विज्ञानप्रविधि विकासको मेरुदन्ड
![विज्ञानप्रविधि विकासको मेरुदन्ड](https://annapurnapost.prixacdn.net/media/albums/world-technology-news-photo-582135cd9812f8.32259820_AW5NPbPfSx.jpg)
काठमाडौः स्मार्ट सिटी नेपालीले ल्याएको सोच होइन । नेपालीका लागि यो नयाँ विषयवस्तु हो । विकासको बाटो पर्खिएर बसेका नेपालीलाई स्मार्ट सिटीको परिकल्पनाले आर्थिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास भने पलाएको छ । यो सम्भव पनि छ ।
यदि स्मार्ट सिटीको परिकल्पना पूरा हुने हो भने देशमा विज्ञान तथा प्रविधिको अधिकतम प्रयोग हुनेछ । अहिले भइरहेका हाते कामकाज प्रविधिमा रूपान्तरित हुनेछन् । यसले कामलाई सहज बनाउने छ भने जनशक्ती परिचालनमासमेत तीव्रता आउने छ ।
सामाजिक अभियन्ता महावीर पुनले नवीनतम् प्रविधि देशको आर्थिक विकासका लागि एउटा मेरुदन्ड सावित हुने बताउँछन् । त्यसका लागि सरकाले सूचना तथा प्रविधिलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने उनको सुझाव छ ।
उनका अनुसार जबसम्म देशले प्रविधिलाई अधिकतम प्रयोगमा ल्याउन सक्दैन तबसम्म देश विकास सम्भव छैन । अहिले हामीले प्रयोग गर्दै आएका थोरै मात्र त्यस्ता वस्तु होलान जुन प्रविधिबाट टाढा छन् । खानेकुरा होस् या लत्ताकपडा, सबैले प्रविधिलाई आत्मसात गरिरहेका छन् । यी सेबै चिज अन्य देशबाट हाम्रो देशमा आयात भएका हुन् ।
अरुले निमार्ण गरेको सामानको प्रयोग गरेर हामीले उनीहरूको बजार बिस्तार गरिरहेका छौ । तर, हामीले प्रयोग गर्ने सामानको केही अंशमात्र पनि नेपालले उत्पादन गर्न सकेको खन्डमा करोडांै नेपाली रुपैयाँ बाहिर जानबाट रोकिने थियो । त्यसका लागि सरकाले केही कदम चाल्न आवश्यक रहेको पुन बताउँछन् ।
त्यतिमात्र हैन, प्रविधिकै कारण अहिले विदेशबाट रेमिटेन्स भित्रिएको छ । यदि विदेश गएका नेपालीले आफन्तसँग गफ गर्न सक्ने वातावरण हुँदैनथ्यो भने विदेशिने नेपालीको संख्या पनि न्यून हुने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष विनोद ढकाल बताउँछन् ।
सरकारले पनि पछिल्लो समय काठमाडौंलाई विज्ञान प्रविधिमैत्री बनाउने योजना अगाडि सारेको छ । स्मार्ट सिटीको कल्पानासँगै सरकाले भन्सार कार्यलय, कम्पनी रजिस्टार अफिसलगायतका सरकारी कार्यालबाट हुने कामलाई प्रविधिमैत्री बनाइसकेको ढकालले जानकारी दिए । यसले कामलाई सहज बनाउनुको साथै समय र पैसाकोसमेत बचत गरेको छ ।
केही ठाउँमा भएको परिवर्तनले मानिसको जीवनस्तरमा सुधार आएको छ भने सबै सरकारी कार्यलयलाई प्रविधिमैत्री बनाउन सकेमा देशमा ठूलो परिवर्तन आउने क्यानका अध्यक्ष ढकाल बताउँछन् । उनका अनुसार प्रविधि बिना आर्थिक विकास असम्भव छ ।
सरकारले प्रविधिलाई विकासका माध्यमको रूपमा लिएर कामगर्ने हो भने अबको पाँच वर्षमा देश पूर्णरूपमा परिर्वतन हुनेछ । त्यसका लागि आवश्यक नीति निमार्णका कामदेखि पूर्वाधारका काम गर्न जरुरी रहेको ढकालले बताए । सरकारले अहिलेसम्म कुनै योजना नै तयार पार्न नसकेको ढकालको बुझाइ छ ।
सूचना प्रविधिलाई आत्मसात गरेर निजी क्षेत्र अघि बढिरहेको छ, सरकाले त्यसमा तादम्यता मिलाएर हिडे मात्रै पनि विकास निर्माणले फड्को मार्ने पुनको भनाइ छ । पुनका अनुसार सरकाले विकासको बाटो रोज्ने हो भने प्रविधिलाई सँगै लिएर जान जरुरी छ । त्यसका लागि देशमा भएको जनशक्ती परिचालन गर्न सक्ने वा नसक्ने कुरा सरकारमा भर पर्छ ।
नेपालमा सूचना प्रविधिका क्षेत्रमा प्रतिभाशाली मानिसको कमी छैन । यहाँका दक्ष जनशक्ती विदेशमा काम गरिरहेको अवस्था छ । यदि उक्त जनशक्तीलाई परिचालन गर्न सक्ने हो भने आर्थिक रूपले समृद्ध बन्न नेपाललाई कुनै समस्या नभएको पुन बताउँछन् ।
उनका अनुसार नेपाल जस्तो भौगालिक क्षेत्र भएको देशमा प्रविधि त झन ठूलो बरदान हो । प्रविधिमात्र त्यस्तो विषय हो जसले देशका सबै क्षेत्रलाई एकैठाउँ समेट्न सक्छ । भौगोलिक रूपले बिकट रहेका ठाउँमा सेवासुविधा पुर्याउने एकमात्र माध्यम प्रविधि नै हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)