मधेसी मोर्चाबाट संसद् बैठक बहिष्कार
काठमाडौंः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बैठक बहिष्कार गरेको छ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भए लगत्तै मोर्चाका नेता एवम् संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले बोले लगत्तै मोर्चामा आबद्ध दलका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्।
बैठकको सुरुमै विशेष समय लिएर बोल्दै सांसद राईले सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयनका लागि माग गरे। उनले तीन बुँदे सहमति कार्यान्वयन नभएसम्म बैठक बहिष्कार गर्ने बताए।
उनले भने,‘तीन बुँदे सहमति भएको तीन महिनाभन्दा बढी भयो। सरकार के गरेर बसेको छ, निदाएको त छैन? हामीसँग भएका तीन बुँदे सहमति कार्यान्वयनका लागि किन आनाकानी गरेको छ। कहिले सहमति कार्यान्वयन हुन्छ।’ राईले मधेस आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा सरकारले फिर्ता नलिएको आरोप लगाए। राई बोले लगत्तै मधेसी मोर्चामा आबद्ध दलका सांसदहरुले संसद बैठक बहिष्कार गरेका हुन्।
शुक्रबारको बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ।