ट्रम्प विजयको सन्देश

ट्रम्प विजयको सन्देश

सन् २००८ मा बाराक ओबामा पहिलो कार्यकालको लागि अमेरिकी राष्ट्रपतिमा विजयी हुँदा स्तम्भकार तथा अन्तर्राष्ट्रिय मामलाका राजनीतिक विश्लेषक थोमस एल फ्रिडम्यानले न्युयोर्क टाइम्समा लेखेका थिए, '४ नोभेम्बर २००८ को राति ११ बजे अमेरिकामा सांकेतिक गृहयुद्ध समाप्त भयो । २१ जुलाइ १८६१ बाट सुरु भएको गृहयुद्ध १४७ वर्षमा मात्र अन्त्य भयो ।'

'बुलरन' भर्जिनियाबाट सुरु भएको कुनै न कुनै प्रकारको विभेदको अध्याय बाराक ओबामाको सत्तारोहणपछि समाप्त भएको उनको तर्क थियो । भर्जिनिया कमनवेल्थको एक शताब्दीपछि सन् १९६४ मा रंगभेदविरुद्ध मानवीय समानताको सशक्त आन्दोलन चलाउने र मानव अधिकार ऐन पारित गराउने मार्टिन लुथर किङले महत्त्वपूर्ण पाइला चालेका थिए । तर अमेरिकी श्वेत प्रभुत्वमा अश्वेत व्यक्ति सर्वाधिक उच्च पदमा नआउन्जेल त्यसले व्यावहारिक रूप ग्रहण गरेको थिएन ।

त्यसैले ओबामाको जितले अमेरिकी इतिहासमा एउटा स्वर्णिम इँटा थपेको धेरै विश्लेषक र टिप्पणीकारको मत थियो । तर ट्रम्पको विजयले अमेरिकाको प्राज्ञिक, बौद्धिक जमात मात्रै होइन, मूलधार मानिने ठूला सञ्चारमाध्यमलाई आश्चर्यमा मात्रै पारेको छैन, विस्मितसमेत तुल्याएको छ । पूर्व प्रक्षेपण, 'ओपनियन पोल' तथा सञ्चारमाध्यमले खुलेरै हिलारी क्लिन्टनप्रतिको रुझान र त्यसले बनाउने आम धारणाको कारण विश्वकै लागि यो परिणाम अनपेक्षित र आश्चर्यजनक छ ।

पहिलो कार्यकालमा ओबामाले जटिल अमेरिकी मतपरिणाममा ५३८ इलेक्ट्रोलमध्ये ३४९ प्राप्त गरेका थिए भने रिपब्लिकन उम्मेदवार जोन म्याकिनले १६२ मतमा चित्त बुझाउनुपरेको थियो, जो अनपेक्षित थिएन । त्यस्तै लोकप्रिय मतको ५२.३ प्रतिशत उनको पोल्टामा परेको थियो भने म्याकिनले ४६.४ प्रतिशत प्राप्त गरेका थिए । अहिले भने ट्रम्पले ४८ प्रतिशत ल्याउँदा हिलारी ४७.२ प्राप्त गरिन । अमेरिकी निर्वाचनको यो परिणामले त्यहाँको राजनीतिक वातावरण जुन परिमाणमा ततायो, त्यसको असर बाँकी विश्वमा पनि परेको स्पष्टसँग देख्न सकिन्छ ।

व्यापारिक पृष्ठभूमिका ट्रम्प यसअघि कहिल्यै राजनीतिमा सुनिएको नाम होइन । डेढ वर्षअघि रिपब्लिकनका तर्फबाट आन्तरिक प्रतिस्पर्धामा आफूलाई प्रत्याशी घोषणा गर्दा धेरैले यसलाई मजाक सम्झिएका थिए । प्रक्रिया अघि बढ्दै जाँदा जति-जति उनले आफ्ना प्रत्याशीलाई उछिन्दै गए, त्यति-त्यति उनको छवि झनै 'राक्षसी' व्यक्तिको रूपमा चित्रित गरिँदै गइयो । रुखो र खरो अभिव्यक्तिका कारण प्राज्ञिक जमातको आँखाको कसिंगर बनेका उनी 'वास्तविक अमेरिकी' जनतामाझ भने झन्झन् लोकप्रिय बन्दै गएछन् ।

अमेरिकामा ७४ प्रतिशत श्वेत, १३ प्रतिशत म्याक्सिकन, १२ प्रतिशत अश्वेत र एसियाली, मुसलमान र अन्य समुदाय गरेर ११ प्रतिशत जनसंख्या छ । यहाँ वास्तविक अमेरिकी भनेर बहुसंख्यक श्वेत अमेरिकीलाई संकेत गर्न खोजिएको हो । जबजब बहुसंख्यकले आफूलाई सीमान्तकृत र असुरक्षित ठान्न थाल्छ त्यतिबेला विवेकभन्दा पनि भावनामा अनि तर्कभन्दा पनि संवेदनाका आधारमा मतदान हुन्छ । ट्रम्पको आप्रवासी, इस्लामिक समुदाय तथा अश्वेतप्रतिको अनुदारता तथा मेक्सिकोलाई छेकेर पर्खाल निर्माण गर्ने उग्र तर भावुक नाराले धेरै अमेरिकीलाई छोयो र उनीहरूले ट्रम्पको पक्षमा मतदान गरे ।

प्राज्ञिक, बौद्धिक तथा कथित मूलधारे सञ्चारको लागि उनको छवि मूर्ख, अज्ञानी, सन्की, अनुदार, महिला, कम्युनिस्ट, अश्वेत, आप्रवासी, अल्पसंख्यकप्रति कुदृष्टि राख्ने खालको थियो । विश्व नागरिकले पनि त्यही आधारमा धारणा बनाए । तर राजनीति, सामरिक र आर्थिक भूमिकामा रक्षात्मक बन्दै गएको अमेरिकी अवस्थाले 'वास्तविक अमेरिकी' लाई भने पोलिरहेको थियो । त्यसैले उनीहरूको संवेदनालाई ट्रम्पले छुन सके र मत आकर्षित गर्न सके ।

अमेरिकामा मात्रै होइन, राष्ट्रवादको ज्वरो केही वर्षयता विश्व नागरिकको आम मनोविज्ञान बनेको छ । बेलायत युरोपेली युनियनबाट बाहिरिने निर्णय त्यसको सबैभन्दा ठूलो पुष्टिको आधार थियो । विवेक र तर्क आधार हुन्थ्यो भने बेलायती जनताको अभिमत अस्वाभाविक निर्णय थियो ।

रूसमा भ्लादिमिर पुटिनको अविच्छिन्न लोकप्रियता, भारतमा नरेन्द्र मोदीको पूर्वीय मान्यता र दर्शनप्रतिको रुझान, जापानमा सिन्जो आवेको आक्रामक आकर्षण, फिलिपिन्समा रोड्रिगो डुटर्टको राष्ट्रवादी उग्र छवि, चीनमा सी जिनपिङको जादुमयी व्यक्तित्वले राष्ट्रवादको ज्वरो विश्वव्यापी बनेको प्रतीत हुन्छ, भलै यसलाई कतिपयले दक्षिणपन्थी वर्चश्व किन नभनून् । समग्रमा दोस्रो विश्वयुद्धयता पुनः एकपटक विश्व राजनीति र जनमत जरो तथा मुहानतर्फ फर्किने संक्रमणमा छ ।

अर्को सनातनी मान्यता-अमेरिकी दुई दल डेमोक्रेटिक र रिपब्लिकनलाई स्वतन्त्र विश्लेषकहरूले कोकाकोला र पेप्सीसँग तुलना गर्ने गर्छन् । उनीहरूबीच तात्विक भिन्नता नभएकाले निर्वाचन परिणममा पनि क्रमशः हेराफेरी हुने गरेको छ । आलोपालोको व्यावहारिक सिद्धान्तका आधारमा यसै पनि डेमोक्रेटिक ओबामाको दुई कार्यकालपश्चात् रिपब्लिकन ट्रम्पकै पालो थियो ।

अलोकप्रियता र अतिरञ्जनाका बीच अमेरिकाको पैंतालीसौं राष्ट्रपतिका रूपमा इतिहास त रच्न सफल भए ट्रम्प, तर यसअघि सकारात्मक हलचल ल्याउने जर्ज वासिंटन, अब्राहम लिंकन, फ्र्यांकलिन रुजबेल्ट, मार्टिन लुथर किङ, जोन एफ केनेडी, जिम्मी कार्टर, बिल क्लिन्टनहरूको स्थानमा भने उनी न पुग्न सक्छन् न त त्यस्तो अपेक्षा नै गर्न मिल्छ ।

अमेरिकामा हरेक वर्ष वैध रूपमा १० लाख र अवैध रूपमा पाँच लाख आप्रवासी पस्ने गरेको अनुमान गरिएको छ । अवैध आप्रसवासीलाई कडाइ गर्ने ट्रम्प चेतावनीले करिब-करिब सबै आप्रवासीलाई त्रस्त तुल्याएको छ । अमेरिकामा गैरकानुनी ढंगमा बसोवास गर्नेहरू त ट्रम्पको कोपभाजनको सिकार बन्लान् तर यसको अर्को सुन्दर पहलु पनि छ ।

भ्लादिमिर पुटिन नेतृत्वको रूससँग सुमधुर सम्बन्ध स्थापित गर्ने उनको घोषणा विश्व शान्ति र सामरिक सन्तुलनको लागि दूरगामी महत्त्व राख्ने विषय बन्न सक्छ । व्यापारिक पृष्ठभूमिका ट्रम्प आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनलाई चिढ्याएर पक्कै पनि राजनीति टकरावको अवस्था ल्याउने छैनन् ।

उग्रवाद र आतंकवादविरुद्ध डटेर सामना गर्ने पूर्वउद्घोषलाई ट्रम्पले कुन परिणाममा अगाडि बढाउँछन्, त्यो त आउने दिनले नै प्रस्ट्याउला तर उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को अस्तित्वमाथि समेत धावा बोल्न सक्ने उनी बोलीजस्तै व्यवहारमा खरो उत्रिन सक्छन् भन्नेमा भने सन्देह अवाञ्छनीय छैन । उनले भने झैं पूर्व घोषणालाई कार्यरूप दिन खोजे भने एसिया, अफ्रिका, ल्याटिन अमेरिकालगायत भने अमेरिकी कोपभाजनबाट क्रमशः मुक्त हुँदै जानेछन् । किनभने अमेरिकी राष्ट्रपति अब अमेरिकाबाहेक बाँकी विश्वको हर्ताकर्ता होइन, घरेलु मामिलामै अस्तव्यस्त बन्नुपर्नेछ ।

सन् २००७ अगस्तमा देखा परेको 'सबप्राइम मोटेगेज लोन' को समस्याबाट खस्कन सुरु अमेरिकी वित्तीय बजारको असर विश्व वित्तीय बजारमै प्रत्यक्ष रूपमा परेको छ । त्यही मितिदेखि राम्ररी नतंग्रिएको अमेरिकी अर्थतन्त्रको समानान्तर चिनियाँ अर्थतन्त्र आइपुगेको छ । सन् १९९७ मा पूर्वीएसियाली वित्तीय संकटको बेला अन्तर्राष्ट्रिय मुद्राकोष, विश्वबैंक र एसियाली विकास बैंकले संकटमा परेका देशहरूलाई ब्याजदर बढाउन, असुलीमा जोड दिन, संकटग्रस्त संस्था बन्द गर्न अघि बढेका थिए ।

तर रिपब्लिक बुसले ब्याजदर कटौती गर्ने, डुब्न लागेका संस्थाहरूलाई थप तरलता उपलब्ध गराउने, निजी क्षेत्रका संस्थालाई राष्ट्रियकरण गर्ने नीति लिएर उदारीकरण र खुला नीतिसँग परस्पर असंगत नीति अवलम्बन गरेका थिए । फलत सन् १९३० को तीव्र्र आर्थिक मन्दीलाई उछिन्ने गरी बजार अस्वाभाविक बाटोमा जाने खतरा बढिसकेको थियो । ओबामाले पनि त्यस अवस्थामा तात्विक योगदान गर्न नसकेको यथार्थ हो । अब लिइने आर्थिक नीतिले ट्रम्पको सफलताको कसी नापिन्छ ।

अलोकप्रियता र अतिरञ्जनाका बीच अमेरिकाको ४५ औं राष्ट्रपतिका रूपमा इतिहास त रच्न सफल भए ट्रम्प, तर यसअघि सकारात्मक हलचल ल्याउने जर्ज वासिंटन, अब्राहम लिंकन, फ्र्यांकलिन रुजबेल्ट, मार्टिन लुथर किङ, जोन एफ केनेडी, जिम्मी कार्टर, बिल क्लिन्टनहरूको स्थानमा भने उनी न पुग्न सक्छन् न त त्यस्तो अपेक्षा नै गर्न मिल्छ । यति हो, अनपेक्षित पात्रको चारबर्से ह्वाइट हाउस यात्रा हाम्रा लागि पनि रोचक परिघटना बन्नेछ ।
-यात्री, एपी वान टेलिभिजनका समाचार प्रमुख हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.