विनोद चौधरी जिआइएल अवार्डबाट सम्मानित हुँदै
काठमाडौः उद्यमी विनोद चौधरी फस्र्ट एण्ड सुलिभानको प्रतिष्ठित ग्रोथ, इनोभेसन एण्ड लिडरसीप (जिआइएल) अवार्डबाट सम्मानित हुने भएका छन् । काठमाडौंको सोल्टी क्राउन प्लाजामा कात्तिक २४ गते हुन लागेको जिआइएल सम्मेलनमा चौधरी सम्मानित हुन लागेका हुन् । फस्र्ट एण्ड सुलिभानले जिआइएल–२०१६ को पहिलो संस्करण नेपालमा आयोजना गर्दैछ ।
चौधरीको दृढता, लगनशीलता र नेतृत्वको कदर गर्दै विश्वविख्यात अवार्डबाट सम्मानित गर्न लागेको फस्र्ट एण्ड सुलिभानले बताएको छ । साथै, नेपालको स्वास्थ्य, शिक्षा, युवा सशक्तिकरण, र रोजगारीको क्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई यो सम्मान प्रदान गर्न लागेको संस्थाको भनाइ छ । अमेरिकी राष्ट्रपति बाराक ओवामा, भारतको व्यावसायिक घराना टाटा समूहका अध्यक्ष रतन टाटालगायतका प्रतिष्ठित व्यक्तिहरूले यो अवार्ड पाइसकेका छन् ।
चौधरी प्रख्यात फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा परेका नेपाली व्यवसायी हुन् । उनले पाँच महादेशका एक सय २२ वटा कम्पनी तथा ७६ ब्रान्डको औद्योगिक घराना चौधरी ग्रुपको नेतृत्व गरेका छन् ।
नेपालमा व्यापारिक रणनीति, नविनता, आमूल परिवर्तन र व्यावसायिक विकासका सम्भावनाहरू पहिचान गर्न फस्र्ट एण्ड सुलिभान नेतृत्वसम्बन्धी सम्मेलन आयोजना गरिन लागेको हो । जिआइएल–२०१६ को यात्रा फस्र्ट एण्ड सुलिभानका विश्वव्यापी अध्यक्ष तथा प्रवन्ध साझेदार अरूप जुत्सी र सोल्टी क्राउन प्लाजाका अध्यक्ष इमिरेट्स प्रभाकर सम्सेर जबराले संयुक्त रूपमा गर्ने कार्यक्रम छ ।
सम्मलेनमा जुत्सीले व्यक्तिगत र कम्पनी दुवैको व्यापारिक वातावरणमा कसरी आफूलाई जोगाइ रहन सकिन्छ भन्ने विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम छ । साथै, उनले परिकल्पनासहितको नविनता, व्यावसायिक वृद्धि, डिजिटल परिवर्तन, र यस परिवर्तनबाट सिर्जना हुने अनिश्चितताको कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्नेछन् ।
फस्र्ट एण्ड सुलिभानका वरिष्ठ साझेदार एवं एशिया प्रशान्त क्षेत्रका प्रवन्ध निर्देशक मनोज मेननले व्यापारिक मोडेल र नेपालमा यसका अबसरविषयक प्रबुद्ध परिषदको नेतृत्व गर्नेछन् । सम्मेलनमा ज्योति समूहका अध्यक्ष पद्म ज्योति, राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले, पूर्वअर्थमन्त्री डा. रामशरण महत, एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलगायत सहभागी हुने बताइएको छ ।