पदमलाई मोफसल प्यारो

पदमलाई मोफसल प्यारो

मोफसलमा रहेर पनि आफ्नो पहिचान बनाएका गायक हुन् पदम राई । ताप्लेजुङको नाङ्खोल्याङ गाविसमा जन्मिएका उनी स्कुल पढ्दादेखि नै गायन क्षेत्रमा रुचि राख्थे ।

गाउँघरमा हुने सांस्कृतिक कार्यक्रमबाट गायन क्षेत्रमा प्रवेश गरेका उनले नारायणगोपाल गुरुवाचार्य, फत्तेमान राजभण्डारी, योगेश वैद्य, प्रदीपराज पाण्डे र राजेशपायल राईका गीत स्टेजमा धेरैपटक गाएका छन् ।

मोफसलबाटै करिअर अगाडि बढाएका पदम यति बेला देशविदेशमा हुने स्टेज कार्यक्रममा व्यस्त छन् । २०६९ सालमा भएको ताप्लेजुङ आइडलको उपाधि जितेपछि गायन क्षेत्रमा सक्रिय उनी एकल एल्बम ‘यो जन्म’को सफलतापछि दोस्रो एल्बमको तयारीमा जुटेका छन् ।

पहिलो एल्बममा यो जन्म यस्तै भयो, लुकीलुकी हेर्छु तिमीलाई, राम्रीमा राम्री तरुनी, तिम्रो यादमा बित्छन् अचेल, क्या राम्री देखे सानुलाई, कल्पना गरेभन्दा फरक छैनौं बोलको गीत समेटिएका थिए । सो एल्बममा ‘राम्रीमा राम्री तरुनी’ बोलको गीत हिट भएको छ ।

आफ्नो दोस्रो एल्बमका लागि ६ वटा गीत रेकर्ड भइसकेको उनले बताए । जसमा फूल टिपे काडाँ वनको, खै तिम्रो नजरको, जान्छौं भने तिमी, तिमीलाई देखेपछि, वरपीपल डाँडैमाथि, छाडिजाने भए तिमी बोलको गीत रहेका छन् ।

पहिलो एल्बमका सबै गीतको म्युजिक भिडियो निकालेका पदमले दोस्रो एल्बमको फूल टिपे काँडा वनको, खै तिम्रो नजरको, जान्छौं भने तिमी बोलको गीतको म्युजिक भिडियोको समेत छायांकन गरिसकेका छन् ।

उनको म्युजिक भिडियोमा ऋचासिंह ठकुरी, नीरविक राई, रोमिया लिम्बू, सक्षम श्रेष्ठ, विकास अधिकारी, सन्तोषी अधिकारी, निशा पोमू, हिमालराज कन्दङ्वा, मेरिना तुम्सा, विनोद न्यौपाने, मदनदुमी राई, अरुणा राई, इन्द्रसेन तामाङ, लक्ष्मी तामाङ, हिकस राईलगायतले मोडलिङ गरेका छन् ।

उदीयमान गायकका रूपमा दर्शक र श्रोतामाझ देखा परेका पदमले दुबई र भारतदेखि पूर्वी नेपालका धरान, झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ, भोजपुर, पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, तेह्रथुमलगायतका जिल्लामा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

गीत गाएरै जीविकोपार्जन गर्न सकिने र गायन क्षेत्रबाट आफूले राष्ट्र र समाजप्रति योगदान दिएको उनको भनाइ छ । विभिन्न स्थानमा आयोजित स्टेज कार्यक्रममा दर्शकको अपार मायाले गायन क्षेत्रमा क्रियाशील रहन आफूलाई हौसला मिलेको पदमको भनाइ छ ।
रत्नप्रसाद आचार्य


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.