सूर्यको नगर सिटी अफ द सन भनिन्छ र सूर्य भगवानप्रति श्रद्धा व्यक्त गर्नका लागि यसलाई हेलियोपोलिस पनि नाम दिएको छ । यस सहरको अवशेषमात्र बाँकी छ । अस्ताउने बेलामा दिइने अघ्र्यलाई छठी मैयाँको अघ्र्य भनिन्छ भने सूर्योदयको बेलामा दिइने अघ्र्यलाई सूर्यको अघ्र्य भनिन्छ । यसलाई दीनानाथ पनि सम्बोधन गरिन्छ । यस प्रकार छठी मैया र दीनानाथ दुइटैको पूजनको परम्परा मैथिल समाजमा प्रचलित छः–

'सात कोठलिया हो दीनानाथ । सातो मे केबाड
गोबर काढय गेली हो दीनानाथ । गइया के बथान
सासु ठुनकावे हो दीनानाथ । ननदी पढे गारी
तोरे अवगुने गे बाँझिन । नदियो जयतै सुखी ।

सन्तानहीन महिलाले छठ महोत्सवमा भाग लिन आवश्यक मानिन्छ । यस पर्वको सहभागिताबाट सन्तानोत्पत्तिको सम्भावना बढी हुन जान्छ भन्ने विश्वास छ । यही भाव निम्नलिखित छठ गीतमा व्यक्त भएको छः

'सब पवनैतिन हे छठी मइया । हँसते घर जाए
बाँझी अभागल हे छठी मइया । कनैते घर जाए ।
एक आँचर हे छठी मइया । उघिआइते घर जाए
बाँझिन आँचर हे छठी मइया । बान्हल घर जाए ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.