महाभियोग प्रकरण र संविधान कार्यान्वयन

महाभियोग प्रकरण र संविधान कार्यान्वयन

मुलुकमा अहिले विशेषगरी दुइटा विषय निकै चर्चामा छन् । एउटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रकरण र अर्को संविधान संशोधन । नेपालका राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज जुन विषयमा केन्द्रित हुनुपर्ने थियो, त्यो देखिएन । संविधान संशोधनका विषयमा सबै दल संवेदनशील बनेको पनि देखिएन । नागरिक समाज र युवा समुदायले संविधान कार्यान्वयनको लागि दलहरूलाई दबाब दिनुपर्ने थियो । २०७४ माघ ७ सम्म मुलुकमा कुनै पनि हालतमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता हाम्रोसामु उभिएको छ ।

पंक्तिकार भर्खरै मात्र पश्चिम पहाडका तीन र तराईका दुई जिल्लाको भ्रमणपश्चात् काठमाडौं फर्केको हो । सबै जनताका मनमा एउटै त्रास र डर छ, कतै लोकमान प्रकरणका कारण संविधान संशोधन र संविधान कार्यान्वयनको मुद्दा ओझेलमा पर्ने त होइन ? यो संविधान असफल भयो भने फेरि हामीले अर्को लडाइँ त गर्नुपर्ने होइन ? स्पष्ट भन्नुपर्दा दुरदराजका जनता निराशामा छन् । ०६२/६३ को आन्दोलनका उपलब्धिहरू नगुमोस् भन्ने चिन्ता उनीहरूमा छ र सीमांकनको मुद्दा पनि पेचिलो बन्दै गएको मैले पाएँ ।

लोकमान प्रकरण

अहिले लोकमानसिंहको महाभियोगका पक्षमा चर्को आवाज उठाउने क्रान्तिकारीहरू लोकमानको नियुक्तिको समयमा कहाँ थिए ? जतिबेला लोकमानसिंहलाई नियुक्ति गरियो त्यतिबेला उनलाई कुनै पनि हालतमा अख्तियार प्रमुख बनाउन हुँदैन भनेर आवाज उठाउने व्यक्ति म मात्रै थिएँ । नेपाली कांग्रेसमा मात्रै होइन, नेपालको राजनीतिमै म एक्लो थिएँ, लोकमान नियुक्तिविरुद्ध उभिने । व्यावहारिक र कानुनी दुवै हैसियत गुमाएका व्यक्तिलाई अख्तियार जस्तो गरिमामय संस्थाको प्रमुख बनाउँदा जनआन्दोलन-२ को मर्म र भावनामा आँच आउँछ भनेर आफ्नै पार्टीभित्रका नेताहरूलाई हात जोडें, तर त्यसको कुनै सुनुवाइ भएन । तत्कालीन चार दलको सिफारिसमा मन्त्रिपरिषद्का अध्यक्षले कार्कीको नियुक्ति गरेर गलत नजिर बसाए । त्यही गलत नियुक्तिको परिणाम आज भोग्दै छौं ।

हिजो गलत निर्णय गरेर दलहरूले ठूलो गल्ती गरे, अहिले त्यो गल्ती सच्याउने समय आएको छ । कांग्रेस विधि र प्रक्रिया आत्मसात गर्ने पार्टी हो । न्यायालय जनताको आस्था र विश्वासको अन्तिम धरोहर हो । तर न्यायमूर्तिले नै फैसला हुनुअघि संवेदनशील विषयमा सार्वजनिक सञ्चारमाध्यममा गएर आफ्नो धारणा व्यक्त गर्दै हिँड्नुले के सन्देश जान्छ ? गत असोज १६ गते यूएनडीपीको आर्थिक सहयोग र सर्वोच्च अदालतको आयोजनामा 'महिलाविरुद्ध हिंसा र न्यायमा पहुँच' विषयक कार्यक्रम सम्पन्न भयो ।

राष्ट्रपति प्रमुख अतिथि रहनुभएको र सुरक्षा निकायका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको कार्यक्रममा प्रहरी प्रशासनको क्रियाकलापमाथि धज्जी उडाउने काम गरियो । अहिले सुन्नमा आएको छ, प्रहरी नियमावली नै परिवर्तन गरेर फागुनको पहिलो साता अवकाश हुन लागेका प्रहरी प्रमुखलाई पहिल्यै हटाउने तयारी गृह मन्त्रालयले गर्दैछ । यिनै तीन घटनाले राष्ट्र कता जाँदैछ भन्ने प्रस्ट पार्छ । देश अराजकतातर्फ अगाडि बढ्दै छ । न लोकमान अख्तियारका लागि हिजो योग्य थिए न त नियुक्तिपछि उनका क्रियाकलाप चितबुझ्दा नै भए । यो कुनै विवादको विषय भएन । आज आम जनमत लोकमानविरुद्ध छ । म्याद तामेलीमा कार्कीले अटेर गरेर सर्वोच्चसँग पौँठेजोरी खेल्न खोजे, जुन गलत कदम थियो ।

आशंकाको बादल

सत्ता साझेदार प्रमुख घटक कांग्रेसलाई थाहै नदिई एमाले र माओवादी केन्द्रले प्रस्ताव दर्ता गर्नु नै शंकास्पद छ । महाभियोगलाई कतै एमाले–माओवादी केन्द्रले हतियारको रूपमा प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न त आँटेका हैनन् ? मधेसवादी दलहरूले छठ पर्वअगाडि संविधान संशोधन प्रक्रिया अगाडि नबढाए आन्दोलनमा जान्छौं भनेर भनिसकेका छन् । कतै महाभियोगलाई अगाडि सारेर संविधान संशोधन प्रक्रिया अवरुद्ध पार्न खोजिएको त हैन ? २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गर्नैपर्ने संवैधानिक बाध्यता छ ।

तीनवटा निर्वाचन हुन सकेन भने माघ ७ पछि राष्ट्रको अस्तित्व नै संकटमा पर्छ । कतै महाभियोग प्रकरणलाई उचालेर कुनै अदृश्य शक्तिले राष्ट्रलाई संकटतर्फ धकेल्न खोजेको त हैन ? वर्तमान सरकार गठन हुँदा एक सहमति बनेको छ । उक्त सहमतिअनुसार अब बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् । कतै शेरबहादुरलाई प्रधानमन्त्री बन्नबाट रोक्न र कम्युनिस्ट एक हुन यो चालबाजी गरिएको त हैन ? जटिल र गम्भीर प्रश्न पनि हाम्रा अगाडि खडा भएका छन् ।

 

लोकमानलाई हटाउनु कुनै ठूलो कुरा होइन । उनको बहिर्गमन निश्चित भइसकेको छ । तर महाभियोग प्रकरणभित्रका रहस्यमयी पाटाहरूले कांग्रेसलाई निकै सोचमग्न र गम्भीर बनाएको छ । लोकमान व्यक्तिगत रूपमा ठीक नहोलान् तर अहिलेको महाभियोग प्रकरणलाई हल्का ढंगले लिन मिल्दैन । कांग्रेसलाई 'बूढी मरी भन्ने हैन, काल पल्कियो' भन्ने चिन्ता हो । एउटा व्यक्तिलाई देखाएर कतै संवैधानिक संस्थाहरूलाई कमजोर पार्न खोजिएको हो कि भन्ने आशंका पनि उब्जिएको छ ।

हामी संसदीय र संवैधानिक सर्वोच्चतालाई सम्मान गर्छौं तर संसदीय सर्वोच्चताको नाममा अख्तियार र सर्वोच्च अदालत जस्ता संवैधानिक निकायहरू कालान्तरसम्म राजनीतिक नेतृत्वको छाया बनेर बस्ने सम्भावना त आउँदैन ? लोकमानपछि कुनै न कुनै व्यक्ति अख्तियारको प्रमुख भएर त आउँछ । महाभियोग पछाडि नियुक्त भएर आउने व्यक्तिले राजनीतिक दलका नेता र कार्यकर्तालाई मुद्दा हाल्ने आँट गर्न सक्छ ? सक्दैन ।

हाल अख्तियारमा रहेका मुद्दाहरू कसरी अगाडि बढ्छन् ? कहीँ लाबारिस त हुने होइन ? यसो हो भने मुलुक अराजकतामा प्रवेश गर्छ । सम्मानित र गरिमामय संस्था अख्तियारको कुनै महत्त्व हुँदैन । सिंगो अख्तियार राजनीतिक दलको घेराबन्दीमा पर्छ । त्यसकारण एउटा व्यक्ति हटाउने नाममा संस्थाको गरिमामाथि नै आँच आउने र संस्था कमजोर बनाउने बाटोमा त हामी लागेका छैनौं ? हामीले सोच्न जरुरी छ ।

अबको बाटो

कांग्रेस लहडमा राजनीति गर्ने पार्टी होइन र लहडमा कुनै पनि निर्णय गर्दैन । सडकमा उत्ताउलोपना देखाउन कांग्रेसलाई आउँदैन । मुलुक जोगाउने, लोकतन्त्र बचाउने, संविधान कार्यान्वयन गर्ने, संवैधानिक निकायहरूको गरिमा जोगाउने, मुलुकमा देखिएका क्षेत्रीय समस्या समाधान गर्ने र मुलुकलाई समृद्धिको बाटोमा प्रवेश गराउने महत्त्वपूर्ण जिम्मेवारी कांग्रेसको काँधमा आएको छ । क्षणिक र सस्तो लोकप्रियता कमाउनेभन्दा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति हेरेर कांग्रेसले निर्णय गर्छ ।

पंक्तिकार यतिबेला महामानव बीपी कोइराला सम्झिरहेको छ । २०३६ सालमा जब जनमत संग्रहको परिणाम आयो, पञ्चायतले धाँधली गरेर बहुदललाई हरायो । यो परिणामलाई कुनै पनि हालतमा स्वीकार गर्नु हुँदैन भनेर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला एकै ठाउँमा उभिनुभयो । पार्टीका सारा युवा पनि जनमत संग्रहको परिणाम स्वीकार गर्नु हुँदैन भन्ने पक्षमा थिए ।

आजसम्मको अवस्था र परिवेश हेर्दा चैत महिनाभित्र स्थानीय तहको निर्वाचन सम्भव देखिन्न । गाउँपालिकाको मुद्दा निकै पेचिलो बन्दै गएको छ । स्थानीय निर्वाचन सम्भव छैन भने एक सय ६५ सदस्य कायम रहने गरी प्रतिनिधिसभाको निर्वाचन गर्नु उपयुक्त हुन्छ । यही नै अहिलेको दोस्रो विकल्प हो ।

बहुदलविरुद्ध मतदान गर्ने कम्युनिस्टहरू पनि जनमतसंग्रहको परिणामको विरुद्धमा थिए । जनमत संग्रहको परिणाम स्वीकार नगर्न बीपीलाई उनीहरूले पनि निकै दबाब दिए । तर बीपीले 'अहिले राष्ट्रको भविष्यको निम्ति जनमत संग्रहको परिणाम स्विकार्नुको विकल्प छैन, हामीले हारे पनि राष्ट्रले हार्नु हुँदैन र लहडमा आएर निर्णय गर्नु हुँदैन' भन्नुभयो ।

आज हामी समान परिस्थितिमा उभिएका छौं । एउटा व्यक्ति हटाउने नाममा सिंगो राष्ट्र, लोकतन्त्र र पार्टीलाई बन्धकी राख्न सक्दैनौं । लहडमा आएर एउटा व्यक्तिसँगै सिंगो पार्टी सती जान सक्दैन । सीमित व्यक्तिको कित्तामा उभिएर राष्ट्रको भविष्य अन्धकारतर्फ धकेल्न पनि सक्दैन । यो कुरा विशेषगरी कांग्रेसभित्रका युवाले बुझ्न जरुरी छ । कांग्रेस एउटा संस्था हो । यसको केन्द्रीय समिति र संसदीय दल अधिकारसम्पन्न निकाय हो । यस विषयमा सिंगो केन्द्रीय समिति र संसदीय दलको बृहत् छलफलपश्चात् जे निर्णय बाहिर आउँछ, त्यही कांग्रेसको आधिकारिक र औपचारिक धारणा हो ।

अब रह्यो संविधान संशोधनका कुरा । महाभियोगको प्रसंग चाहिनेभन्दा बढी उचालिएको कारण महत्त्वपूर्ण मुद्दाको रूपमा रहेको संविधानमा संशोधनको विषय ओझेलमा परेको छ । जतिसक्दो छिटो संविधानमा संशोधनको प्रक्रिया अगाडि बढाइनुपर्छ । २०७४ माघ ७ गतेभित्र हामीले तीनवटा निर्वाचन सम्पन्न गर्नैपर्छ । नत्र मुलुक संवैधानिक संकटमा प्रवेश गर्छ । आगामी चैतसम्म स्थानीय तहको निर्वाचनको कुरा आएको छ । गर्न सकिन्छ भने आवश्यक ऐन÷कानुन बनाएर त्यसैमा सबै राजनीतिक दल जुटौं ।

तोकिएको मितिभित्र तीनैवटा निर्वाचन सम्पन्न गर्न सकियो भने सबैभन्दा उत्तम हुन्छ । तर आजसम्मको अवस्था र परिवेश हेर्दा चैत महिनाभित्र स्थानीय तहको निर्वाचन सम्भव देखिन्न । गाउँपालिकाको मुद्दा निकै पेचिलो बन्दै गएको छ । स्थानीय निर्वाचन सम्भव छैन भने एक सय ६५ सदस्य कायम रहने गरी प्रतिनिधिसभाको निर्वाचन गर्नु उपयुक्त हुन्छ । यही नै अहिलेको दोस्रो विकल्प हो । कम्तीमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सकियो भने संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढ्छ र मुलुकमा अराजकता फैलाउने र संविधान कार्यान्वयन हुन नदिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू परास्त हुन्छन् ।

कुनै एक दलको हठले राष्ट्र अगाडि बढ्न सक्दैन । प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि हामीले संविधान कार्यान्वयनमा सँगसँगै अगाडि लिएर जानुपर्छ । संविधान जारी गर्ने समयमा मधेसी मोर्चालाई उपेक्षा गरिएकै कारण अहिले संविधान कार्यान्वयनमा जटिलता पैदा भएको छ । त्यतिबेला गरिएको गल्ती अब दोहोरिनु हुन्न र संविधान कार्यान्वयनमा एमालेलाई उपेक्षा नगरी वार्ता र सहमतिद्वारा सँगै अगाडि लैजानुपर्छ । एमालेलाई संविधान कार्यान्वयनको लागि सँगै लैजान सकिएन भने त्यो राष्ट्रकै निम्ति दुर्भाग्य हुन जान्छ । मुलुकको सबैभन्दा पुरानो र अहिले संसद्को सबैभन्दा ठूलो दल भएको नाताले कांग्रेसले राष्ट्रिय राजनीतिमा मियोको काम गर्नुपर्छ । झीना–मसिना कुरामा अल्झिएर समय खेर फाल्दा मूल मुद्दा ओझेलमा पर्ने र मुलुक दुर्घटनामा जान सक्ने खतरा रहेकाले यस विषयमा कांग्रेस नै बढी संवेदनशील बन्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.