पलायनले रोगाएको नेपाली खेलकुद
दक्षिण कोरियाको इन्चोनमा दुई वर्षअघि आयोजित एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने क्रममा नेपालका तीन खेलाडी उत्तै बेपत्ता भए । सेपाकताक्रो, एथलेटिक्स र उसुका एकएक खेलाडी नेपाल फर्किएनन् । तीमध्ये एथलेटिक्सका तिलकराम थारु घरेलु खेलकुदमा निकै चर्चित थिए । स्प्रिन्टतर्फ एक सय र दुई सय मिटरमा राष्ट्रिय च्याम्पियन रहेका उनको नाममा कुनै समयको राष्ट्रिय कीर्तिमान नै थियो । उनी विभागिय क्लबमा जागिरे पनि थिए ।
अन्य दुई खेलाडी भने कम परिचित थिए । यसले विदेशमा नेपाली खेलाडीको पलायनलाई दुई फरक विषयमा बहसमा ल्यायो । एउटा, राम्रा र चर्चित खेलाडीसमेत विदेशमा भाग्नु पर्ने वा पलायन हुनु पर्ने अवस्थाको विषयमा । अर्को भने खेलकुदलाई माध्यम बनाएर विदेशमा भाग्ने प्रबृती । ‘विदेशमा गएर उतै लुक्नु भनेको देशको बेइज्जती हो तर, खेलाडीको वैदेशिक पलायनलाई गहन रुपमा हेरिनुपर्छ । यहाँ राम्रा खेलाडी पनि विदेशमै पलायन हुन थालेका छन् । पलायन भनेको लुक्नुमात्र होइन , दिनदिनै राम्रा खेलाडीहरु देश छाडिरहेको अवस्था पनि हो’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक विजेता दिपक विष्ट भन्छन् ।
सन् १९८८ नेपाली खेलकुदका लागि ऐतिहासिक वर्ष रह्यो । उक्त वर्ष दक्षिण कोरियाको सोलमा आयोजित गृष्मकालिन ओलम्पिक खेलकुदमा नेपालले कास्य पदक जितेको थियो । प्रदर्शनी खेलका रुपमा ओलम्पिकमा पहिलो पटक समावेश भएको तेक्वान्दोमा नेपालका विधान लामाले पदक जितेर नेपाली खेलकुदमा इतिहास रचे । त्यसबाहेक हालसम्म अन्य खेलाडीले ओलम्पिक खेलकुदमा यो सफलता दोहो र्याउन पनि सकेका छैनन् । तर, विधान ओलम्पिक पदक जितेको दुई वर्षपछि नै अमेरिका भास्सिए । ओलम्पिकमा पदक जितेको दुई वर्षअघि सोलमै भएको एसियाली खेलकुद (एसियाड) मा नेपालका आठ खेलाडीले कास्य पदक जितेका थिए । बक्सिङ र तेक्वान्दोमा नेपालले चारचार कांस्य जितेको थियो । त्यसमा विधानको नाम पनि थियो ।
३७ वर्ष लामो आफ्नो एसियाड सहभागितामा नेपालले पहिलो पटक पदक जितेको थियो । एसियाड १७ औं संस्करणसम्म आईपुग्दा प्रतियोगितामा नेपालका २२ खेलाडीले २३ पदक जितेका छन् । दिपक विष्टले दुई पटक कास्य जितेका छन् । यीमध्ये तेक्वान्दोकी सविता राजभन्डारीले सन् १९९८ मा थाइल्यान्डको बैंकमा जितेको रजत पदक हालसम्म एसियाडमा नेपालले प्राप्त गरेको सबैभन्दा ठुलो पदक हो । तर यी २२ खेलाडीमध्ये १६ खेलाडी अहिले विदेशमा छन् । तीमध्ये १२ जना अमेरिका र एकजना क्यानडामा छन् ।
सोल एसियाडमा पदक जितेका बक्सिङ खेलाडी दलबहादुर रानामगरको भने निधन भइसकेको छ । बैंकक एसियाडमा कास्य जितेका अर्का तेक्वान्दो खेलाडी किशोर श्रेष्ठसँग विवाह गरि सविता अमेरिका गएको पनि वर्षौ बितिसकेको छ । विधानले ओलम्पिकमा पदक जित्नुअघि नै उनीसँग सरकारी प्रशिक्षकको जागिर थियो । ‘तर, उमेरमै केही गर्नुपर्छ नत्र दुःख पाइन्छ भनेर अमेरिका लागेको थिएँ’ विधान भन्छन् ।
नेपालबाट कहिलेदेखी खेलाडी विदेशमा गएर बस्न थाले ? यसको यकिन तथ्यांक कतै छैन, नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग पनि । ओलम्पिकमा पदक जितेसँगै विधान चर्चित बनेका थिए । ओलम्पिकमा पहिलो पटक तेक्वान्दो समावेश भएकाले यो खेल धेरै देशमा नयाँ थियो । नेपालमा केही वर्ष विताएका दक्षिण कोरियाका तेक्वान्दो प्रशिक्षक जे के सिनले अमेरिकामा गएर उतै तेक्वान्दो एकेडेमी खोले । विधान उनकै आडमा अमेरिका पुगे र सुरुआती वर्षमा सिनकै एकेडेमीमा प्रशिक्षण गरे । सिनको यो एकेडेमीले थुप्रै नेपाली तेक्वान्दो खेलाडीलाई अमेरिकाको बाटो खोलिदियो । उनीहरुले त्यहाँ प्रशिक्षण लगायत काम गरे । विस्तारै पछि आफैले एकेडेमी र डोजाङ खोलेर अमेरिका बसाईलाई थप बलियो बनाए । तेक्वान्दोका दिवाकर डान, नारायण गुरुङ, कुमार कार्की, कराँतेका मकेन्द्र बहादुर सिंह, उसुका बिना खड्का, चन्द्र लामा, टेबुलटेनिसका सुसिल पौडेललगायत अमेरिकामै छन् ।
खेलाडीहरु विदेशमा पुगेर एकेडेमी खोल्ने र प्रतियोगिता आयोजना गर्ने चलन बढ्दो छ । क्यानडामा रहेको लालिगुरास क्लबले खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको छ । एसियाडमा पदक जितेका तेक्वान्दो खेलाडी राजकुमार राई क्यानडामा एकेडेमी चलाईरहेका छन् । दिवाकर डानले अमेरिकामा इन्टरनेशनल ओपन फ्रेन्ड्ली तेक्वान्दो च्याम्पियनसिप, विधान लामाले वल्र्ड तेक्वान्दो एन्ड फिटनेशल सेन्टर चलाइरहेका छन् । उनी त्यहाँ इन्टरनेशनल नेप्लिज तेक्वान्दो एसोसिएसनको अध्यक्ष पनि छन् । उनीहरुले प्रतियोगिता आयोजना र त्यसमा नेपाली खेलाडीलाई पनि सहभागी गराउने गर्छन् । अमेरिकामा आयोजित एक ब्याडमिन्टन प्रतियोगितामा नेपालबाट बलराम थापा, पशुपती पनेरु र सुमिना श्रेष्ठ सहभागी हुन गएका थिए । उनीहरु सहभागी भएर त फर्किए तर, त्यसको केही समयमै तीनैजना खेलाडी अमेरिका भासिए । अहिले पनि उनीहरु उतै छन् ।
नेपाल ब्याडमिन्टन संघका तत्कालिन एक पदाधिकारीका अनुसार उनीहरुलाई नेपालमै बस्न निकै अनुरोध गरिएको थियो तर, उनीहरु मानेनन् । खेलाडी पलायनबारे खेलविज्ञ दिवाकरलाल अमात्यको विश्लेषण नेपाली खेलाडीको अवस्था बुझ्न पर्याप्त छ । उनी घरेलु खेलकुद ब्यावशायिक नहुनु र अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलकुदको अवस्था कमजोर हुनुलाई मुख्य कारण मान्छन् । ‘हरेक खेलाडीको उद्देश्य राष्ट्रिय च्याम्पियन हुँदै अन्तर्राष्ट्रिय सफलता हात पार्नु हुन्छ । तर हाम्रोमा संघहरुले ब्यावसायिकता अँगालेकै छैनन् । उनीहरुलाई वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पनि समस्या छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अत्यन्तै न्युन छ । घरेलु खेलकुदको कमजोर अवस्था र अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने कमजोर प्रदर्शनले खेलाडीलाई थप निराश बनाउँछ’, उनी भन्छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छात्रबृतीमा जर्मनी पढ्न गएका एथलेटिक्स खेलाडी निलेन्द्रराज श्रेष्ठ पढाई सकेर उतै बसे । एथलेटिक्सकै निर्मला भारती जर्मनीमै प्रतियोगिता खेल्न जानेक्रममा उतै बसिन् । सोही खेलका अकल बोहोरा फ्रान्समा भएको एक प्रतियोगितामा सहभागी हुन जानेक्रममा उतै लुके । एथलेटिक्सकी कान्छिमाया कोजु र जुडोकी लिला अधिकारी जापानमा एक प्रतियोगितामा सहभागी हुन जानेक्रममा उतै बसेका थिए । उनीहरु केही समय बसेर स्वदेश फर्किए । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराँते महासंघका बर्तमान अध्यक्ष पुरेन्द्रबिक्रम लाखे पनि जापानमा आयोजित एक प्रतियोगितामा सहभागी हुन जानेक्रममा उतै बसेका थिए । उनी पछि स्वदेश फर्किए ।
फुटबलका नरेन्द्र श्रेष्ठ पनि जापानमा भागेर केही वर्षपछि स्वदेश फर्किएका थिए । नेपालमा कराँते भियात्राएका थानेश्वर राई एक सेमिनारमा सहभागी हुन अमेरिका जानेक्रममा पछि उतै गायब भए । उनलाई नेपाली कराँतेको भिष्म पितामहका रुपमा हेरिन्छ । उनको अमेरिका पलायतले नयाँ पुस्ताका खेलाडीलाई समेत हतोत्साही गर्ने कार्य ग¥यो । यसैगरी ज्याभलिन थ्रोका चर्चित खेलाडी खुर्सिद अहमद खाँसमेत आफ्नो खेल जीवनको उत्तरार्धमा आएर अमेरिका भासिए । एसियाडमा जितेका २३ मध्ये १४ पदक तेक्वान्दोबाट भए पनि नेपालको पछिल्लो अन्तर्राष्ट्रिय प्रदर्शन दिनानुदिन खस्कदो छ । यसको मुख्य कारण पनि खेलाडी पलायन नै हो ।
‘भाग्ने वा लुक्नेलाई केही गर्न सकिदैन । उनीहरु जसरी पनि लुक्छन्, भाग्छन्’, एथलेटिक्सका मुख्य प्रशिक्षक सुसिलनरसिंह राणा भन्छन्, ‘भाग्ने खेलाडी भाग्छ भन्ने थाहा पाएर उसलाई कसैले सिफारिस गरेको हुँदैन । कोही भाग्छ भनेर पछाडि लाग्न पनि साध्य छैन । मुख्य कुरा खेलाडीले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन ।’ नेपाली खेलाडी अमेरिका, जापान, दक्षिण कोरियालगायत देशमा धेरै भास्सिएका छन् । वर्षभर आयोजना हुने धेरै प्रतियोगितामा नेपालको सहभागीताबारे राखेपलाई जानकारी समेत हुँदैन । यसले नेपालबाट वर्षभर कुनकुन खेलाडी वा पदाधिकारी विदेशमा सहभागी भए भन्ने तथ्यांक छैन ।
त्यसबारे राखेपलाई न गएको जानकारी हुन्छ न त फर्किएको नै । त्यसमा पनि मार्सल आर्टस गेम्ससँग सम्बन्धित अधिकांश संघसंस्थालाई मेन पावरको काम गरेको आरोप लाग्ने गरेको छ । संघहरु नै खेलाडीलाई विदेश पठाएर उतै छाडेर आउने चर्चा पनि नेपाली खेलकुदमा पटकपटक सुनिने गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) समेत यो आरोपबाट मुक्त छैन । ओलम्पिकजस्ता ठुला खेलकुद प्रतियोगितामा एनओसीले नेपालबाट सहभागी हुने खेलाडी वा पदाधिकारीबारे कहिल्यै विवरण सार्वजनिक गरेको पाइँदैन ।
‘संघले राखेपसँग पैसा माग्नु प¥यो भनेमात्र वैदेशिक सहभागिताबारे हामीलाई जानकारी हुन्छ’, राखेपका एक उच्च कर्मचारी भन्छन् । युवराज लामा राखेपको सदस्यसचिव भएको बेला ‘भिसा डेस्क’ स्थापना भएको थियो । बेसबल तथा सफ्टबल संघका उपाध्यक्ष किर्ते हस्ताक्षर गरि विदेशमा जान लागेको सार्वजनिक भएपछि भिसा डेस्क गठन भएको थियो । यसको औचित्य विदेशमा सहभागी हुने सबै खेलाडीको प्रोसेसिङ यसै डेस्कमार्फत हुने भन्ने थियो । यसबारे नेपालस्थित सम्पुर्ण राजदुतावासलाई जानकारी गराएर राखेपको स्विकृती बेगरका निवेदनलाई अस्विकृत गर्न राखेपले अनुरोध गरेको थियो । तर त्यो डेस्क नामका लागि मात्र गठन गरेजस्तो देखिएको छ । अहिले त्यो डेस्क पनि निस्कृय छ ।
खेलाडी संघका अध्यक्ष विष्ट खेलाडीहरु राम्रा देशमा आफैले खर्च गरेर पनि सहभागी भइरहेको स्विकार गर्छन् । ‘त्यस्ता खेलाडीले पदक जित्नेभन्दा उतै बस्ने लक्ष्य लिएका हुन्छन्’, उनको भनाई छ । खेलाडी विदेश भासिएपछि नेपाल ब्याडमिन्टन संघले लामो समय अमेरिकामा आयोजना हुने ब्याडमिन्टन प्रतियोगितामा नेपाललाई सहभागी गराएन । तर खेलाडीको दबाबपछि यस पटक नेपाली ब्याडमिन्टन खेलाडी अमेरिकामा प्रतियोगिता खेलेर फर्किए ।
‘विगतमा खेलाडी सहभागी हुन गएर पछि उतै बसेकाले खेलाडी उतै बस्छन् भन्ने छाप संघलाई थियो । तर यस पटक खेलाडीले जसरी पनि सहभागी हुनुपर्ने माग राखे । उनीहरुले जसरी पनि नेपाल फर्किने आश्वासन दिएपछि मात्र हामीले खेलाडी पठाएका हौं ’, नेपाल ब्याडमिन्टन संघका एक पदाधिकारी भन्छन् ।
घरेलु फुटबल लिग नियमित हुन नसक्दा र यहाँको ब्यवस्थापनमा समस्या हुँदा धेरै खेलाडी विदेश भासिएका छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका शिव श्रेष्ठ, अमिर श्रेष्ठलगायतका खेलाडी अहिले खाँडी राष्ट्रमा पसिना बगाइरहेका छन् ।
तीन पटक राष्ट्रिय च्याम्पियन बनेका ब्याडमिन्टन खेलाडी विकाश श्रेष्ठ केही साताअघि काम गर्न दुबई पुगेका छन् । उनले त्यहाँ क्लबमा प्रशिक्षण गर्दैछन् । ‘म २०÷२२ वर्षकै उमेरमा राष्ट्रिय च्याम्पियन बनें, नेपाल नम्बर एक भएँ । अब म यहाँभन्दा माथी जाने ठाउँ छैन । न हाम्रो खेलमा ब्यावशायिकता छ न त अन्तर्राष्ट्रिय प्रतियोगितामा दाबेदारी नै छ । अब म कति समय घरेलु खेलकुदमै सिमित भएर बँसु । मैले खेल्न छाडेको भोलिपल्ट मसँग केही हुँदैन’, २८ वर्षीय विकाश भन्छन् ।

चार फरक विधामा राष्ट्रिय कीर्तिमान बनाएकी एथलेटिक्स खेलाडी केशरी चौधरीले केही महिनाअघि दुबई सेक्युरिटीमा काम गर्न प्रयास गरेकी थिइन् । उनी विभागिय क्लबमा जागिरे छिन् । निकै प्रतिभावान फुटबलर मानिएका एन्फाका एकेडेमीका उत्पादन सुलभ मास्के, राष्ट्रिय टेबुलटेनिस च्याम्पियन अजय सुवाल पनि अध्ययनका लागि भनेर अस्ट्रेलिया पुगेका छन् । यी दुवै खेलाडी विदेशमा प्रशिक्षण र अध्ययनमा सक्रिय छन् ।
घरेलु भलिबलमा निकै उत्कृष्ट प्रदर्शन गरेकी रमिला तन्डुकार श्रीमानको डिभी परेपछि अमेरिका पुगेकी छिन् । यसैगरी पछिल्लो समय नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय रुपमा गतिलो नतिजा दिँदै आएको खेल क्रिकेटका पूर्वकप्तान कनिष्क चौगाइँ र यशवन्त सुवेदी पनि विदेशमै छन् । फुटबलका दिपक अमात्य, वसन्त गौचन, वसन्त थापा, पवर्त पाण्डेलगायतका आफ्नो समयका प्रभावशाली खेलाडीले पनि अहिले विदेशमै छन् ।
‘खेलाडीको सामाजिक सुरक्षा छैन । खेल्ने उमेरमा राष्ट्रका लागि डटेर खेल्छन् । तर खेलिसकेपछि उनीहरु रित्तो हात हुन्छन् । अहिलेका खेलाडी त शिक्षित छन्, उनीहरुले भविष्यको चिन्ता गर्दै अनेक विकल्प खोजेका हुन्छन्’, बिष्ट आफ्नै उदाहरण दिँदै उनी भन्छन्, ‘नेपाली खेलकुदमा म दुर्लभ खेलाडी हँ जसले नाम र दाम दुवै कमायो । अहिले म खेलकुदबाट पाएको दामलाई लगानी गरेर ब्यापार पनि गरिरहेको छु । यसले मलाई नेपालमै बस्न सजिलो भएको छ ।’ विभागीय क्लबहरुमा आबद्ध भएका खेलाडीको पनि पारि श्रमिक निकै कम (करिब १०÷१२ हजार रुपैयाँ) भएकाले उनीहरु उमेर छँदै आफ्नो भविष्य सपार्ने उद्देश्यसहित विदेशीने गरेको पाइन्छ ।
अमेरिका, क्यानडा, बेलायत, जापान लगातय विश्वका थुप्रै देशमा प्रतियोगितामा सहभागी भएर स्वदेशमै बसिरहेका १० औं सागका स्वर्ण विजेता कराँते खेलाडी कुशल श्रेष्ठ घरेलु खेलकुदको ब्यावशायिकता, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक स्थिती र सामाजिक सुरक्षाले खेलाडीको पलायनलाई राक्न सक्ने बताउँछन् । हाल राखेप प्रशिक्षक रहेका उनी भन्छन्, ‘खेलाडीले राष्ट्रियस्तरमा खेलिरहने स्थिती बन्नुपर्छ । यसका लागि ब्यावशायिकतासहित पर्याप्त प्रतियोगिता आयोजना हुनुपर्छ । यसले खेलाडीको स्तर बढाउँछ । त्यसैगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागी हुँदा खेलाडीको आत्मविश्वास बढ्छ, खेलस्तर बढ्छ । यही आधारमा अन्तर्राष्ट्रिय सफलता हात पार्ने सम्भावना हुन्छ । अर्को कुरा खेलाडीको सामाजिक सुरक्षा हुनुपर्छ । खेलाडीले खेल्न छाडेपछि चिन्ता गर्नुपर्ने अवस्था आउनु हुँदैन ।’
पलायनले के हुन्छ ?
खेलाडीलाई स्थानिय स्तरदेखी जिल्ला, क्षेत्र र राष्ट्रियस्तर हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म सहभागी गराउन राज्यले ठुलो लगानी गरेको हुन्छ । राज्यकै लगानीका भरमा खेलाडीले आफुलाई तयार गरेका हुन्छन् । राष्ट्रिय च्याम्पियन वा माथिल्लोस्तरका खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएकाले यी खेलाडीले करियरको सुरुआतमै वा केही वर्षपछि पलायन हुँदा त्यस्तै खेलाडी उत्पादन गर्न राज्यलाई वर्षौ लाग्छ । खेलाडीबाट राज्यले ठुलो अपेक्षा गर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा खेलकुदको आफ्नो उपस्थिती कमजोर हुन्छ ।
‘धेरै राम्रा राम्रा खेलाडी विदेस भासिएका छन् जसबाट राज्यले अझै केही वर्ष अन्तर्राष्ट्रिय प्रदर्शन र पदकको अपेक्षा गरेको थियो । तर यो कसैको दबाबले रोकिने विषय होइन रहेछ । खेलाडीले स्वदेशमै केही गर्नुपर्छ वा बस्नुपर्छ भन्ने भावनाको विकाश हुनुपर्छ’, एसियाडमा पदक जितेकी तेक्वान्दो खेलाडी संगिना बैद्य भन्छिन् ।
यता राखेप सदस्यसचिव केशवकुमार विष्ट भने यस्तो समस्या हरेक गरिब देशमा हुने गरेको बताउँछन् । ‘हाम्रो देश नै गरिब छ । राज्यले खेलकुदलाई प्राथमिकतामा राख्न सकेको छैन । बजेट नै न्युन आएकाले हामीले चाहेर पनि केही गर्न सक्दैनौं’, खेलाडीमा देशभक्तीको भावना जगाउनेबाहेक हामीसँग अर्को विकल्प छैन’, उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !