विद्यालय सफलताको पक्षमा

विद्यालय सफलताको पक्षमा

नेपालको शिक्षामा अनेक विभेदहरू कायमै छन् । भौगोलिक, सांस्कृतिक, आर्थिक, लैंगिक, भाषिक रूपमा रहेका यस्ता विभेदका अनेक आयाम छन् । हामी एकातिर स्कुल जाने उमेरका सबै बालबालिकालाई स्कुलको पहुँचमा पुर्‌याउन र निरक्षरता उन्मूलन गर्न लागिरहेका छौं । स्कुलको भौतिक स्तरोन्नति गरिरहेका छौं । स्कुल शिक्षा उत्तीर्ण दर बढाउन शिक्षा प्रणालीमै परिवर्तन ल्याइरहेका छौं । शिक्षकलाई तालिम दिइरहेका छौं ।

पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन गरिरहेका छौं । एकातिर सबै साना नानीलाई स्कुल जाने अवसर दिलाउनु राज्यका लागि ठूलो कुरा भएको छ । अर्कातिर महँगो स्कुलमा राख्ने होड र जति महँगा स्कुलमा नानी राख्न सक्यो त्यति नै मान, प्रतिष्ठा बढ्ने अभिभावकीय सोच जब्बर बन्दो छ । तर, हाम्रो ध्यानै नपुगेको, हामीले सोच्नै नसकेको खाँटी कुरा त अर्कै रहेछ शिक्षा प्रणालीमा ।

वास्तवमा हामी चार भित्ता र भौतिक संरचनाको घेराबन्दीमा हाम्रा नानीहरूलाई जेल पो हालिरहेका हुँदा रहेछौं । अनि स्वतःस्फुर्त जीवन र जगत् बुझिरहेको तिनको स्कुलिङ्लाई हामी हाम्रो जबर्जस्तीको साँचोमा ढालेर तिनको जीवनै बर्बाद पार्दा रहेछौं । हामीजस्तो विकासोन्मुख देशको के कुरा संसारका सम्पन्न देशहरूमा पनि हामी बालबालिकालाई यसरी नै दमन गरिरहेछौं ।

तिनको क्षमतालाई पलाउनै नदिई निमोठिरहेका छौं । उनीहरूको प्रतिभालाई निमोठिरहेछौं । अनि आफू अनुकूलका मेसिनमा तिनलाई रूपान्तरण गरिरहेका छौं । जसले गर्दा असली प्रतिभाको निरन्तर पलायन, क्षयीकरण र विनाश भइरहेछ । अनि यो सबैको दोषी छन् हाम्रा स्कुल ।

बालबालिका र स्कुलका विषयमा यस्तै गम्भीर विषयलाई केस्राकेस्रा केलाइएको पुस्तक नेपालीमा हालै प्रकाशित भएको छ । अमेरिकी शिक्षाशास्त्री जोन हल्ट लिखित 'अन्डरएचिभिङ स्कुल' को नेपाली अनुवाद 'असफल स्कुल' को निष्कर्ष हो यो । अमेरिकामा 'होम स्कुलिङ मुभमेन्ट' का अभियन्ता हल्टले आजभन्दा पाँच दशकअघि नै लेखेको यो पुस्तकमा स्कुले शिक्षामाथि उनले उठाएका जीवन्त प्रश्न आजको विश्वमा पनि उत्तिकै सान्दर्भिक छन् । उत्तिकै विचारणीय र मगज हल्लाउने खालका छन् ।

साँच्चै नै राम्रो भवन, भव्य कक्षाकोठा, अत्याधुनिक शिक्षण प्रविधि, स्तरीय शिक्षण सामग्री, प्रशस्त कम्प्युटर, खेलकुद सामग्री र मोटो बजेट नै सफल स्कुलको विशेषता जस्तो लाग्छ हामीलाई । हाम्रा निजी स्कुल अभिभावकबाट अनुचित असुली गर्दै यसरी नै स्कुल हाँकिरहेछन् । अनि स्कुल व्यवसायका मालिकहरू अकुत सम्पत्तिमा रजाइँ गरिरहेछन् ।

दिनदहाडै भइरहेको सरकारी मान्यताप्राप्त यस ठगीविरुद्ध सरल नेपाली अभिभावक कसैले पनि आवाज उठाउन सकेका छैनन् । विदेशी अनुदान डकारिरहेका हाम्रा शिक्षाशास्त्री र आफैं स्कुल व्यापारमा संलग्न राजनीतिकर्मीलाई त शिक्षाको यो बेथिति र ब्रम्हलुट चलिरहेकै राम्रो । स्कुल उद्योगका धेरैजना उद्योगपति त अहिले पार्टीलाई मोटामोटा चन्दाका थैली थमाउँदै सांसद पनि बनिसके ।

अनि हाम्रा सामुदायिक स्कुल पनि निजीलाई पछ्याउँदै छन् । अंग्रेजी माध्यममा चलेको भए हामीलाई पुगिहाल्यो । तर हल्टको यो पुस्तकले चित्तबुझ्दा र घतलाग्दा तथ्यसहित भौतिक पूर्वाधार र सुविधा शतप्रतिशत भएका स्कुल पनि कसरी बालबालिकाको भविष्य निर्माणमा पूर्ण असफल छन् भन्ने पुष्टि गरेको छ । शिक्षा क्षेत्रमा संलग्न शिक्षक, अभिभावक, नीति निर्माता सबैलाई यसले बेस्सरी रन्थन्याउँछ । एकपल्ट सोच्न बाध्य बनाउँछ ।

हरेक वर्ष मोटो बजेट लगानी हुने र आम जनताको सरोकारको विषयका रूपमा रहेको शिक्षालाई हेर्ने दृष्टिकोण नै यस पुस्तकले बदलिदिन्छ । छोराछोरी स्कुल पढाइरहेका अभिभावकलाई यसले स्कुल किन पठाउने भनेर पुनर्विचार गर्न लगाउँछ । अनि अनि शिक्षकहरूलाई बालबालिकाको भविष्यमाथि खेलबाड गरिरहेको अपराधबोध गराउँछ 'असफल स्कुल'ले ।
पुस्तकको विषय स्वभावैले गम्भीर र खँदिलो छ । यस्ता पुस्तक पढ्न पाठकमा एउटा उत्सुकता र धैर्य चाहिन्छ ।

शिक्षासम्बद्ध पाठक नै यसका लक्ष्य हुन् । त्यसमा पनि मूलतः यो शिक्षक लक्षित छ । तर, सामान्य शिक्षकका लागि यसको भाषा उति सुबोध नहुन सक्छ । सरल नहुन सक्छ । यद्यपि अमेरिकी परिवेशमा लेखिएको किताबलाई अनुवादकले यहाँको परिवेशमैत्री बनाउन निकै मेहनत गरेको देखिन्छ । यसमा प्रयुक्त कतिपय उदाहरण र घटनालाई नेपालीपन दिइएको छ । जस्तो कि एउटा अध्यायको नाम नै 'लिगलिगे दौड' रहेको छ ।

पुस्तकका कुल सोह्र अध्याय सबै नै बालशिक्षाको सेरोफेरोमा केन्द्रित छन् । जोन हल्टका शिक्षासम्बन्धी प्रवचनका अंश र प्रश्नोत्तरलाई पनि यहाँ समेटिएको छ । केही वर्ष यता 'दिवास्वप्न', 'तोत्तोचान', 'हामी आमाबाबु'जस्ता शिक्षा साहित्यका राम्रा पुस्तकमा नेपालीमा आएका छन् । यी अनुवाद पुस्तकको लहरमा थपिएको 'असफल स्कुल' पनि एक अब्बल पुस्तकका रूपमा रहेको छ ।

बालबालिका, बालमनोविज्ञान, बालबालिकाको आत्मसम्मान र तिनको सिकाइ प्रक्रियाबारे पुस्तकमा अति महत्त्वपूर्ण तथ्य र विचारहरू यसमा छन् । सबैभन्दा ठूलो कुरा त हाम्रा स्कुलहरूका कमीकमजोरीलाई यसमा केस्राकेस्रा केलाइएको छ । अधिकांश शिक्षकमा हुने दम्भ र कमजोरीको यसले उछितो काढ्छ । यसले विद्यमान् शिक्षा प्रणाली र स्कुलका आडम्बरको धज्जी उडाएको छ ।

बालबालिकामा अन्तरनिहित प्रतिभाको हत्या गर्दै कसरी एक से एक अमूल्य रत्नहरूलाई हामी एउटा जागिरे र यान्त्रिक मानवमा बदलिरहेका छौं भन्ने वास्तविकतालाई पुस्तकले खुलासा गरिदिएको छ । पुस्तक पढेपछि यसले हरेक पाठकलाई झल्याँस्स ब्युँझाउनेछ । शिक्षक र अभिभावकलाई आफ्ना निर्दोष नानीहरूमाथि जबर्जस्ती लादिएको अन्यायको आत्मबोध हुन्छ । जोन हल्टले स्कुललाई जेल र विद्यार्थीलाई साना कैदी भनेका छन् । जबर्जस्ती स्कुलरूपी जेलमा कोचिएका साना कैदी बदलाको भावनाले अभिभुत भएको र तिनले बर्सेनि करोडौंको तोडफोड र नोक्सानी गर्दै आएको तथ्यांक पनि देखाइएको छ ।

पुस्तकमा शिक्षकको दयनीय अवस्था देखाइएको छ । शिक्षक आफ्नो प्रेरणा, कल्पनाशीलता र बुद्धिलाई खोपामा थन्क्याएर पाठ्यक्रम र पाठ्यपुस्तकमा काम गराउने म्यानेजर या प्रहरीको भूमिकामा छन् । कागज, कापी, फाइल, रेकर्ड र रिपोर्टको पट्यारलाग्दो कामले उनीहरू दिक्क छन् । अभिभावक छोराछोरी आफूले चाहेजस्तो नबनिदिएकोमा असन्तुष्ट छन् ।

 

बालबालिका त जेलमै परिहाले । यसरी बालबालिका, शिक्षक, अभिभावक सबै आक्रोशित हुँदाहुँदै यही स्कुल प्रणाली जारी छ । यसले निरन्तर मानव क्षमताको हत्या गरिरहेको छ । पुस्तकले असफलता उन्मुख शिक्षा प्रणालीबारे सचेत गराएको छ । तथ्य, तर्क, अनुसन्धान र अनुभवका साथ प्रस्तुत गरिएका यी विचारलाई हामी हाम्रै परिवेशमा हेर्न सक्यौं भने त्यो निकै उपलब्धिमूलक हुनेछ ।

यस अनुसार हेर्दा हाम्रा संस्थागत (निजी) स्कुलले एसएलसीमा शतप्रतिशत डिस्टिङ्सन ल्याए पनि ती पूरै असफल देखिन्छन् । ती नितान्त कारखाना या व्यापार कम्पनी हुन् । हल्टले परीक्षा प्रणाली नै निकम्मा रहेकाले यसलाई खारेज गर्न सिफारिस गरेका छन् ।

हल्टले बालबालिकालाई स्कुलमा दैनिक अनिवार्य उपस्थिति र हाजिरको बाध्यतामा पनि पार्न नहुने तर्क दिएका छन् । उनले स्कुल नजाँदा पनि बालबालिकाले बाह्य संसारबाट अझ धेरै सिकिरहेको हुने उदाहरण दिएका छन् । उनले भाषा र हिज्जेको रटान बिना नै बालबालिकाले सजिलै आफैं भाषा सिक्ने दाबी गरेका छन् । नबुझेका शब्द र तोकिएका किताबको दबाबले बालबालिका किताबबाट टाढिने बरु उसलाई मन लागेका किताब आफैं छानेर पढ्न दिएका चाँडै सिक्नुका साथै पठन संस्कार बसाउन सहज हुने पनि उनले अनेक दृष्टान्त पेसेका छन् ।

हल्टको यो पुस्तकले चित्तबुझ्दा र घतलाग्दा तथ्यसहित भौतिक पूर्वाधार र सुविधा शतप्रतिशत भएका स्कुल पनि कसरी बालबालिकाको भविष्य निर्माणमा पूर्ण असफल छन् भन्ने पुष्टि गरेको छ । शिक्षा क्षेत्रमा संलग्न शिक्षक, अभिभावक, नीति निर्माता सबैलाई यसले बेस्सरी रन्थन्याउँछ ।

एउटा व्यस्त व्यापारी वा मेहनती मजदुरले दिनभर काम गरेपछि साँझ घरमा आरामले बस्न पाउँछ । तर विचरा हाम्रा लालाबाला घरमा पनि होमवर्कको बोझमा सधैं थिचिनु पर्छ । गृहकार्य बालबालिकामाथिको अन्याय हो भन्ने यसमा औंल्याइएको छ । शिक्षकहरू दिनहुँ विद्यार्थीलाई व्याख्यान् र भाषण दिन्छन् । उनीहरूले भने, नभनेको सुझावको सार एउटै हुन्छ: 'मेहनत गरेर पढ्यौ भने एक दिन तिमी पनि म जस्तै हुनेछौ ।' तर विद्यार्थी शिक्षकको यो दम्भप्रति हरदिन मुर्मुरिइरहेका हुन्छन्: 'कुन बेकुफलाई तिमी जस्तो बन्नु छ र ? '

पुस्तकमा विद्यमान स्कुल प्रणालीको असफलताबारे मात्र विश्लेषण गरिएको छैन, नमुना सकुलको राम्रो उदाहरण पनि प्रस्तुत गरिएको छ । डेनमार्कको 'नाइ लिलस्कोल' को ६ जना वयस्कका साथमा समय बिताउने ६ देखि १४ वर्षका ८५ विद्यार्थीबारे यहाँ वर्णन गरिएको छ । यहाँ वयस्क भनेका शिक्षक हुन् जो बालबालिकासँग जीवन्त, रोचक, रमाइलो, सुरक्षित, सहयोगी एवम् मानवीय समुदायको निर्माणका निम्ति काम गर्छन् ।

अनिवार्य हाजिर नहुने यो स्कुल कसरी चल्छ, कस्तो छ जस्ता सबै कुरा पुस्तकको अन्त्यमा 'एउटा राम्रो स्कुल' खण्डमा बयान गरिएको छ । पुस्तकमा कतिपय प्रसंग दोहोरिएका छन् । ठाउँठाउँमा भेटिने 'फजिती', 'मानदण्ड', 'पत्तोफाँट', 'अबोला' जस्ता दुरुह शब्दका कारण सामान्य पाठक अलमलमा पर्न सक्छन् ।

अध्ययन अनुसन्धानका कतिपय फेहरिस्त पट्यारलाग्दा पनि छन् । यद्यपि सबैभन्दा बढी बेथिति र विकृतिले गाँजिएको नेपालको विद्यालय शिक्षा प्रणालीमा केही परिवर्तनका लागि यो पुस्तक पक्कै कामयावी हुनेछ । शिक्षक, अभिभावक, नीतिनिर्माता, राजनीतिकर्मी तथा बालबालिका र शिक्षा क्षेत्रमा संलग्न हरेकले यो पुस्तक नपढेसम्म तिनको बुझाइ एकतर्फी र रुढीवादी रहीरहनेछ । 'असफल स्कुल' पढेपछि यतिचाहिँ निष्फिक्रीसँग भन्न सकिन्छ ।
...
लेखक: जोन हल्ट
अनुवादक: शरच्चन्द्र वस्ती
प्रकाशक: सिकाइ समूह
पृष्ठ: २५०
मूल्य: ४००


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.