संविधानपछिको राजनीतिक उतारचढाव

संविधानपछिको राजनीतिक उतारचढाव

नेपालको संविधान घोषणाको लागि एक भएका ठूला राजनीतिक दलहरूको समीकरणमा अहिले निकै परिवर्तन भइसकेको छ । भूकम्पबाट थिलथिलो अवस्थामा पुगेको देशलाई संविधान निर्माण गरी राष्ट्र निर्माणमा अघि बढ्ने वाचासहित दलहरूले अनेक आन्तरिक र बाह्य अवरोध छिचोल्दै २०७२ असोज ३ गते संविधान घोषणा गरे । ५९७ जम्मा सभासद्मध्ये ५३७ को हस्ताक्षरसहित जारी गरिएको संविधानलाई उत्तरको छिमेकीले स्वागत गर्दा सांस्कृतिक, आर्थिक, भौगोलिक र भाषागत हिसाबले नजिकको मित्र भारतले भने यसको जानकारी भएको सामान्य अभिव्यक्ति दियो ।

नेपालको स्वाधीनता खतरामा पर्ने गरी तराईकेन्द्रित मधेसी दलहरूद्वारा उठाइएका माग पूरा हुन सम्भव थिएन, जसले गर्दा मधेसी दलहरू सीमानाकामा धर्ना दिन पुगे । नेपालतर्फको आन्दोलन र असुरक्षा देखाउँदै भारतबाट नेपालतर्फ अत्यावश्यक सामग्रीको आपूर्तिमा रोक लाग्यो र त्यो नाकाबन्दीको रूपमा प्रकट भयो ।

संविधानको कार्यान्वयण गर्दै सबै तहका निर्वाचन मिलेरै सम्पन्न गर्ने समझदारी बनाएका दलहरू प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको चुनावसम्म आइपुग्दा छिन्नभिन्न बन्न पुगे । प्रधानमन्त्रीको चुनाव भयो । संविधान घोषणापछि एमाले अध्यक्ष केपी ओलीलाई सर्वसम्मत ढंगमा प्रधानमन्त्रीमा सघाउने भनिएको भद्र सहमति नेपाली कांग्रेसले आफ्ना सभापति सुशील कोइरालालाई उक्त पदको उम्मेदवारी बनाएर तोड्यो । केपी ओली प्रधानमन्त्री भए ।

निकै कठिन अवस्थामा देशको प्रधानमन्त्री बनेका ओलीलाई सुरुआतदेखि नै चुनौतीका पहाड थपिँदै गए । पाँच महिनाको लगातार नाकाबन्दी, त्यसअघिको तराई आन्दोलन र नाका खोलेपछि पनि सहज अवस्थामा आउन लागेको समय सबै जोड्ने हो भने सरकारमा रहेको पूरै अवधि ओलीको लागि चुनौतीपूर्ण रह्यो । तर पनि अभाव र भोकभोकै भारतीय नाकाबन्दीको सामना गर्न तयार भएको जनताको ताँतीले पक्कै पनि ओलीलाई ऊर्जा दिइरह्यो र कुनै पनि हालतमा देशको स्वाभिमानविपरीत उनले कुनै सम्झौता गरेनन् ।

नाकाबन्दीको नेपालमा मात्रै होइन, विश्वका धेरै देशहरूमा विरोध हुँदै गयो । संसारभर छरिएका नेपालीहरूले अमानवीय भन्दै नाका तत्काल खोल्न अपिल गर्दै गए । भारतभित्रै नाकाबन्दीको व्यापक आलोचना हुँदै गयो । पहिलोपटक भारतको तल्लो सदनमा नेपाल मामलाले प्रवेश पायो । कांग्रेस (आई) ले यसको विरोध गर्‌यो । नाका नखोलेसम्म भारत भ्रमणमा नजाने दह्रो अडान देखाए ओलीले । अन्त्यमा नाका त खुल्यो तर संविधान संशोधनमाथिको भारतीय रुचि भिन्न रूपमा प्रकट हुँदै गयो ।

ओलीको भारत भ्रमण भयो । भारत भएर हुने बंगलादेशसँगको पारवहनसम्बन्धी मामलालाई सहज बनाउने र यसका लागि विशाखापटनम बन्दरगाह प्रयोग गर्ने समझदारी भयो, जुन नेपालको लागि भारतले उपलब्ध गराउने दोस्रो पारवहन सुविधा हो । तर अन्त्यमा नेपालको संविधान संशोधनमा सबै पक्षलाई समेट्नुपर्ने बुँदा राख्ने भन्ने भारतको अडानविपरीत यो नेपालको आन्तरिक मामला भएको र संयुक्त विज्ञप्तिमा उल्लेख गर्नु सही नहुने अडानले ओलीको कद झनै बढायो ।

त्यसरी नै गत चैतमा चीन भ्रमणको क्रममा इतिहासमा पहिलोपटक चीनसँग पारवहन सम्झौता भयो । यसको कार्यान्वयनमा तत्कालको लागि कठिनाइ भए पनि भविष्यमा नेपालको एकपक्षीय निर्भरता अन्त्य हुने आधार तयार गरिदियो । यो अर्थपूर्ण यसकारणले छ कि चीनसँगको पारवहनसम्बन्धी सम्झौताकै कारण नेपालले आउँदो दिनमा फेरि नाकाबन्दी व्यहोर्नुपर्ने स्थितिको अन्त्य हुने सम्भावना छ । नेपालको व्यापारलाई विविधीकरण गर्ने र एक्काईसौं शताब्दीको देश भूपिरवेष्ठित भएकै कारण बाँकी विश्वसँगको सम्बन्ध र व्यापारमा लाग्ने लगाम अन्त्य गर्नुपर्छ भन्ने हिसाबले भएको कामले ओलीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय उचाइ प्राप्त भयो ।

 

मुर्छित अवस्थाका सपनाहरू ब्युँझाएको, त्यस्तै अवस्थाको राष्ट्रियता र स्वाभिमान उठाएको र नवजवान युवाहरूमा देशप्रेमको भाव भराएको कामले बाँकी दलहरू त्रसित बन्न पुगेकै थिए । आन्तरिक र बाह्य कुराको जोडबलले लोकप्रिय ओली सरकार ढालियो र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको साथमा गत साउन १९ गते सत्ता समीकरणकै महत्त्वपूर्ण घटक माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्रीमा चुनिए ।

एकातिर युद्ध अपराधसम्बन्धी मुद्दाले पिरोलिरहेको, अर्कोतिर ओलीसँगको गठबन्धनबाट माओवादीलाई बाहिर निकाल्न र निस्कन प्रयास भइरहेको भने सँगसँगै ओलीको लोकप्रियताबाट त्रसित भइरहनु जस्ता कुराले प्रचण्डलाई एमालेको साथ छोड्नमा उत्प्रेरकको भूमिका खेले ।

असोजमा नेपाल भ्रमणमा आउने ठानिएका चिनियाँ राष्ट्रपति नेपाल आएनन्, केरुङ, काठमाडौँ र पोखरा हुँदै लुम्बिनीसम्म पुर्‌याउने भनिएको चिनियाँ रेलको असोजमा उद्घाटन हुने सम्भावना टर्‌यो । प्रचण्डले आफ्ना दुई उपप्रधानमन्त्रीलाई दूतको रूपमा एकसाथ चीन र भारत पठाए । विशेष दूत सामान्यतया घोषित÷अघोषित युद्ध र दुई देशको सम्बन्ध संकटमा परेको बेला पठाउने प्रचलन ठानिन्छ । उनको त्यो कदम पनि ठीक रहेन । चीनसँगका विभिन्न मन्त्रीस्तरीय र सचिवस्तरीय दुईपक्षीय बैठकहरू समयमा सम्पन्न हुन सकेनन् । ओली सरकारले चीनसँग गरेका सम्झौताहरू कार्यान्वयनको लागि पहल हुनेमै अनेकौं आशंका पैदा भए ।

तीनतिर घेर्ने एक छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध पनि निकै महत्त्वपूर्ण छ- जति चीनसँगको सम्बन्धको मूल्य छ । तर सम्बन्ध आपसी सद्भाव, सम्मान र सहकार्यले मात्र हार्दिकतातिरको दिशामा अघि बढ्छ ।

गत भदौको अन्त्यतिर भएको उनको भारत भ्रमण झनै विवादमा पर्‌यो । भारतको विश्व र क्षेत्रीय दृष्टिकोणसँग नेपालको दृष्टिकोण मिल्दोजुल्दो बनाउनुपर्ने बुँदा संयुक्त विज्ञप्तिमा जसरी समावेश गरियो, नेपालको आफ्नो स्वतन्त्र व्यक्तित्व र नीतिमै प्रश्नचिन्ह खडा भयो । भारतको सहयोगमा नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासको लागि सञ्चालन हुने कार्यक्रमको अनुगमनको लागि नेपाल सरकारलाई भारतीय दूतावासका उच्च पदस्थ कर्मचारीको तहमा राख्ने गरी समावेश गरिएको अर्को बुँदाले नेपाल स्वतन्त्र देश नभई एक प्रदेशको सन्देश गएको छ ।

यसको अर्थ नेपाल भारतसँग पौंठेजोरी खेल्नुपर्छ भन्ने पनि होइन । तीनतिर घेर्ने एक छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध पनि निकै महत्त्वपूर्ण छ- जति चीनसँगको सम्बन्धको मूल्य छ । तर सम्बन्ध आपसी सद्भाव, सम्मान र सहकार्यले मात्र हार्दिकतातिरको दिशामा अघि बढ्छ ।

सरकारको प्रमुख साझेदार दल नेपाली कांग्रेस जुनसुकै सवेदनशील विषयमा पनि मौन रहँदै आउनु अर्को आश्चर्यको कुरा हो । देशको पहिलो दलले सरकारलाई प्रमुख मुद्दाहरूमा जसरी रायसल्लाह दिनुपथ्र्यो र प्रतिपक्षसँग जसरी संविधान संशोधनदेखि अनेक मुद्दाहरूमा गम्भीरतापूर्वक छलफल गर्नुपथ्र्यो । त्यसो नगर्नु विडम्बना हो ।

अठार वर्षदेखि हुन नसकेको भारतीय राष्ट्रपति तहको भ्रमणले यसपटक मूर्तरूप लियो । भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण आफैँमा स्वागतयोग्य कुरा हो । यसले नेपाल भारतको अगाडिको सम्बन्धलाई अझै सौहार्दपूर्ण बनाउनेमा महत्त्वपूर्ण भूमिका त खेल्छ नै । तर कुनै अर्को देशको राष्ट्रपति आउँदा देशैभर र विदेशस्थित कूटनीतिक नियोगहरूसमेत बन्द रहने गरी गरिएको सार्वजनिक बिदा भने उचित होइन । देशले विदेशबाट हुने उच्चस्तरीय पाहुनाहरूको भरपूर स्वागत, सम्मान र सत्कार गर्नुपर्छ । सुरक्षाको सम्पूर्ण प्रबन्ध गर्नु झनै मुख्य काम भइहाल्यो तर सर्वसाधारणलाई सास्ती हुने गरी गरिएको आवतजावत बन्दले नेपाली जनमानसमा नकारात्मक सन्देश गएकोतर्फ पनि सरकारले ध्यान पुर्‌याउनैपथ्र्यो ।

अन्त्यमा, प्रतिपक्ष दलहरूसँगको गम्भीर वार्ता र गृहकार्यमार्फत मधेसी दलहरूको मागलाई टुंगो लगाउनुपर्ने, संविधानलाई पूरै कार्यान्वयनको चरणमा लैजानुपर्ने र तिनै तहका निर्वाचनहरू डेढ वर्षभन्दा कम समयावधिमा सम्पन्न गर्न तुरुन्त प्रक्रिया सुरु गरिएन भने देश नयाँ दिशातिर अघि बढ्नेछ । भोलि निम्तिन सक्ने गम्भीर राष्ट्रिय समस्याले सबै दलहरू र उनीहरूको समीकरणमा व्यापक फेरबदल ल्याउनेछ जसरी सुशील कोइरालादेखि केपी ओली हुँदै प्रचण्डसम्म आइपुग्दा फेरबदल भइरह्यो ।

-शाह एमालेका केन्द्रीय सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.