कथा-हिउँको मूर्ति
जाडोको मौसम थियो । राति हिउँ पर्यो । लगभग हिउँ रातभर नै पर्यो । बिहान हिउँ पर्न बन्द भयो । तर बगैंचामा भने हिउँ लपक्कै थियो । मितु र नितु बिहान उठ्नेबित्तिकै बगैंचामा हिउँ देखेर खुसी भए ।
दुवैले बगैंचामा भएको हिउँ जम्मा पारे । उनीहरूले हिउँको एउटा आकृति बनाए । त्यस आकृतिमा उनीहरूले टाउको बनाएर जोडे । हात बनाए । खुट्टा बनाए । मुख, कान बनाए । दुईवटा सानासाना काला ढुंगाका आँखा बनाइदिए । नाकको लागि पनि अलि लामो ढुंगा लगाइदिए । मूर्ति तयार भयो ।
मितुले आफूले लगाउने टोपी लगाइदिइन् । आहा ! 'हिउँको मूर्ति कति राम्रो भयो ।' अब मूर्तिलाई कमी थियो त एउटा गल्बन्दीको । नितु फेरि दगुर्दै घरभित्र गइन् र आफ्नो गलबन्दी ल्याएर हिउँको मूर्तिलाई लगाएदिइन् । 'लौ अब मूर्ति तयार भयो,' दुवैले ताली बजाए ।
अब दुवैजना हिउँको डल्ला बनाएर एकअर्कालाई हानाहान गर्न थाले । हिउँको मूर्ति भने उनीहरूको खेलमा रमाए जसरी ठिंग उभिएर उनीहरूलाई हेरिरहेको थियो ।
'ओहो ! कति मजा ! हुर्रे ।' दुवैको शरीरभरि हिउँ नै हिउँ भयो ।
त्यत्तिकैमा सानो बिरालो पनि उनीहरू भएको ठाउँमा आयो । बिरालोलाई पनि हिउँले हाने । बिरालोको शरीरमा हिउँ पर्नासाथ चिसो भए छ क्यारे 'म्याउँ म्याउँ...' गर्दै लुसुक्क घरभित्र छिर्यो ।
बिहानीका घाम लागे । घामको किरणले हिउँ अझ टल्किन थाल्यो । उनीहरू दुवै हिउँ हानाहानमै व्यस्त थिए ।
त्यत्तिकैमा आमाले 'नानी हो ! खाजा खान आओ,' भनी बोलाउनुभयो ।
दुवैले शरीरमा लगाएको हिउँ टक्टक्याए । अनि आफूले बनाएको मूर्ति राखेको ठाउँमा गए ।
'लौ, खोइ त हाम्रो मूर्ति ? ' यताउता हेर्न थाले । मूर्ति भेटिएन ।
'लौ न छिटो आओ' आमा उनीहरूलाई बोलाउँदै बाहिर निस्कनुभयो ।
उनीहरूले धुइँपताल केही खोजेको देखेर 'के खोजी रा'छौं ? ' आमाले सोध्नुभयो ।
'हामीले अघि भर्खरै बनाएको हिउँको मूर्ति ।' दुवैले एउटै स्वरमा भने ।
'ए ! त्यो त घामले पग्लिसक्यो होला । यी हेर त अरु ठाउँमा पनि हिउँ पग्लिसक्यो ।' भुइँतिर देखाउँदै आमाले भन्नुभयो ।
'हो त रहेछ ।' नितुले अघि आफूले आँखा र नाक बनाएको ढुंगा र गलबन्दी हातमा लिँदै भनिन् ।
'ल हिँड खाना खान' भन्दै आमा भित्र पस्नुभयो । आमाका पछिपछि एउटीले टोपी र अर्कीले गलबन्दी हातमा नचाउँदै भित्र पसे ।