ढिला आउने शिक्षकको हाजिर रोकेपछि वडाध्यक्षमाथि आक्रमण
बर्दिबास : स्कुलमा आउने शिक्षकको हाजिर रोकेको विषयमा विवाद हुँदा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष शिवजी महतोमाथि स्थानीयहरूले आक्रमण गरेका छन्। आक्रमणमा परेर वडाध्यक्ष महतोको दाहिने हात मक्किएको छ।
प्रादेशिक अस्पताल जनकपुर उपचार गराएर घाइते वडाध्यक्ष महतो घर फर्किएका छन्। स्थानीय राम विनय यादव, विन्देश्वर यादव र मनोज यादवसहितले उनलाई विद्यालय परिसरमा गालीगलौज गर्दै बिहीबार कुटपीट गरेका हुन्।
हाजिर गर्नमा वडाअध्यक्ष महतोले रोक लगाएपछि शिक्षक मण्डल गेट बाहिर निस्किएका थिए। सोही बेला ढिला गरी आएका अर्का शिक्षक साहलाई पनि वडाध्यक्ष महतोले स्कुल प्रवेशमा रोक लगाएका थिए। त्यसपछि विवाद चुलिएको थियो। शिक्षकहरूले आफ्ना समर्थहरूलाई बेलाएर आफूमाथि कुटपिट गराएको पीडित वडाध्यक्ष महतो बताए।
स्थानीय महेश यादवका अनुसार दुवै शिक्षक प्रायः सधैं विद्यालयमा ढिलो आउने गरेका छन्। विद्यालयमा १० बजे आउनुपर्ने शिक्षक साह र मण्डल बिहीबार साढे १० बजे पुगेका थिए। यता वडाध्यक्षमाथि स्थानीयले हुलहुज्जत गरेको मौखिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले बताए। वडाध्यक्षमाथि आक्रमण गर्नेलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न नसकेको मेयर साहले बताए।
प्रतिक्रिया दिनुहोस !