गणतन्त्रका खाँटी खसम

गणतन्त्रका खाँटी खसम

सिंह जन्मिएको दुई वर्षसम्म गर्जिन सक्दैन । अर्थात् उसको आत्मबल र आत्मविश्वास जागृत भइसकेको हुँदैन । प्रजातन्त्रमा पाँच वर्षको लागि जनप्रतिनिधि निर्वाचन गर्ने परम्परा छ, तर राजनीतिक अस्थिरता भयो भने एकै वर्षमा तीनपटकसम्म सरकार परिवर्तन हुन सक्छ भन्ने उदाहरण नेपालमा विगत एक वर्षका घटनाक्रमले देखाइसकेको छ । जसरी दुई वर्ष उमेर नपुगेसम्म सिंह गर्जिंदैन, त्यसरी नै खुट्टा टेक्न नपाउँदै सत्ताच्युत हुने गरेकाले नेपालमा दलहरूको मुटु बलियो हुन पाउँदैन । यही कारणले दलहरू भिजेको बिरालो जस्तो बनेर विदेशीसमक्ष घुँडा टेकिरहेका छन् ।

अब प्रश्न उठ्छ, बितेका दस वर्षमा नेपालमा कुनै पनि शक्तिलाई प्रबल हुन नदिनेहरूसँग नै यहाँका प्रायः दलहरू किन आसक्त छन् ? विदेशीका तस्बिर र विचार त्याग्दै दलहरूले राष्ट्रवादको धरातलमा मूल नीति ल्याएर कार्यान्वयन गर्न किन सकिरहेका छैनन् ? किन जनतालाई विश्वास गरिरहेका छैनन् ? किन राष्ट्रले ढुक्कसँग पत्याउने राजनेता उदाएनन् ? यो नेपालीको दुर्भाग्य हो कि होइन ?

महाभारतमा पाण्डवको विशाल सेनालाई कसको नेतृत्वमा सुम्पिने भन्ने छलफलको प्रसंग आउँछ । कान्छा भाइ सहदेवलाई युधिष्ठिरले पहिले राय मागे । विराट् राजाको आश्रयमा गुप्तवास बसेकाले उनैलाई सेनापति बनाउनु उचित होला भन्ने राय दिए सहदेवले । पाञ्चाल नरेश द्रुपदलाई सेनापति बनाऔँ भन्ने नकुलको सुझाव आयो । बुद्धिमान, साहसी, कुलिन, अस्त्रविद्यामा पारंगत थिए द्रुपद ।

द्रौपदीका बाबु भएकाले पनि विश्वासयोग्य छन् भन्ने तर्क गरे नकुलले । धृष्टद्युम्न सेनापति बनून् भन्ने अर्जुनको आशय थियो । 'भीष्मको प्राण लिन जन्मेका शिखण्डीलाई सेनापति बनाऔँ दाजु' भन्दै भीमले सल्लाह दिए । अन्त्यमा श्रीकृष्णले अर्जुनलाई समर्थन गर्दै धृष्टद्युम्नलाई नै सेनापति बनाउनुपर्छ भन्ने तर्क गरे । आफ्नी बहिनी द्रौपदीलाई राजसभामा घोर अपमान गर्ने दुर्योधनको तेजोबध गर्न चाहन्थे उनी ।

त्यसैले उनको 'विचार' स्पष्ट थियो । उता कौरवका पक्षबाट युद्ध मैदानमा जान तयार भएका भीष्मले पाण्डुपुत्रको बध नगर्ने 'प्रण' गरेका थिए । त्यो भीष्मको 'बटमलाइन' थियो । धर्म होस् वा युद्ध, राजनीति होस् वा कूटनीति, विचार स्पष्ट भएन भने त्यो अभिनय मात्र हुन्छ । नेपाली राजनीतिमा आज त्यही भइरहेको छ ।

पतिको विकल्पमा स्वीकार गरिएको परपुरुषलाई भाषाविद्हरूले उपपति भन्ने गरेका छन् । त्यस्तालाई लुठो, लुकुवा पोइ, कुकर्मी पोई वा जार पनि भनिन्छ, (शब्दसागर) । समाजमा उपपति वा उपपत्नीको कुनै मर्यादा हुँदैन, तर राजनीति र कूटनीतिमा ती वास्तविक स्वामी (खसम) भन्दा पनि 'आदरणीय' हुने गरेका छन् । काठमाडौंको दक्षिण-पश्चिम (नैऋत्य) दिशामा पर्ने दिल्लीमा नेपालका नेताहरूसँग दिल गाँसिएका त्यस्ता व्यक्ति छन्, जो नेपाली गणतन्त्रका खाँटी खसम मानिन्छन् । नेपालमा हालै अघोषित कफ्र्यु लगाएर लक्ष्मीपूजा सकिनासाथ 'खसमपूजा' सम्पन्न भयो ।

५२१ सालमा आफ्नी आमा राज्यवतीको सम्झनामा लिच्छवी राजा मानदेवले चाँगुनारायण मन्दिर स्थापना गरे । नेपालमा मुद्रा चलाउने प्रथम राजा उनैलाई मानिन्छ । भारतीयहरूले आफ्नो मुद्रा र आफ्नै राजनीतिक पद्धति चलाएको त २००४ सालपछि मात्र हो । पाँच हजार वर्ष पुरानो लिखित इतिहास भएको देवभूमि नेपाल प्राचीन १७ वटा राष्ट्रमध्येको एक हो ।

 

हजारौँ वर्ष पुरानो इतिहास, परम्परा, संस्कृति र सभ्यता भएको स्वाधीन राष्ट्र नेपाल आज भारतीय र अरू यस्तै विदेशी शक्तिका ज्यामी-खेतालाहरूको इच्छामा चलेको छ । नक्कली, परावलम्बी र पराधीन पात्रहरूका हातमा शासनको बागडोर छ । राष्ट्रलाई सुदृढ, सम्पन्न बनाउने लक्ष्यबाट विमुख छन् उनीहरू । बागलुङतिर एउटा पुरानो लोकगीत छ, 'कुभिन्डोलाई खुट्टा लाइर कहिले पुग्छ ढोर मायालु ।' नेपालका दलहरू पनि चिप्लेकीराको गतिमा त्यसरी नै 'ढोरपाटन' पुग्न खोजेका छन् । बागलुङ बजारबाट बाँसका खुट्टा लगाएर हिँडेको कुभिन्डो ढोर पुग्छ र !

एउटा पुरानो कथन छ, 'उड्न सक्दैनौ भने दौड । दौडिन सक्दैनौ भने हिँड । हिँड्न पनि सक्दैनौ भने घस्रिँदै अगाडि बढ तर गतिहीन नबस ।' हाम्रा वैदिक ग्रन्थहरूमा त्यसैलाई 'चरैवेती चरैवेती' भनिएको छ । राष्ट्रलाई गतिहीन बनाउने राजनीतिक खेलाडीहरूले नेपाललाई अनिर्णयको बन्दी बनाएका छन् । एकदसक बित्न लाग्दा पनि गणतन्त्रको कालो दहमा फन्फनी घुमिरहेको छ राष्ट्र । बाह्रबुँदे मण्डपमा भएको सिन्दुरपोतेपछि दिल्लीमै गर्भधारण गरेर फर्किएका दलहरूले ६ वर्षपछि पेट निचोरेरै भए पनि एक थान संविधान जन्माए ।

संविधानसभारूपी प्रसूतिगृहमा विदेशी सुडेनीद्वारा अर्बौं रुपैयाँ खर्च गरियो । तर आज पनि राष्ट्र संक्रमणकालमै छ, किन ? किन पराधीन छन् दलहरू ? विदेशी खसम किन खुसी छैनन् ? उपपतिहरूबीच किन रिसराग बढेको छ ?

राजसंस्थालाई 'परास्त' गरेको घोषणा गरेर दलहरूले के जिते ? यदि उनीहरू सुदृढ भइदिएको भए विदेशीको हुकुमले राष्ट्र सञ्चालन गर्नुपर्ने अवस्था आउने थिएन । लैनचौरमा बस्ने सहसचिवस्तरको विदेशीले नेपाल हल्लाउने थिएन । तसर्थ राजदरबारको अधिकार विदेशी दरबारमा बुझाउनेहरूले केही 'जित्यौँ' भन्ने ठानेका छन् भने जनतालाई स्पष्टीकरण दिनुपर्छ ।

सानेपा, पेरिसडाँडा र धुम्बाराहीतिरका पार्टी कार्यालयदेखि विहार, युपीका एजेन्डा बोकेर हिँड्ने दलहरूमा ठूलो मात्रामा विदेशी घूसपैठ छ भन्ने विदेशीका हनुमानहरूका गतिविधिबाट सहजै अनुमान गर्न सकिन्छ ।

२०६३ सालपछि राष्ट्र झन् कमजोर भयो, किन ? गणतन्त्रका खाँटी खसम नै खुसी छैनन्, किन ? जनता खुसी छैन किन ? राष्ट्र लुटिरहेका सीमित व्यक्तिहरूबाहेक कोही खुसी छैनन् । जहाँ राष्ट्र नै हारिरहेको छ, त्यहाँ दलहरूले के जिते ? घर जलाएर खरानी बेचे झैँ राष्ट्रको एकता, अस्तित्व र स्वाभिमान बेचेर राजनीति गर्ने ? लाज हुनुपर्ने हो तर निर्लज्ज छन् दलका नायकहरू । राष्ट्रनायक कोही छैन, न त धृष्टद्युम्न जस्तो स्पष्ट विचार बोकेका कोही छन् । जो छन्, ती नाफाखोर मात्र छन् ।

त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक सुशीलराज पाण्डेले दिल्लीमा सात दलसँग माओवादी मिलाएर भारतले गराइदिएको सम्झौतालाई 'दोस्रो दिल्ली सम्झौता' भनेका छन्, (२०१६ नोभेम्बर ४, टेलिग्राफ नेपाल डटकम) । नेपाली कांग्रेस, एकीकृत माक्र्सवादी–लेनिनवादी (एमाले), सद्भावना पार्टी (आनन्दीदेवी), माओवादी, नेपाल मजदुर किसान पार्टी, संयुक्त वाममोर्चा र जनमोर्चालाई आफ्नो रोहबरमा हस्ताक्षर गराएर नेपाल पठाएको कुरा अल जजिरा टेलिभिजनमा प्रणव मुखर्जीले खुलस्त पारिसकेका छन् ।

पश्चिमाहरूको समेत सक्रियतामा त्यो कलाविहीन नाटक गरिएको थियो । ०६२÷६३ को आन्दोलन राष्ट्रनायकका रूपमा अघोषित रूपमा विदेशीलाई खसम मान्ने परम्पराको प्रस्थान विन्दु थियो । त्यसैले प्रा. पाण्डेले भने झैँ त्यो दोस्रो दिल्ली सम्झौता नै थियो । राष्ट्रलाई जर्जर बनाउने काम राजा वा जनताले होइन, दलका नेता तथा नेताका मोजाको सर्बत खान खोज्ने केही अन्धविश्वासी र स्वार्थी कार्यकर्ताले गरेका छन् ।

राष्ट्रिय एकता दिवस खारेज गर्नेहरूले 'मेरा पिया घर आया' भन्दै हालै सार्वजनिक बिदा दिएर प्रणवको आगमनमा परिणीता बनेर प्रणय दिवस मनाए । यो लज्जाको विषय हो ।

नेपालमा प्रतिबन्धित पुस्तकहरूसमेत ल्याएर गुप्तरूपमा बेच्ने कालु दाइ (रत्नप्रसाद श्रेष्ठ) लगायतले देशविदेशका सूचना, गतिविधि र विचार प्रवाह गर्न मद्दत गरेको पाइन्छ । प्रजातन्त्रको पक्षमा बोल्ने, लेख्नेहरूले समेत असल, त्यागी र निर्भीकहरूको राम्रोसँग खोजी नै गरेनन् । रत्न पुस्तक भण्डारका संस्थापक रत्नप्रसाद हुन् वा देशका विभिन्न भागमा २००७ सालको क्रान्तिमा योगदान गर्ने वीर-वीरांगनाहरू, ती ओझेलमा परे । आज ठगहरूको उद्योग बन्यो लोकतन्त्र नामको लोभतन्त्र ।

बलात्कार सहिरहेका जनता क्रूद्ध छन् तर कार्यकर्ता पुनः कुन दललाई भोट दिन पाइन्छ भनेर पर्खिरहेका छन् । राष्ट्र ढले पनि, जले पनि दलहरू बाँचे पुग्छ भन्ने भ्रममा छन् उनीहरू । पृथ्वीनारायण शाहको सालिक ढालेर मालिक बदल्नेहरूका हातमा राज्यसत्ताको बागडोर छ । दास बदल्दैमा खास परिवर्तन हुँदैन । राष्ट्रघातीहरूको पन्जाबाट मुक्त हुन राष्ट्रवादीहरूले नै शासन गर्नुपर्छ । राष्ट्रवादको पुनर्जागरण हुनुपर्छ ।

आचार, विचार र संस्कारका आधारमा समाज तथा राष्ट्र चलेको हुन्छ । नेपालमा भने प्रधानमन्त्री हुने व्यक्ति नै धर्म मान्दैनन् तर जातीय राज्य चाहिन्छ भन्दै हिँड्छन् । धर्म निरपेक्ष हुँ भन्नेहरू जात निरपेक्ष हुन सकेनन् । किनभने जात-जातको द्वन्द्व चर्काउन विदेशीले ठूलो लगानी गरेको पाइन्छ । जसरी दातृ निकायले सर्वोच्च अदालतका कुर्सी टेबुलसमेत जुटाइदिएका छन्, त्यसरी नै धेरै राजनीतिकर्मी, सञ्चारकर्मी र अधिकारकर्मीलाई धर्मपुत्र-धर्मपुत्री झैँ विदेशीले पालेका छन् । त्यसैले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको माला जपेनन् भने मालिकले नाकाबन्दी गर्छ ।

त्यो अवस्थामा यिनीहरूको त नाकाबन्दी होइन, मुखैबन्दी हुन्छ । यो कटु यथार्थ हो । आवश्यकताले भन्दा पनि लोभले पराधीन बन्न रुचाउने नेपालको बौद्धिक समुदायको एउटा हिस्सा आईएनजीओ र एनजीओ खोलेर विदेशीलाई सूचना बेच्ने गरेका समाचार-विश्लेषण पढेर पनि राष्ट्रिय सुरक्षाका शंकाराचार्यहरू मुसुमुसु हाँस्छन् भने त्यस्ता अंगले एक दिन आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने अवस्था आउन सक्छ । राष्ट्रलाई विदेशी लामखुट्टेबाट बचाउन बारुद छर्किन पनि सेना तयार हुनुपर्छ । नत्र नेपाल अफगानिस्तान बन्न सक्छ ।

राष्ट्र अत्यन्त असुरक्षित अवस्थामा छ । सानेपा, पेरिसडाँडा र धुम्बाराहीतिरका पार्टी कार्यालयदेखि विहार, युपीका एजेन्डा बोकेर हिँड्ने दलहरूमा ठूलो मात्रामा विदेशी घूसपैठ छ भन्ने विदेशीका हनुमानहरूका गतिविधिबाट सहजै अनुमान गर्न सकिन्छ ।

क्याम्पस र विश्वविद्यालय पढिरहेका युवा वर्गले बुझ्न थालेका छन्- विद्यार्थी हितका नाममा खुलेका संगठनहरू नेताको अंगरक्षक मात्र बनिरहेका छन् । मजदुर संगठनहरूका गतिविधि मजदुरहरूबीचमै लोकप्रिय छैनन् । हरेक क्षेत्रमा जनताको नाममा शोषण भइरहेको छ । शैक्षिक माफिया, अस्पताल माफिया, उद्योग व्यापार माफिया आदिको इसारामा कुकृत्य हुँदा पनि सरकार किन मौन छ भनेर जनताले सहजै बुझ्न सक्छन् । राष्ट्र हाँक्ने र राजनीतिका प्रमुख खेलाडीहरू नै जहाँ विदेशीका आज्ञाकारी नोकर बन्न मञ्जुर छन्, त्यो राष्ट्रको भविष्य कसरी सुरक्षित रहला ? मुख्य चिन्ता यही हो ।

दलको सदस्यता लिनेहरूमध्ये केहीले राष्ट्रको अहित चिताए पनि तल्लो तहका कार्यकर्ता, समर्थक र मतदाताहरूमा देशभक्तिको भावना छँदै छ । राष्ट्र स्वाधीन रहोस् भन्ने नेपाली जनताको चाहना छ । दिल्लीमा गरिएको 'बाह्रबुँदे' गलत, विषाक्त र पराधीनताको कबुलियतनामा थियो । तसर्थ, बाह्रबुँदे समझदारी (सम्झौता) रद्द गर्न जबसम्म दलहरू तयार हुँदैनन्, तबसम्म उनीहरूको देशभक्ति सन्देहकै घेरामा रहन्छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.