पलायनले रोगाएको नेपाली खेलकुद

पलायनले रोगाएको नेपाली खेलकुद

दक्षिण कोरियाको इन्चोनमा दुई वर्षअघि आयोजित एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने क्रममा नेपालका तीन खेलाडी उत्तै बेपत्ता भए । सेपाकताक्रो, एथलेटिक्स र उसुका एकएक खेलाडी नेपाल फर्किएनन् । तीमध्ये एथलेटिक्सका तिलकराम थारु घरेलु खेलकुदमा निकै चर्चित थिए । स्प्रिन्टतर्फ एक सय र दुई सय मिटरमा राष्ट्रिय च्याम्पियन रहेका उनको नाममा कुनै समयको राष्ट्रिय कीर्तिमान नै थियो । उनी विभागिय क्लबमा जागिरे पनि थिए ।

अन्य दुई खेलाडी भने कम परिचित थिए । यसले विदेशमा नेपाली खेलाडीको पलायनलाई दुई फरक विषयमा बहसमा ल्यायो । एउटा, राम्रा र चर्चित खेलाडीसमेत विदेशमा भाग्नु पर्ने वा पलायन हुनु पर्ने अवस्थाको विषयमा । अर्को भने खेलकुदलाई माध्यम बनाएर विदेशमा भाग्ने प्रबृती । ‘विदेशमा गएर उतै लुक्नु भनेको देशको बेइज्जती हो तर, खेलाडीको वैदेशिक पलायनलाई गहन रुपमा हेरिनुपर्छ । यहाँ राम्रा खेलाडी पनि विदेशमै पलायन हुन थालेका छन् । पलायन भनेको लुक्नुमात्र होइन , दिनदिनै राम्रा खेलाडीहरु देश छाडिरहेको अवस्था पनि हो’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक विजेता दिपक विष्ट भन्छन् ।

सन् १९८८ नेपाली खेलकुदका लागि ऐतिहासिक वर्ष रह्यो । उक्त वर्ष दक्षिण कोरियाको सोलमा आयोजित गृष्मकालिन ओलम्पिक खेलकुदमा नेपालले कास्य पदक जितेको थियो । प्रदर्शनी खेलका रुपमा ओलम्पिकमा पहिलो पटक समावेश भएको तेक्वान्दोमा नेपालका विधान लामाले पदक जितेर नेपाली खेलकुदमा इतिहास रचे । त्यसबाहेक हालसम्म अन्य खेलाडीले ओलम्पिक खेलकुदमा यो सफलता दोहो र्‍याउन पनि सकेका छैनन् । तर, विधान ओलम्पिक पदक जितेको दुई वर्षपछि नै अमेरिका भास्सिए । ओलम्पिकमा पदक जितेको दुई वर्षअघि सोलमै भएको एसियाली खेलकुद (एसियाड) मा नेपालका आठ खेलाडीले कास्य पदक जितेका थिए । बक्सिङ र तेक्वान्दोमा नेपालले चारचार कांस्य जितेको थियो । त्यसमा विधानको नाम पनि थियो ।

३७ वर्ष लामो आफ्नो एसियाड सहभागितामा नेपालले पहिलो पटक पदक जितेको थियो । एसियाड १७ औं संस्करणसम्म आईपुग्दा प्रतियोगितामा नेपालका २२ खेलाडीले २३ पदक जितेका छन् । दिपक विष्टले दुई पटक कास्य जितेका छन् । यीमध्ये तेक्वान्दोकी सविता राजभन्डारीले सन् १९९८ मा थाइल्यान्डको बैंकमा जितेको रजत पदक हालसम्म एसियाडमा नेपालले प्राप्त गरेको सबैभन्दा ठुलो पदक हो । तर यी २२ खेलाडीमध्ये १६ खेलाडी अहिले विदेशमा छन् । तीमध्ये १२ जना अमेरिका र एकजना क्यानडामा छन् ।

सोल एसियाडमा पदक जितेका बक्सिङ खेलाडी दलबहादुर रानामगरको भने निधन भइसकेको छ । बैंकक एसियाडमा कास्य जितेका अर्का तेक्वान्दो खेलाडी किशोर श्रेष्ठसँग विवाह गरि सविता अमेरिका गएको पनि वर्षौ बितिसकेको छ । विधानले ओलम्पिकमा पदक जित्नुअघि नै उनीसँग सरकारी प्रशिक्षकको जागिर थियो । ‘तर, उमेरमै केही गर्नुपर्छ नत्र दुःख पाइन्छ भनेर अमेरिका लागेको थिएँ’ विधान भन्छन् ।

नेपालबाट कहिलेदेखी खेलाडी विदेशमा गएर बस्न थाले ? यसको यकिन तथ्यांक कतै छैन, नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग पनि । ओलम्पिकमा पदक जितेसँगै विधान चर्चित बनेका थिए । ओलम्पिकमा पहिलो पटक तेक्वान्दो समावेश भएकाले यो खेल धेरै देशमा नयाँ थियो । नेपालमा केही वर्ष विताएका दक्षिण कोरियाका तेक्वान्दो प्रशिक्षक जे के सिनले अमेरिकामा गएर उतै तेक्वान्दो एकेडेमी खोले । विधान उनकै आडमा अमेरिका पुगे र सुरुआती वर्षमा सिनकै एकेडेमीमा प्रशिक्षण गरे । सिनको यो एकेडेमीले थुप्रै नेपाली तेक्वान्दो खेलाडीलाई अमेरिकाको बाटो खोलिदियो । उनीहरुले त्यहाँ प्रशिक्षण लगायत काम गरे । विस्तारै पछि आफैले एकेडेमी र डोजाङ खोलेर अमेरिका बसाईलाई थप बलियो बनाए । तेक्वान्दोका दिवाकर डान, नारायण गुरुङ, कुमार कार्की, कराँतेका मकेन्द्र बहादुर सिंह, उसुका बिना खड्का, चन्द्र लामा, टेबुलटेनिसका सुसिल पौडेललगायत अमेरिकामै छन् ।

खेलाडीहरु विदेशमा पुगेर एकेडेमी खोल्ने र प्रतियोगिता आयोजना गर्ने चलन बढ्दो छ । क्यानडामा रहेको लालिगुरास क्लबले खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको छ । एसियाडमा पदक जितेका तेक्वान्दो खेलाडी राजकुमार राई क्यानडामा एकेडेमी चलाईरहेका छन् । दिवाकर डानले अमेरिकामा इन्टरनेशनल ओपन फ्रेन्ड्ली तेक्वान्दो च्याम्पियनसिप, विधान लामाले वल्र्ड तेक्वान्दो एन्ड फिटनेशल सेन्टर चलाइरहेका छन् । उनी त्यहाँ इन्टरनेशनल नेप्लिज तेक्वान्दो एसोसिएसनको अध्यक्ष पनि छन् । उनीहरुले प्रतियोगिता आयोजना र त्यसमा नेपाली खेलाडीलाई पनि सहभागी गराउने गर्छन् । अमेरिकामा आयोजित एक ब्याडमिन्टन प्रतियोगितामा नेपालबाट बलराम थापा, पशुपती पनेरु र सुमिना श्रेष्ठ सहभागी हुन गएका थिए । उनीहरु सहभागी भएर त फर्किए तर, त्यसको केही समयमै तीनैजना खेलाडी अमेरिका भासिए । अहिले पनि उनीहरु उतै छन् ।

नेपाल ब्याडमिन्टन संघका तत्कालिन एक पदाधिकारीका अनुसार उनीहरुलाई नेपालमै बस्न निकै अनुरोध गरिएको थियो तर, उनीहरु मानेनन् । खेलाडी पलायनबारे खेलविज्ञ दिवाकरलाल अमात्यको विश्लेषण नेपाली खेलाडीको अवस्था बुझ्न पर्याप्त छ । उनी घरेलु खेलकुद ब्यावशायिक नहुनु र अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलकुदको अवस्था कमजोर हुनुलाई मुख्य कारण मान्छन् । ‘हरेक खेलाडीको उद्देश्य राष्ट्रिय च्याम्पियन हुँदै अन्तर्राष्ट्रिय सफलता हात पार्नु हुन्छ । तर हाम्रोमा संघहरुले ब्यावसायिकता अँगालेकै छैनन् । उनीहरुलाई वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पनि समस्या छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अत्यन्तै न्युन छ । घरेलु खेलकुदको कमजोर अवस्था र अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने कमजोर प्रदर्शनले खेलाडीलाई थप निराश बनाउँछ’, उनी भन्छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छात्रबृतीमा जर्मनी पढ्न गएका एथलेटिक्स खेलाडी निलेन्द्रराज श्रेष्ठ पढाई सकेर उतै बसे । एथलेटिक्सकै निर्मला भारती जर्मनीमै प्रतियोगिता खेल्न जानेक्रममा उतै बसिन् । सोही खेलका अकल बोहोरा फ्रान्समा भएको एक प्रतियोगितामा सहभागी हुन जानेक्रममा उतै लुके । एथलेटिक्सकी कान्छिमाया कोजु र जुडोकी लिला अधिकारी जापानमा एक प्रतियोगितामा सहभागी हुन जानेक्रममा उतै बसेका थिए । उनीहरु केही समय बसेर स्वदेश फर्किए । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराँते महासंघका बर्तमान अध्यक्ष पुरेन्द्रबिक्रम लाखे पनि जापानमा आयोजित एक प्रतियोगितामा सहभागी हुन जानेक्रममा उतै बसेका थिए । उनी पछि स्वदेश फर्किए ।

फुटबलका नरेन्द्र श्रेष्ठ पनि जापानमा भागेर केही वर्षपछि स्वदेश फर्किएका थिए । नेपालमा कराँते भियात्राएका थानेश्वर राई एक सेमिनारमा सहभागी हुन अमेरिका जानेक्रममा पछि उतै गायब भए । उनलाई नेपाली कराँतेको भिष्म पितामहका रुपमा हेरिन्छ । उनको अमेरिका पलायतले नयाँ पुस्ताका खेलाडीलाई समेत हतोत्साही गर्ने कार्य ग¥यो । यसैगरी ज्याभलिन थ्रोका चर्चित खेलाडी खुर्सिद अहमद खाँसमेत आफ्नो खेल जीवनको उत्तरार्धमा आएर अमेरिका भासिए । एसियाडमा जितेका २३ मध्ये १४ पदक तेक्वान्दोबाट भए पनि नेपालको पछिल्लो अन्तर्राष्ट्रिय प्रदर्शन दिनानुदिन खस्कदो छ । यसको मुख्य कारण पनि खेलाडी पलायन नै हो ।

‘भाग्ने वा लुक्नेलाई केही गर्न सकिदैन । उनीहरु जसरी पनि लुक्छन्, भाग्छन्’, एथलेटिक्सका मुख्य प्रशिक्षक सुसिलनरसिंह राणा भन्छन्, ‘भाग्ने खेलाडी भाग्छ भन्ने थाहा पाएर उसलाई कसैले सिफारिस गरेको हुँदैन । कोही भाग्छ भनेर पछाडि लाग्न पनि साध्य छैन । मुख्य कुरा खेलाडीले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन ।’ नेपाली खेलाडी अमेरिका, जापान, दक्षिण कोरियालगायत देशमा धेरै भास्सिएका छन् । वर्षभर आयोजना हुने धेरै प्रतियोगितामा नेपालको सहभागीताबारे राखेपलाई जानकारी समेत हुँदैन । यसले नेपालबाट वर्षभर कुनकुन खेलाडी वा पदाधिकारी विदेशमा सहभागी भए भन्ने तथ्यांक छैन ।

त्यसबारे राखेपलाई न गएको जानकारी हुन्छ न त फर्किएको नै । त्यसमा पनि मार्सल आर्टस गेम्ससँग सम्बन्धित अधिकांश संघसंस्थालाई मेन पावरको काम गरेको आरोप लाग्ने गरेको छ । संघहरु नै खेलाडीलाई विदेश पठाएर उतै छाडेर आउने चर्चा पनि नेपाली खेलकुदमा पटकपटक सुनिने गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) समेत यो आरोपबाट मुक्त छैन । ओलम्पिकजस्ता ठुला खेलकुद प्रतियोगितामा एनओसीले नेपालबाट सहभागी हुने खेलाडी वा पदाधिकारीबारे कहिल्यै विवरण सार्वजनिक गरेको पाइँदैन ।

‘संघले राखेपसँग पैसा माग्नु प¥यो भनेमात्र वैदेशिक सहभागिताबारे हामीलाई जानकारी हुन्छ’, राखेपका एक उच्च कर्मचारी भन्छन् । युवराज लामा राखेपको सदस्यसचिव भएको बेला ‘भिसा डेस्क’ स्थापना भएको थियो । बेसबल तथा सफ्टबल संघका उपाध्यक्ष किर्ते हस्ताक्षर गरि विदेशमा जान लागेको सार्वजनिक भएपछि भिसा डेस्क गठन भएको थियो । यसको औचित्य विदेशमा सहभागी हुने सबै खेलाडीको प्रोसेसिङ यसै डेस्कमार्फत हुने भन्ने थियो । यसबारे नेपालस्थित सम्पुर्ण राजदुतावासलाई जानकारी गराएर राखेपको स्विकृती बेगरका निवेदनलाई अस्विकृत गर्न राखेपले अनुरोध गरेको थियो । तर त्यो डेस्क नामका लागि मात्र गठन गरेजस्तो देखिएको छ । अहिले त्यो डेस्क पनि निस्कृय छ ।

खेलाडी संघका अध्यक्ष विष्ट खेलाडीहरु राम्रा देशमा आफैले खर्च गरेर पनि सहभागी भइरहेको स्विकार गर्छन् । ‘त्यस्ता खेलाडीले पदक जित्नेभन्दा उतै बस्ने लक्ष्य लिएका हुन्छन्’, उनको भनाई छ । खेलाडी विदेश भासिएपछि नेपाल ब्याडमिन्टन संघले लामो समय अमेरिकामा आयोजना हुने ब्याडमिन्टन प्रतियोगितामा नेपाललाई सहभागी गराएन । तर खेलाडीको दबाबपछि यस पटक नेपाली ब्याडमिन्टन खेलाडी अमेरिकामा प्रतियोगिता खेलेर फर्किए ।

‘विगतमा खेलाडी सहभागी हुन गएर पछि उतै बसेकाले खेलाडी उतै बस्छन् भन्ने छाप संघलाई थियो । तर यस पटक खेलाडीले जसरी पनि सहभागी हुनुपर्ने माग राखे । उनीहरुले जसरी पनि नेपाल फर्किने आश्वासन दिएपछि मात्र हामीले खेलाडी पठाएका हौं ’, नेपाल ब्याडमिन्टन संघका एक पदाधिकारी भन्छन् ।

घरेलु फुटबल लिग नियमित हुन नसक्दा र यहाँको ब्यवस्थापनमा समस्या हुँदा धेरै खेलाडी विदेश भासिएका छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका शिव श्रेष्ठ, अमिर श्रेष्ठलगायतका खेलाडी अहिले खाँडी राष्ट्रमा पसिना बगाइरहेका छन् ।

तीन पटक राष्ट्रिय च्याम्पियन बनेका ब्याडमिन्टन खेलाडी विकाश श्रेष्ठ केही साताअघि काम गर्न दुबई पुगेका छन् । उनले त्यहाँ क्लबमा प्रशिक्षण गर्दैछन् । ‘म २०÷२२ वर्षकै उमेरमा राष्ट्रिय च्याम्पियन बनें, नेपाल नम्बर एक भएँ । अब म यहाँभन्दा माथी जाने ठाउँ छैन । न हाम्रो खेलमा ब्यावशायिकता छ न त अन्तर्राष्ट्रिय प्रतियोगितामा दाबेदारी नै छ । अब म कति समय घरेलु खेलकुदमै सिमित भएर बँसु । मैले खेल्न छाडेको भोलिपल्ट मसँग केही हुँदैन’, २८ वर्षीय विकाश भन्छन् ।

players

चार फरक विधामा राष्ट्रिय कीर्तिमान बनाएकी एथलेटिक्स खेलाडी केशरी चौधरीले केही महिनाअघि दुबई सेक्युरिटीमा काम गर्न प्रयास गरेकी थिइन् । उनी विभागिय क्लबमा जागिरे छिन् । निकै प्रतिभावान फुटबलर मानिएका एन्फाका एकेडेमीका उत्पादन सुलभ मास्के, राष्ट्रिय टेबुलटेनिस च्याम्पियन अजय सुवाल पनि अध्ययनका लागि भनेर अस्ट्रेलिया पुगेका छन् । यी दुवै खेलाडी विदेशमा प्रशिक्षण र अध्ययनमा सक्रिय छन् ।

घरेलु भलिबलमा निकै उत्कृष्ट प्रदर्शन गरेकी रमिला तन्डुकार श्रीमानको डिभी परेपछि अमेरिका पुगेकी छिन् । यसैगरी पछिल्लो समय नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय रुपमा गतिलो नतिजा दिँदै आएको खेल क्रिकेटका पूर्वकप्तान कनिष्क चौगाइँ र यशवन्त सुवेदी पनि विदेशमै छन् । फुटबलका दिपक अमात्य, वसन्त गौचन, वसन्त थापा, पवर्त पाण्डेलगायतका आफ्नो समयका प्रभावशाली खेलाडीले पनि अहिले विदेशमै छन् ।

‘खेलाडीको सामाजिक सुरक्षा छैन । खेल्ने उमेरमा राष्ट्रका लागि डटेर खेल्छन् । तर खेलिसकेपछि उनीहरु रित्तो हात हुन्छन् । अहिलेका खेलाडी त शिक्षित छन्, उनीहरुले भविष्यको चिन्ता गर्दै अनेक विकल्प खोजेका हुन्छन्’, बिष्ट आफ्नै उदाहरण दिँदै उनी भन्छन्, ‘नेपाली खेलकुदमा म दुर्लभ खेलाडी हँ जसले नाम र दाम दुवै कमायो । अहिले म खेलकुदबाट पाएको दामलाई लगानी गरेर ब्यापार पनि गरिरहेको छु । यसले मलाई नेपालमै बस्न सजिलो भएको छ ।’ विभागीय क्लबहरुमा आबद्ध भएका खेलाडीको पनि पारि श्रमिक निकै कम (करिब १०÷१२ हजार रुपैयाँ) भएकाले उनीहरु उमेर छँदै आफ्नो भविष्य सपार्ने उद्देश्यसहित विदेशीने गरेको पाइन्छ ।

अमेरिका, क्यानडा, बेलायत, जापान लगातय विश्वका थुप्रै देशमा प्रतियोगितामा सहभागी भएर स्वदेशमै बसिरहेका १० औं सागका स्वर्ण विजेता कराँते खेलाडी कुशल श्रेष्ठ घरेलु खेलकुदको ब्यावशायिकता, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक स्थिती र सामाजिक सुरक्षाले खेलाडीको पलायनलाई राक्न सक्ने बताउँछन् । हाल राखेप प्रशिक्षक रहेका उनी भन्छन्, ‘खेलाडीले राष्ट्रियस्तरमा खेलिरहने स्थिती बन्नुपर्छ । यसका लागि ब्यावशायिकतासहित पर्याप्त प्रतियोगिता आयोजना हुनुपर्छ । यसले खेलाडीको स्तर बढाउँछ । त्यसैगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागी हुँदा खेलाडीको आत्मविश्वास बढ्छ, खेलस्तर बढ्छ । यही आधारमा अन्तर्राष्ट्रिय सफलता हात पार्ने सम्भावना हुन्छ । अर्को कुरा खेलाडीको सामाजिक सुरक्षा हुनुपर्छ । खेलाडीले खेल्न छाडेपछि चिन्ता गर्नुपर्ने अवस्था आउनु हुँदैन ।’

पलायनले के हुन्छ ?
खेलाडीलाई स्थानिय स्तरदेखी जिल्ला, क्षेत्र र राष्ट्रियस्तर हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म सहभागी गराउन राज्यले ठुलो लगानी गरेको हुन्छ । राज्यकै लगानीका भरमा खेलाडीले आफुलाई तयार गरेका हुन्छन् । राष्ट्रिय च्याम्पियन वा माथिल्लोस्तरका खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएकाले यी खेलाडीले करियरको सुरुआतमै वा केही वर्षपछि पलायन हुँदा त्यस्तै खेलाडी उत्पादन गर्न राज्यलाई वर्षौ लाग्छ । खेलाडीबाट राज्यले ठुलो अपेक्षा गर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा खेलकुदको आफ्नो उपस्थिती कमजोर हुन्छ ।

‘धेरै राम्रा राम्रा खेलाडी विदेस भासिएका छन् जसबाट राज्यले अझै केही वर्ष अन्तर्राष्ट्रिय प्रदर्शन र पदकको अपेक्षा गरेको थियो । तर यो कसैको दबाबले रोकिने विषय होइन रहेछ । खेलाडीले स्वदेशमै केही गर्नुपर्छ वा बस्नुपर्छ भन्ने भावनाको विकाश हुनुपर्छ’, एसियाडमा पदक जितेकी तेक्वान्दो खेलाडी संगिना बैद्य भन्छिन् ।

यता राखेप सदस्यसचिव केशवकुमार विष्ट भने यस्तो समस्या हरेक गरिब देशमा हुने गरेको बताउँछन् । ‘हाम्रो देश नै गरिब छ । राज्यले खेलकुदलाई प्राथमिकतामा राख्न सकेको छैन । बजेट नै न्युन आएकाले हामीले चाहेर पनि केही गर्न सक्दैनौं’, खेलाडीमा देशभक्तीको भावना जगाउनेबाहेक हामीसँग अर्को विकल्प छैन’, उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.